काठमाण्डौ । सिडिएससीको क्लियरिङ एण्ड सेटलमेण्ट सिस्टम र ‘मेरो सेयर’को इन्टीग्रेसन नहुँदा कारोबार राफसाफ झञ्झटिलो भइरहेको छ ।

हाल सेयर बिक्रीपश्चात बिक्रीकर्ता(सेयर लगानीकर्ता)ले धितोपत्र हस्तान्तरणका लागि विद्युतीय हस्तान्तरण(इडीआइएस) प्रयोग गर्ने गरेका छन् । लगानीकर्ताको व्यक्तिगत ‘मेरो सेयर’ पोर्टलबाट इडीआइएस अनुरोध गरिसकेपछि डीपीको ‘मेरो सेयर’मा त्यो अनुरोध पुग्दछ । सो अनुरोधलाई डीपीबाट पुनः म्यानुअली सीएनएस(क्लियरिङ एण्ड सेटलमेन्ट)मा पठाइन्छ ।

यसरी ‘मेरो सेयर’ पोर्टलबाट ब्रोकरको पूल अकाउन्टमा सेयर हस्तान्तरण गर्दा दोहोरो म्याचिङ गर्नुपर्दा डीपीलाई थप झञ्झटिलो बनिरहेको एक ब्रोकर कम्पनीको डीपी सेक्सनमा कार्यरत एक कर्मचारीले खुलासा गरे । यस्तो दोहोरो प्रावधानले झञ्झट त भएकै छ, सिडिएससीले आवश्यक पूर्वाधार नबनाइदिँदा कारोबार बढेमा अझ थप जटिलता बढ्ने ती कर्मचारीको दाबी समेत छ । सिडिएससीले यो अफ्ठयारोलाई समाधान गर्न आवश्यक कदम चालेमा राहात हुने ती कर्मचारी सुझाउँछन् ।

यति मात्र हैन हाल भारित औसत लागत विधि लागू हुँदा इडीआइस प्रयोगकर्ताको संख्या समेत ह्वात्तै घटेको एक ब्रोकर कम्पनीमा कार्यरत एक कर्मचारीले बताइन् । पहिले इडीआइएस गर्ने ९० प्रतिशत पुगेकोमा नयाँ विधिमा भएको झञ्झटिलो र लाभकर गणनामा अलमल पर्दा लगानीकर्ताहरुले इडीआइएस प्रयोग गर्ने ५० प्रतिशतमा खुम्चन पुगेको ती कर्मचारीले बिजशालालाई बताइन् । अन्य ब्रोकरबाट किनेको वा सेयर खरिद बिल उपलब्ध गराउन असमर्थ लगानीकर्ताहरु औंठाछाप हाल्न र लाभकर स्वयम् घोषणाका लागि ब्रोकर अफिस नै धाउने गरेको ती कर्मचारीले सुनाइन् ।

यसै विषयमा हामीले अर्को ब्रोकर कम्पनीको डीपी सेक्सनमा कार्यरत कर्मचारीलाई जिज्ञासा राख्दा करको कारण जोखिम लिनुभन्दा ल्याप्चे नै उत्तम भएको ठहर गर्दै लगानीर्का ब्रोकर कार्यालय नै आउने गरेको जिकिर गरे ।