काठमाण्डौ । सेयर धितो कर्जाको सीमाविरुद्ध आन्दोलनरत लगानीकर्ताले आज बिहीबार दोस्रो दिन पनि माइतीघर मण्डलामा रिले अनसन जारी राखेका छन्। 

रामकृष्ण ढकालको संयोजकत्वमा गठित पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले हिजो बुधबारबाट दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म रिले अनसन सुरु गरेका थिए। सोही रिले अनसनलाई आज पनि निरन्तरता दिइएको हो। माग सम्बोधन नभए यो रिले अनसन भदौ २९ गतेसम्म जारी राख्ने लगानीकर्ताहरुको भनाइ छ। 

आफूहरुले नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाएपछि पनि माग सम्बोधन नभएको रिले अनसन जारी राख्न बाध्य भएको संयोजक ढकालले बताए। ‘हाम्रा माग पूरा नभए भदौ ३० गतेबाट आमरण अनसनसहित कडा आन्दोलन सुरु गर्न बाध्य हुने छौँ’, उनले भने। 

गत सोमबार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले राष्ट्र बैंक घेराउ गर्दै प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै प्रवक्ता ढकालले गभर्नर बजारप्रति सकारात्मक भएकाले बजार सुधारका लागि उचित कदम चलाइने आश्वासनसमेत दिएका थिए।