– अर्जुन तिमिल्सिना

काठमाण्डौ । निरन्तर बढेको सेयर बजारमा हिजो बुधबार दोहोरो अंकको गिरावट आएको छ। बजारको सूचक घटे पनि हिजो इतिहासमै सबैभन्दा बढी कारोबार भएको छ। 

निषेधाज्ञाका कारण अन्य क्षेत्र ठप्प रहेको अवस्थामा सेयर बजारमात्रै लगानीको एउटा विकल्प बनेको छ। अहिले जग्गा र सुनको कारोबार बन्द छ। विदेशमा पढ्न जाने विद्यार्थी तथा भ्रमणमा जानेले लैजाने डलरको सञ्चित पनि बढेको छ। विदेशबाट आउने रेमिट्यान्स भने झनै बढेको छ। 

यिनै कारण बैंकहरुमा तरलता बढ्न थालेको छ। बैंकहरुले मुद्दति र बचत निक्षेप दुवैमा ब्याज दर घटाएका छन्। आधार दर पनि घटेकै कारण अधिकांश बैंकको कर्जाको ब्याजदर पनि एकल विन्दुमै रहेको छ। यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ। जसका कारण सेयर बजारमा दैनिक बढोत्तरी भइरहेको छ। 

यसैबीच नेपाल राष्ट्र बैंकले भर्खरै मौद्रिक नीतिको समीक्षा गर्दै सेयर धितो कर्जामा १२० दिनको औसत मूल्यलाई बढाएर १८० दिन बनाएको छ। यसले फेरि सेयर बजार वृत्तमा तरंग ल्याइदिएको छ। यो प्रावधानले सेयर बजारमा के–कस्तो प्रभाव पर्ला भन्ने विषयमा हामीले बजारका केही विज्ञ र जानकारका विचार समेटेका छौँ। उनीहरुको विचार यस्तो छ–

हेमन्त बस्याल– सीएफए एवं बजार जानकार

सेयर धितो कर्जामा यदि माघ मसान्तताकाको १२० दिनको औसत मूल्य र हालको १८० दिनको औसत मूल्य तुलना गर्ने हो भने धेरै कम्पनीको १८० दिनको औसत मूल्य बढी देखिन्छ। यदि अब थप लोन लिएर सेयर कारोबार गर्ने भए सोचमा तुलनात्मक रुपमा भ्यालुमा खासै फरक पर्दैन।

पुरानो लोनका हकमा ऋण लिँदाको बखतको भ्यालु र हालको भ्यालु (मूल्यांकन) बढी रहेको अवस्थामा यसले कुनै तात्विक असर गर्दछ भन्ने कुरामा विश्वास गर्न सकिँदैन। बुल रनको १० महिना तय भएको अवस्थामा १८० दिनको औसतले सेयरमूल्यमा अब आउने उतारचढावले भ्यालुमा खासै असर नगरी (औसत मूल्यमा) मार्जिन कल नआउने अवस्थालाई यसले थप सहयोग पुग्नेछ। यसका साथै हकप्रद र बोनसका कारण अल्पकालमा कम देखिएको भ्यालुमा बुक क्लोज पहिलेका मूल्यसमेत औसत गणनामा लामो समयसम्म क्यारी हुने हुँदा भ्यालुएसन घट्ने नभई उल्टै बढ्ने अवस्थासमेत रहने हुन सक्छ।

तसर्थ, हल्लाको भरमा लगानी व्यवहारलाई प्रभावित नगरौँ। यदि यो बियरिस बजारमा हुन्थ्यो भने कम मार्जिन आउँथ्यो तर अहिले बुलिस बजारमा भएकोले खासै प्रभाव पर्दैन। 

केपी पाण्डेय– एमबीएम निर्देशक, सरस्वती क्याम्पस

औसत मूल्यलाई बढाउँदैमा तात्विक भिन्नता नआउने तर बैंकहरुलाई राष्ट्र बैंकले सुरक्षित गर्न खोजेजस्तो देखिन्छ। बजार सधैँ एकै हिसाबले चल्दैन।

भोलि बजार तलमाथि हुँदा पनि ऋण प्रवाह गर्ने बैकहरुलाई बढी जोखिम नहोस् भनेर राष्ट्र बैंक सजग भएको जस्तो देखिन्छ। यसले बजारमा सकारात्मक नै असर गर्नेछ। यसले बजारमा तत्काल थोरै ऋण घटे पनि पछि बजार यदि तल आइहालेमा लगानीकर्तालाई मर्जिन कलबाट जोगाउँछ र बजारमा दिगोपन र स्थायित्व आउनेछ।

राष्ट्र बैंकले सेयर बजारमा स्थायित्व खोजेको पनि हुन सक्छ। यसले सेयर बजारमा ठूलो डिजास्टर आउँदैन।

गोविन्दप्रसाद घिमिरे– बजार जानकार

अहिले सबै सकरात्मक छ। सेयर बजारमा लगानीकर्ता बढेका छन्। बजार बढ्ने बलिया आधार धेरै छन्। राष्ट्र बैंकले सेयर धितोमा औसत मूल्यलाई ४ महिनाबाट ६ महिना पुर्याउँदैमा ठूलो भिन्नता हुँदैन। १ करोडमा १–२ लाख भिन्नता आउला। बैंकहरुले ऋण प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाका सेयर धितो राखेर नै दिने र तिनीहरुको मूल्य पनि त्यत्ति नबढेकोले तात्विक फरक पर्दैन। अब विस्तारै अगाडि जाँदा १–२ महिनापछि यही मूल्यमा ऋण पाइने भएकोले खासै फरक पर्दैन। 

सेयर लोनले भन्दा बैंक तथा वित्तीय संस्थाले गर्ने सीधा लगानीले बजारलाई प्रभाव पार्ने हुँदा खासै असर पार्दैन। ६ महिनायता नेप्से सूचक २२०० भन्दा बढी छ।

बजारमा बढेको भनेका बीबीसी, एसटीसी, एचडीएलजस्ता कम्पनी हुन्। यी कम्पनी सेयर धितोत्र राखेर ऋण कमै पाइने हुँदा बजारमा भिन्नता आउँदैन। बजार बढेको भने १०–१५ वटा कम्पनी नै हुन। धेरैजसो वाणिज्य बैंकका सेयर राखेर दिने भएकोले केही फरक पर्दैन।