source : Kantipur
काठमाण्डौ । ६ महिनायता सेयर बजारको आकार (बजार पुँजीकरण) ४ खर्ब १० अर्ब रुपैयाँले घटेको छ । गत साउन १२ गते २० खर्ब ७० अर्ब ९९ करोड पुगेको पुँजीकरण पुस २८ मा १६ खर्ब ६० अर्बमा झरेको छ । यसले सेयर बजारका लगानीकर्ताको सम्पत्ति २० प्रतिशतले घटेको देखाउँछ । यससँगै बजारको कारोबार देखाउने नेप्से परिसूचक पनि ४ सय २ अंकले घटेको छ ।
बजारमा सूचीकृत कम्पनीको सेयर मूल्य घटदै गएकाले परिसूचक र बजार पुँजीकरण घटेको हो । घरजग्गा कारोबारमा भइरहेको उच्च नाफा, बैंक वित्तीय संस्थाले सेयर किन्न दिने ऋणमा गरेको कडाइ, भारतीय नोटबन्दीका कारण छदम लगानीकर्ता बाहिरिँदै गएपछि बजार ओरालो लाग्न थालेको हो । केही भारतीयले पनि भित्रभित्रै सेयरमा लगानी गरिरहेको विश्लेषकहरू बताउँछन् ।
पाँच सय र हजार दरका भारु नोट एकाएक काम नलाग्ने भएपछि यसको असर पनि बजारमा पर्यो । विशेषगरी जग्गा कारोबारमा बढी नाफा हुने भएपछि लगानीकर्ता त्यतातिर लागेका छन् । बैंक वित्तीय संस्था रकम अभाव भएपछि १० प्रतिशत बढी ब्याज दिएर निक्षेप तान्न बाध्य छन् । त्यसैले उनीहरू भएको रकम पनि बढी नाफा हुने जग्गातिर लगाएर सेयरमा कम ध्यान दिइरहेको विश्लेषकहरू बताउँछन् ।
यससँगै लघुवित्त विकास बैंकको ब्याजदरमा सीमा तोकिएसँगै बिमा कम्पनीले गत वर्षजति नै आम्दानी कमाउन कठिन हुने देखिएपछि पुराना र जानकार लगानीकर्ताहरू धमाधम सेयर बेच्न थाले । ‘बजार घटदो प्रवृत्तिमा रहेपछि केही ठूला लगानीकर्ताले सेयर बिक्री गरी मुनाफा सुरक्षित गरिरहेका छन्,’ सेयर ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अन्जन पौड्यालले भने ।
घट्दै गएको सन्देश गएपछि बजारमा बिक्री गर्नेको चाप बढेकाले पनि सेयर बजार ओरालो लागेको हो । अधिकांश बैंक तथा वित्तीय संस्थाले अब हकप्रद वा बोनस सेयर दिएर पुँजी बढाउन सम्भावना कम भएको पनि लगानीकर्ताहरूले बुझेका छन् । यसैगरी बिमा कम्पनीको पुँजी बढाउने योजना सार्वजनिक नभएको र बैंकिङ प्रणालीमा तरलता अभाव भएको लगायत कारण हाल सेयर बजार ओरालो लागेको पौड्यालले बताए । ‘विगतमा बैंकिङ क्षेत्रमा पुँजी वृद्धि, बिमा र लघुवित्तीय संस्थाको पुँजी बढाउने तयारी भएको, बैंकिङ प्रणालीमा पर्याप्त तरलतालगायत कारण बजार बढेको थियो,’ उनले भने, ‘अहिले बिमा र लघुवित्त कम्पनीको सेयर मूल्य धेरैले घटेपछि नेप्से ओरालो लागेको हो ।’
बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावले ब्याजदर बढेपछि सेयर कारोबार प्रभावित भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बताए । ‘पुँजी वृद्धिका लागि एकै पटक बैंक तथा वित्तीय संस्थाबाट ठूलो मात्रामा हकप्रद र बोनस सेयर आएकाले बजारमा आपूर्ति बढी भएको छ,’ उनले भने । यद्यपि बजार सुधारका लागि धेरै काम भएकाले अहिले बजार घट्नुको कुनै कारण नभएको उनले बताए । ‘बजार सुधारका लागि थुप्रै काम सुरु भएका छन् । आउँदा दिनमा पुँजी बजारको विकास र विस्तार झनै बढ्छ,’ उनले भने ।
साउन १२ मा हालसम्मकै उच्च १८ सय ८१ अंकमा पुगेको परिसूचक पुस २८ मा १४ सय ७९ अंकमा ओर्लेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ९२ प्रतिशतसम्म पुगेको बजार घटिरहँदा राजस्वदेखि साना–साना लगानीकर्तासमेत प्रभावित भएका छन् । बजार पुँजीकरणसँगै लगानीकर्ताको सम्पत्ति पनि घटदै जाने हुँदा साना र नयाँ लगानीकर्ता बढी गुमाउनेमा परेका छन् ।
हाल नेप्सेमा विभिन्न क्षेत्रका गरी २ सय २० कम्पनी सूचीकृत छन् । यो अवधिमा १२ वटा बैंक तथा वित्तीय संस्था गाभिएका छन् भने ३ वटा कम्पनी मर्जर एक्विजिसनमा गएका छन् । चालु आर्थिक वर्षमा ६ वटा नयाँ कम्पनी थपिएको नेप्सेले जनाएको छ । यो खबर कान्तिपुरमा छापिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19