काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनदेखि नै सेयर कारोबारको समय दैनिक १ घण्टाको दरले बढाउने निर्णय गरेको छ । 

यसअघि हरेक आइतबारदेखि बिहीबार मध्यान्ह १२ बजेदेखि अपरान्ह ३ बजेसम्म दैनिक ३ घण्टाको दरले खुल्ने सेयर बजार र कारोबार समय लगानीकर्ताको सुझावको आधारमा आइतबारदेखि दैनिक १ घण्टाको दरले बढाउने निर्णय गरिएको नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेप्सेले यसअघि लगानीकर्ता र सरोकारवालासँग दैनिक कति घण्टाको दरले समय अवधि बढाउँदा उचित होला ? भनेर सुझाव मागेको थियो । प्राप्त सुझावका आधारमा हालका लागि दैनिक एकघण्टा, अर्थात हरेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार समय तोक्दा उचित हुने ठानी सोही अनुसार निर्णय गरिएको नेप्सले प्रष्ट्याएको छ । 

सिडिएस एण्ड क्लियरिङ लिमीटेड पूर्ण संचालनमा आएसँगै कारोबारमा परेको चाप तथा लगानीकर्ताको माग बमोजिम नेप्सेले  कारोबार समय थप गरिएको प्रष्ट पारेको छ । थपिएको कारोबार समयबाट लगानीकर्ताहरुलाई  लगानी सम्बन्धी कार्य गर्न थप सहज हुने र सदस्य दलालहरुलाई पनि पर्याप्त समय प्राप्त हुने नेप्सेले विश्वास व्यक्त गरेको छ । समयअवधिको वृद्धिले कारोबार परिमाण र कारोबार संख्या बढ्न गई बजारको तरलतामा वृद्धि हुने र बजार थप परिपक्व र सुदृढ हुने पनि नेप्सेको अपेक्षा छ । 

बोर्डको शर्तसहितको स्वागत


यसैबीच, नियामक धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ तथा फ्छर्यौंट कार्य पूर्ण रुपमा अभौतिक रुपमा हुने व्यवस्था पश्चात बजारमा बढ्दै गएको कारोबारलाई हेरी लगानीकर्ताहरुलाई सुविधा दिने उद्देश्यले नयाँ आर्थिक वर्षदेखि १ घण्टाको दरले कारोबार अवधि बढाउने भनी गरिएको निर्णयको स्वागत गरेको छ । 

तर, कारोबार अवधि बढाएर मात्र बजार व्यवस्थित नहुनेतर्फ सचेत गराउँदै बोर्डले बुँदागत रुपमै केही महत्वपूर्ण पक्षहरुमा सुधार गर्नुपर्ने भन्दै नेप्सेको ध्यानाकर्षण गराएको छ । 

बोर्डले बढ्दो कारोबारमा सहजता ल्याउन क्लियरिङ बैंकको संख्या तत्काल थप गराउने व्यवस्था गर्न कडा निर्देशन दिएको छ । यसैगरी, हालको स्वचालित कारोबार प्रणालीमा पटक–पटक समस्या देखिएकोले कारोबार प्रणालीमा सुधार गरी चुस्त बनाउनुपर्नेमा समेत बोर्डले जोड दिएको छ । 

यस्तै, कारोबार राफसाफ र फछ्र्यौट सम्बन्धमा समयमै पे इन र पे आउट नभइरहेकोले त्यसमा समेत सुधार हुनुपर्ने, हाल कारोबारको डिल क्यान्सिल गरिरहेकोमा कारोबारसँग सम्बन्धित जोखिम न्यूनिकरणका लागि सेटलमेन्ट ग्यारेण्टी फन्ड र अक्सन मार्केट जस्ता व्यवस्था समेत शीघ्र हुनुपर्नेमा जोड दिइएको छ । 

बोर्डले फ्रन्ट लाइन रेगुलेटरको रुपमा रहेको नेप्सेले धितोपत्रको दोश्रो  बजार कारोबार तथा  दलाल व्यवसायीहरुको  काम कारबाहीकोे सुपरीवेक्षण तथा अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा पनि बोर्डले जोड दिएको छ ।