-अर्जुन तिमिल्सिना
शेयर बजारमा अब नयाँ नयाँ रेकर्ड बन्दै छन् । गत हप्ता शेयर बजारको इतिहासमा सबैभन्दा बढी ११ अर्ब कारोबार भएर नयाँ रेकर्ड बन्यो । यो  सुरुवात मात्र हो, टेलर मात्र हो सिंगो शेयर बजारको फिल्म र कथा पूरै बाँकी छ ।

दैनिक बजार बढेपछि शेयर बजारमा खासै चासो नहुनेले पनि रेडियो टिभी तथा पत्रपत्रिका हेरेर कान ठाडो बनाउन थालेका छन् । के हो यो शेयर भनेको ? रडियो टिभीले सुनको मूल्य बढ्यो भनेको त सुनेकै हो, अचेल शेयरको मूल्य पनि बढ्यो भन्छ ।यस्तै यस्तै जिज्ञासा बोकेर ढाकाटोपी ढल्काएर गाउँ गाउँबाट शेयर बजारतिर लम्किनेको लाइन छ अहिले बजारमा । 

उता विदेशमा रहनेको पनि निद्रा गायब भएकोछ । अलि अलि बजार बुझेर र सेयर खरीद गरेर विदेशिनेलाई पनि अहिलेको माहौलले राम्रैसँग छोएको छ । 

अनलाइन ट्रेडिङ्ग मार्फत बिदेशमा बसेर आँफै किनबेच गर्न सकिने भए पछि शेयर बजारमा विदेशको कमाइ सिधै भित्रिएको हो र नै एकै हप्तामा ११ अर्बको कारोबार भयो । 

खासमा शेयर अथवा धितोपत्र भन्नाले के बुझिन्छ ? कसरी हुन्छ यसको कारोबार ? अहिले धेरैमा यस्तै जिज्ञासा देखिन्छ । 

धितोपत्र भन्नाले कसैबाट पैसा लिएको थियो भन्ने प्रमाण स्वरुप लिने अर्थात् दिने कागजपत्रलार्इ  धितोपत्र भनिन्छ । यस्ता कागज किनबेच गर्न सकिने र नसकिने हुन्छन । हामीले बैंकमा पैसा राख्दा पाइने कागज पनि एक किसिमको धितोपत्र नै हो जुन कारोबार गर्न सकिन्न ।

कम्पनीले आफूलाई चाहिने रकम संकलन गर्दा लगानीकर्तालाई दिने प्रमाण पत्र किनबेच गर्न सकिने धितोपत्र हो, जसको शेयरबजारमा ब्रोकरमार्फत किनबेच हुन्छ । यस्तो धितोपत्र अहिले अभौतिकीकरण भएका छन् जुन आफ्नै घर अथवा बिदेशमा बसेर पनि ब्रोकरको सहायतामा किनबेच गर्न सकिन्छ । यसका लागि पहिला एउटा लगानीकर्ता, ब्रोकर अथवा आफ्नो खाता रहेको कुनै पनि बैंकमा गएर १६ अंकको  डीम्याट खाता खोल्नुपर्छ ।जुन ब्रोकरले पनि  खोल्छन । त्यसपछि ब्रोकरकोमा नै केवाईसी खाता खोल्नु पर्छ, जसका लागि नागरिकताको फोटोकपी र एक प्रति आफ्नो फोटो आवश्यक हुन्छ, जुन निःशुल्क खोल्न सकिन्छ । यति काम पूरा  भएपछि आफूले किन्न चाहेको शेयर किन्न सकिन्छ । सुरुमा ब्रोकरले २० प्रतिशत रकम अग्रिम माग्न पनि सक्छन । अनलाइन कारोबारका लागि पनि केही रकम अग्रिम बुझाएर आफैं गर्न सकिन्छ । यो रकम आफूले गर्ने कारोबारमा भर पर्छ । आफूले खरिद गरेको शेयर ब्रोकरलाई पैसा बुझाएपछि मात्र आफ्नो खातामा आउँछ ।  

अहिलेको टि प्लस थ्रीको नियमअनुसार तीन दिनभित्र तपाईको खातामा सेयर आउने गर्छ । उक्त सेयरलाई आफूले चाहेको बेला कारोबार समयमा आइतबारदेखि बिहीबारसम्म ११ बजेदेखि ३ बजेभित्र पुनः बेच्न पनि सकिन्छ । यसरी शेयर बजारमा दैनिक कारोबार हुन्छ  । यो पनि एक किसिमको सम्पत्ति खरिद भएकोले तपाइले चाहे अनुसार जति पनि समय राख्न सक्नु हुन्छ । 

शेयरबाट खासगरी दुईथरि आम्दानी हुन्छ ।  एक हो पुँजीगत आय अर्थात् तपाइले किनेको शेयर को मूल्य बढेर हुने आम्दानी र दोस्रो हो कम्पनीले बर्ष बर्षमा बाँड्ने लाभांश, जुन क्याश तथा बोनस दुवै हुन सक्छन । 

कम्पनीले सुरुमा निस्कासन गरेको शेयर खरिद गर्नुलाई पहिलो बजार भनिन्छ, जसलाई बोलीचालीको भाषामा आइपीओ पनि भन्ने गरिन्छ । ब्रोकरमार्फत त्यही शेयरलाई पुनः खरिद बिक्रि गरिन्छ भने त्यसलाई दोस्रो बजार अर्थात्  सेकेण्डरी मार्केट भनिन्छ ।

