काठमाण्डौ । नेपालको बित्तीय क्षेत्रमा हिजोआज पूँजीवृद्धिको चपेटा छ । बैंक तथा बित्तीय संस्थाहरुलाई नेपाल राष्ट्रबैंकले मिति र सीमा नै तोकेर पूँजीवृद्धि गर्न निर्देशन दिएपछि कम्पनीहरुको दौडधूप हेर्न लायक छ । बजारमा हकप्रद, बोनस सेयरको बाढी नै आएको छ भने यही चापका कारण पूँजीबजारमा लगानीकर्ता समेत बढ्ने क्रम उस्तै छ । पछिल्लो समय हेर्दा जुन कम्पनीले हकप्रद वा बोनस सेयर उपलब्ध  गराउने घोषणा गर्छ, त्यो कम्पनीको सेयरमा अचाक्ली चाप हुन्छ । लगानीकर्ताको यही अतृप्त प्यासको फाइदा उठाउँदै कतिपय कम्पनीहरुले बजारमा ठगी धन्दा संचालन गरिरहेका पाइएको छ । 

सन्दर्भ हो हामा मर्चेन्ट एण्ड फाइनान्सले हकप्रदको नाममा आफ्नो बजार मूल्य बढाई लगानीकर्तालाई गरेको ठगीको । 

यो फाइनान्सले गरेको खुलेआम ठगीको बिषयमा नियमनकारी निकायहरुले आँखा चिम्लिएपछि हकप्रदको आशामा महंगो मूल्य हाली यो कम्पनीको सेयर खरीद गरेका सर्वसाधारण लगानीकर्ताहरुले नै उजुरी हालेका छन् । 

हामाको ठगीविरुद्ध धितोपत्र बोर्डमा परेको उजुरी । 

.....................................................................................................

शुक्रबार केही लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई सम्बोधन गर्दै हामाले गरेको ठगीको बिषयमा उजुरी हालेका हुन् । उजुरीमा हामाले ०७३ जेठ १ का लागि विशेष साधारणसभा बोलाएको भए पनि बिनाकारण स्थगित गरेको उल्लेख छ । 

उनीहरुका अनुसार बिनाकारण स्थगित गरिएको विशेष साधारणसभाको अर्को मिति पनि तोकिएको छैन र हालसम्म त्यसको कुनै तयारी समेत छैन । ‘तर, बजारबाट सर्वसाधारणले हकप्रद सेयरको आशामा  प्रतिकित्ता सेयर ३९० रुपैयाँसम्म लगानी गरिसकेको अवस्थामा कम्पनीले चलखेल र भ्रम सिर्जना गरी लगानीकर्तालाई ठगी गरेको व्यहोरा अवगत गराउन चाहन्छौ ।’–उजुरीमा भनिएको छ । 

उनीहरुले धितोपत्र ऐन र प्रचलित ठगीविरुद्धको कानून बमोजिम हामाका संचालकलाई कडा कारबाही हुनुपर्ने र विशेष साधारणसभा बोलाई घोषित हकप्रद उपलब्ध गराउने वातावरण बनाउनुपर्ने माग गरेका छन् । 

हामाले गर्ने भनी घोषणा गरेको विशेष साधारणसभाको मुख्य एजेण्डा नै प्रस्तावित १ सय प्रतिशत हकप्रदलाई पारित गराउनु रहेको थियो । तर सतप्रतिशत हकप्रद घोषणा गरेर कम्पनीको सेयर मूल्य मात्र बढाई लगानीकर्तालाई फसाई कम्पनी संचालकले बदमासी गरेका पीडितको आरोप छ । 

हामाले सतप्रतिशत हकप्रद घोषणा गर्नुअघि यसको प्रति कित्ता सेयर मूल्य २२० रुपैयाँमा सीमित थियो । सत्प्रतिशतको लोभले लगानीकर्ता यसतर्फ थुप्रिएपछि त्यसको केही सातापछि नै मूल्य बढी ३९० रुपैयाँको उचाईमा पुगेको हो । 

एक पीडित लगानीकर्ताका अनुसार धितोपत्र बोर्डले समेत हामाले सतप्रतिशत हकप्रदको नाममा गरेको बदमासीको बिषयमा छानबिन गर्ने वचन दिएको छ ।

हामाको यो घटनाबाट पनि प्रष्ट छ कि कुनै पनि कम्पनीले घोषणा गर्नेबित्तिकै यथार्थ नबुझी र सबै अवस्था नहेरी त्यो कम्पनीको सेयरमा  लगानी गर्नु अन्ततः घातक हुनसक्छ । कम्पनीहरुले सेयर मूल्य बढाउनका लागि गर्ने यस्ता प्रोपोगाण्डा रोक्ने बिषयमा नियामक जति गम्भीर हुनुपर्छ, त्यति नै साधारण लगानीकर्ता समेत यस्ता बिषयमा चनाखो बन्नुपर्ने  आवश्यकता देखिएको छ ।