काठमाण्डौ । ऋण असुली न्यायाधिकरणले एक व्यक्तिको सेयर बेचेर ऋण असुलीको प्रक्रिया अगाडि बढाएको छ।

न्यायाधिकरणले आज एक सूचना प्रकाशित गरी प्रतिवादी एभरेष्ट निर्माण सेवाका सञ्चालक तुफैल अहमद खाँको ऋण असुली मुद्दामा प्रतिवादी जमानतकर्ता रामहरि थापाको नाममा रहेको ग्लोबल आइएमई बैंक (साविक जनता बैंक नेपाल) को ८७ हजार ९९५ कित्ता संस्थापक सेयर (बोनस सेयरसमेत) लिलामीमार्फत बिक्री गरी ऋण असुलीको प्रक्रिया अगाडि बढाएको हो। यो मुद्दामा वादीका रुपमा युनियन फाइनान्स लिमिटेड (हाल कुमारी बैंक) रहेको छ। 

यो मुद्दा वादी बैंकले २०७० सालमा ऋण असुली मुद्दा निवेदन दर्ता गरेको थियो। सोही निवेदनका आधारमा ऋण असुली न्यायाधिकरणले प्रतिवादी जमानतकर्ता थापाको नाममा रहेको संस्थापक सेयर रोक्का राखेको थियो। 

न्यायाधिकरणबाट गत फागुन २७ मा भएको मूल्यांकन मुचुल्काका आधारमा उक्त सेयरको जम्मा एकमुष्ठ न्यूनतम १ करोड ४२ लाख ५५ हजार १९० रुपैयाँ कायम गरिएको छ। 

यो लिलामी सेयरमा इच्छुक व्यक्ति फर्म, संगठित संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्। यो सूचना प्रकाशित भएको १५ दिनभित्र ऋण असुली न्यायाधिकरणको काठमाण्डौको कमलपोखरीस्थित कार्यालयमा बोलपत्र पेस गर्न भनिएको छ। कार्यालयका अनुसार ३ हजार रुपैयाँ बुझाइ बोलपत्र खरिद गर्न सकिनेछ। 

बोलपत्रहरु यो सूचना प्रकाशित भएको १६ औँ दिनमा दिउँसो १ः३० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ।