काठमाण्डौ । सेयरबजार कारोबार मापक नेप्से इन्डेक्स केही समययता ठूलो उतारचढाव नआई स्थिरप्रायः झैँ बनेको देखिन्छ ।

बजारमा सक्रिय रुपमा सेयर कारोबार गरिरहेका लगानीकर्ताहरुलाई ‘मार्जिन कल’ र ब्याज तिर्नुपर्ने बाध्यता र सेयरबजारमा रहेको पैसा अन्यत्र क्षेत्रमा लगानी भई फ्रिज बन्दा नेप्से इन्डेक्समा समेत कुनै ठूलो चलायमान आउन सकेको छैन। पुतलीसडकस्थित एक ब्रोकरका अनुसार बजार घट्नुमा केही वर्षअघि नेप्से इन्डेक्स उच्च रहँदा बजारबाट पैसा झिकेर घर, गाडी र जग्गाजस्ता गैरउत्पादनशील क्षेत्रमा लगानी छरिएर पुनः सेयरबजारमा सो पैसा नफर्किंदा कारोबार रकमसमेत दैनिक करिब २५ करोड रुपैयाँकै हाराहारीमा सीमित बन्न पुगेको छ ।

योसँगै नेप्से सूचकांकको ओरालो यात्रामा बजार अझै घट्ने भयले सेयरमा थप लगानी बढाउने चेष्टा नगरेका लगानीकर्ताहरुको ब्रोकर हाउसहरुमा उपस्थिति पनि पातलिँदै गएको छ भने अधिकांश ब्रोकर हाउसमा उपस्थित लगानीकर्ताहरु निद्रामा मग्न हुने गरेको बिजशालाले स्थलगत रुपमा देख्न पायो ।

आजको दिन नेप्से इन्डेक्स हिजोको तुलनामा झिनो अंक ०.९१ अंकले गिरावट आउँदा बैंकिङ, कारोबार र जलविद्युत् उपसमूहमा मात्र हरियो पोतियो भने बाँकी नौ उपसमूहमा रातो पोतियो ।

आज नेप्सेमा सूचीकृतमध्ये १६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ता सेयर ३ हजार ८४१ पटक कारोबार सम्पन्न हुँदा २९ करोड ५८ लाख ६९ हजार १८० रुपैयाँको कारोबार भयो ।

साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से इन्डेक्स ११ सय ११ अंकमाथि उक्लने प्रयासका बाबजुद पनि उक्लन सकेन ।

आजको दिन नेपाल इन्भेस्टमेन्ट बैंक र सिटिजन्स् बैंकका संस्थापक सेयरको क्रमशः ५ करोड ८१ लाख र ३ करोड ८२ लाख रुपैयाँको हाराहारीमा कारोबार भयो । त्यस्तै नेपाल बैंक लिमिटेड, एनएमबी बैंक र एनआईसी एसिया बैंकका सेयर क्रमशः १ करोड ८२ लाख, १ करोड ३३ लाख र १ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भए ।

यो दिन साल्ट ट्रेडिङ कर्पोरेसनका सेयरधनीहरुले बढी कमाए । यो कम्पनीको सेयरमूल्य आजको दिन ६ प्रतिशतले वृद्धि भयो ।

उता हाइड्रोपावरका सेयरमूल्यमा निरन्तर ओरालो लाग्ने क्रम रहँदा युनियन हाइड्रोपावरका सेयरधनीहरुले सबैभन्दा बढी गुमाउन पुगे । आज यो कम्पनीको सेयरमूल्यमा झन्डै ६ प्रतिशतले गिरावट आयो ।