काठमाण्डौ । संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा राष्ट्र बैंकले लगाएको १२ करोडको क्याप हटाउन र व्यक्तिगततर्फ सीमा बढाउन अर्थमन्त्रीले निर्देशन दिएपछि सेयर बजारमा बुधबार हरियाली छाएको छ। योसँगै बजार २००० माथि बन्द भएको छ। 

बजार आज ३९.४८ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २००७.०६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.६६ अंकले बढेर ३८६.८१ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि डेढ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल दुई सकारात्मक खबरले बजारमा महौल बनेको बताउँछन्। ‘संस्थागत लगानीकर्तालाई सेयर लोनमा १२ करोडको सीमा हटाउने र व्यक्तिगततर्फको सीमा बढाउने खबरले बजार सकारात्मक बनेको छ’, उनले भने, १२ करोडको क्यापले संस्थागत लगानीकर्ताहरुले लोन लिन पाएका थिएनन्। यो कार्यान्वयन भएमा अब बजारमा पैसाको फ्लो बढ्ने र बजार ४००–५०० अंकले बढ्न सक्छ।’

अर्को स्थानीय तहको ६० प्रतिशत फन्ड वाणिज्य बैंकहरुको खातामा गएको खबरले पनि बजारमा सकारात्मक प्रभाव पारेको लम्साल बताउँछन्। ‘योसँगै बैंकहरुको बेसरेट घटेर ब्याजदर पनि घट्ने लगानीकर्ताहरुको आशा छ’, उनले भने। 

अर्का बजार जानकार पर्वत बिष्ट पनि सेयर लोनमा १२ करोडको क्याप हट्ने खबरले पनि बजारमा सकारात्मक प्रभाव परेको बताउँछन्। ‘बजार आज भोलुम बढेर २००० भन्दा माथि बन्द भएकोले अब बजार माथि नै जाने देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक ३.६२ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.२० प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.९९ प्रतिशत, विकास बैंक समूहमा २.८८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.८७ प्रतिशत, लगानी समूहमा १.७० प्रतिशत, जीवन बीमा समूहमा २.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २ प्रतिशत, लघुवित्त समूहमा १.९४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०१ प्रतिशत, निर्जीवन बीमा समूहमा २.२९ प्रतिशत, अन्य समूहमा २.१५ प्रतिशत र व्यापार समूहमा २.०१ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७५ कम्पनीका ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ७ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको ६ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको आज एभरेस्ट बैंकको ६ करोड ३८ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ७२ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८८ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३ करोड ५६ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड ८८ लाख रुपैयाँ, घोराही सिमेन्टको २ करोड ७६ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको २ करोड ४५ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। बरुण हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा शुभम पावर र समता घरेलु लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। अरुण काबेली पावरको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन थ्रीस्टार हाइड्रोपावरको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ८ प्रतिशतको गिरावट आएको छ।