पहिलो बजारमा शेयर पर भ्यालुमा अर्थात् सय रुपैयाँमै पाइन्छ भने दोश्रो बजारमा यसको मूल्य बजारले निर्धारण गर्छ । सेयर किन्दा जहिले पनि राम्रो कम्पनी छानेर किन्नुपर्छ । 

यस्तो हुनसक्छ कम्पनी छान्ने तरिका
दोस्रो बजारमा जहिले पनि जोखिम हुन्छ । सही कम्पनी छान्न सकिएन भने घाटा पनि हुन्छ । कम्पनी छनौट गर्दा लगानीकर्ताको उद्देश्य, लगानीको समय अवधि, जोखिम बहन गर्न सक्ने क्षमता, प्रतिफल, आम्दानी र पेशाजस्तो विषयले असर गर्छ । सबै खालको लगानीकर्तामा  एकै  बजार रणनीतिले काम गर्छ भन्ने हुँदैन ।मुख्य कुरा उसले बजारमा लगाउने पूँजी कस्तो र कति ब्याजदरमा ल्याएको हो भन्ने विषय पनि महत्वपूर्ण हुन्छ । 

आफ्नै पैसा बजारमा लगाउने र बैंक तथा बित्तीय स्रोत अथवा अन्य माध्यमबाट लिएको पूँजी छ भने त्यहीअनुसार बजार योजना आवश्यक हुन्छ । तर मुख्य गरी कम्पनी छनौट गर्दा यी विषयमा ध्यान पुर्याउनुपर्ने हुन्छ :

१. बिक्रीयोग्य: लगानीकर्ताले शेयर छनौट गर्दा जहिले पनि आफूले चाहेको बेला बेच्न सकिने शेयर हुनुपर्छ । जसलाई ब्लु चिप कम्पनी पनि भनिन्छ । यस्ता कम्पनी दैनिक कारोबार हेरेर पनि  अनुमान लगाउन सकिन्छ । जुन कम्पनीको दैनिक धेरै कारोबार भएका छन्, ती कम्पनी बजारमा सहजै बिक्री गर्न सकिन्छ । 
२. कम्पनीको आय तथा आम्दानी: कम्पनीले वार्षिक रुपमा कति आम्दानी गरेको छ भनेर हेर्नु मुख्य कुरा हुन्छ । यसलाई प्रति शेयर आम्दानी हेरेर बुझ्न सकिन्छ । शेयर बजारका बादशाह वारेन बफेटका अनुसार  हरेक बर्ष प्रतिशेयर आम्दानी र रिटर्न अन इक्विटी तथा व्यापार बढ्दै गएको कम्पनी मात्र किन्नु भन्छन।
३.भविष्यमा हुने मूल्यवृद्धिको सम्भावानाः कुनै पनि आफूले किन्न लागेको कम्पनीको भविष्यमा मूल्य कति बढेर जाला भनेर खोज्नु बुज्नु पनि निकै महत्वपूर्ण कार्य हो । यो खासगरी प्राइस अर्निङ  रेसियोबाट अनुमान लगाउन सकिन्छ भने अर्को व्यवहारिक पक्ष के हो भने कुन कम्पनीमा ठूला खेलाडी लाग्दै छन् भनेर बजारबाट खोज्नु बुझ्नु पनि आवश्यक छ । खासगरी सानो पूँजी भएका राम्रा कम्पनी छान्न सके छोटो समयमा पनि राम्रो प्रतिफल मिल्छ । जस्तो अहिले इन्स्योरेन्स र माइक्रोफाइनान्स कम्पनीका सेयर । 

४.आफूले सेयर किनेको कम्पनीको सुरक्षा: मुख्य कुरा त शेयर बजारमा  आफूले गरेको लगानी कति सुरक्षित छ भन्ने पनि हो । यसका लागि कुनै पनि कम्पनी लगातार नाफामा गएको कम्तीमा २५ रुपैयाँ वार्षिक आम्दानी भएको, उच्च नेटवर्थ भएको, संस्थागत सुशासन भएको र कम्पनीमा कर्मचारी र व्यवस्थापकबीच राम्रो सम्बन्ध भएको कम्पनी छान्नुपर्छ । नेपालको सन्दर्भमा खासगरी एकै समूहबाट  बैंक तथा बित्तीय संस्था र उद्योग  चलाएका कम्पनीको शेयर किन्नु त्यति उचित हुन्न । किनकि बैंक तथा बितिय संस्थाको पैसा आफूखुशी चलाएका थुप्रै उदाहरण छन्, जसले गर्दा उनीहरुबाट संस्थाले लोन असूली चाहेको बेला गर्न सक्दैन । यी लगायत कम्पनीको कम्तीमा पाँच वर्षको इतिहास र भविष्य हेर्नु आवश्यक हुन्छ । 

के होला यो हप्ता बजार ?
दैनिक बढिराखेको बजारमा कारोबारले राम्रै साथ दिएको छ, तर प्राबिधिक हिसाबले हेर्नुपर्दा र  इलिअट वेब सिद्धान्तलाई आधार मान्दा बजार अझै केही समय थप बढ्ने देखिन्छ । तर आगामी कारोबारमा डोजी स्टार देखा परे बजारले ट्रेन्ड परिबर्तन पनि गर्न सक्ने देखिन्छ, जुन अल्पकालिन मात्र हो र थप बजार पस्ने अबसर हो ।