गत साता सेयर बजारमा रौनक र चमक  कायमै रह्यो। यसका साथै साप्ताहिक रुपले  साढे ११ अर्ब रुपैयाँको कारोबार र १० अंकको वृद्धिले बजारमा अझै केही समय उकालो यात्रा कायम नै रहने देखिन्छ। 

मुख्य विषय कारोबर हो। दैनिक दुई अर्बभन्दा माथि कारोबार भइरहेकोले र बैंक तथा वित्तीय क्षेत्रमा तरलता कायमै रहुन्जेल बजारमा ठूलो करेक्सन हुने देखिन्न। यसपालि दसैं तथा तिहारजस्ता ठूला पर्व अलि पछाडि धकेलिएकोले पनि बजार सकारात्मक हुन थप सहयोग गरेको देखिन्छ। किनकि चाडपर्व आएपछि सेयर बजारभन्दा बाहिरी किनमेलको बजार चम्किन्छ। लगानीकर्ता पनि चाडपर्व मनाउनतिर लाग्दा बजारमा केही करेक्सन हुने गरेको विगतले देखाउँछ। 

विगतभन्दा यो वर्ष धेरै कुराले फरक परिदृश्य देखिन्छ। लकडाउनका कारण धेरैलाई घरमै बस्न बाध्य भएकोले र आफ्नै घरबाट सुरक्षित  लगानी गर्न मिल्ने हुँदा पनि अब केही समय सेयर बजार पैसा कमाउने राम्रो ठाउँ हुन सक्छ तर तपाइँले त्यसका लागि राम्रो स्क्रिप्ट छान्नुपर्ने हुन सक्छ।  

गत साता बजारमा दुइटा अन्य विषय पनि बहसमा आए। एउटा हो– अन्तर्राष्ट्रिय बजारमा चलेको चलन भनेको प्रि–ओपनिङको व्यवस्था।  यहाँनेर यो व्यवस्था खराबभन्दा पनि यसको प्रयोग गलत भयो भन्ने आम बुझाइ हो। धेरै  लगानीकर्तलाई बजार साढे १० मा नै खुल्छ र यो समयमा पनि कारोबार हुन्छ भन्ने नै थाहा छैन। अहिले पनि गाउँ–गाउँमा द्रुतगतिको इन्टरनेट सुविधा छैन। त्यसैले सबै लगानीकर्ता   टीएमएस चलाउन सक्षम छैनन्।  

कति कुरा अन्तर्राष्ट्रिय रुपमा राम्रो चलेको भए पनि हाम्रोजस्तो जटिल भौगोलिक अवस्था र पहुँच नभएको देशमा सबै कुरा नक्कल गर्दा ‘कागलाई मयूरका प्वाँखले साजाएजस्तो रुप र रङ मयूरको तर चालढाल उही कागको जस्तो’ हाम्रो सेयर बजार र अहिलेको टीएमएस भएको छ। पहिलो कुरा यो सिस्टम नै झिकेर फाल्नुपर्छ। दुई वर्षसम्म समस्यै समस्या देखिने यो कस्तो सिस्टम  हो ? कतिन्जेल लगानिकर्ताले यो समस्या झेल्ने ? 

प्रि–ओपनिङ राम्रो भए पनि यसलाई गलत प्रयोग गरियो। आगो त्यही हो तर चुलोमा सल्काए खाना पाक्छ तर जंगलमा लगाए बनै सकिन्छ।  बजार खुलेको एकै मिनेटमा सर्किट लगाएर बन्द गर्ने यो कस्तो व्यवस्था ? जन्मिनै पाएको छैन मृत्यु ? यो व्यवस्था र लिंग पहिचान गरेर भ्रूण  हत्या गर्ने व्यवस्थामा के अन्तर ? भ्रूण हत्या गर्ने डाक्टर र नेपाल धितोपत्र बोर्डमा बस्ने डाक्टरमा के अन्तर ? यसलाई बेलैमा व्यवस्थित र नियन्त्रण गरिएन भने एक दिन सेयर बजार पूरै ध्वस्त हुन्छ।  

प्रि–ओपनिङलाई व्यवस्थित गर्ने केही विकल्प छन्। 

विकल्प १– प्रि–ओपनिङ सेसनलाई नियमित कारोबारमा जोड्दै नजोडौँ। यसलाई जुन प्रायोजनका लागि ल्याइएको हो, त्यसैमा सीमित गरौँ।  

विकल्प २– यदि नियमित कारोबारमा जोड्ने हो भने कारोबरको न्यूनतम कित्ता कायम गरौँ, जुन ५०० भन्दा सानो कित्ता किनबेच गर्नै नमिल्ने गराँै। त्योभन्दा सानो गर्नु परे नियमित कारोबारमा मात्रै गरौँ। यसले १० कित्ताले खर्बौंको बजार तलमाथि गर्नेलाई नियन्त्रण गर्छ।  

विकल्प ३– प्रि–ओपनिङ आईपीओ प्रायोजनका लागि ल्याइएको हुँदा आईपीओ सेयरका लागि मात्रै गरौँ। कारोबार भएको निश्चित समयपछि सोही कम्पनी प्रि–ओपनिङमा कारोबार गर्न नपाउने व्यवस्था गरौँ। होइन भने प्रि–ओपनिङको यही व्यवस्थाले एक दिन बजारमा दुर्घटना हुन सक्छ।

बजारमा अर्को चर्चाको विषयमा फ्लोर सिटको पनि रह्यो। बजारमा सीआईटी आउने चर्चासँगै  लगानीकर्ताले पाउँदै गरेको फ्लोर सिट हेर्ने सूचनाको अधिकारमाथि पनि बन्देज लगाउने काम हुन थाल्यो। फ्लोर  सिट र मार्केट डेप्थ लगानीकर्ताले धेरै हेर्ने सुविधा हुन्। यसबाट आफूले किने वा बेचेको सेयर कारोबार भयो कि भएन भनेर तत्काल हेर्न मिल्छ। कहिलेकाहीँ ब्रोकरको म्यासेज डेलिभर नहुने हुँदा र कारोबारकै समयमा पनि फ्लोर सिट हेरेर पत्ता लाग्ने हुँदा यो लगानीकर्ताको सूचनाको हक पनि हो। 

सीआईटी आउनु बजारका लागि राम्रो हो तर एउटा कम्पनीका लागि लाखौँ लगानीकर्ताको सूचनाको हक बन्देज लगाउनु राम्रो होइन। कसैको स्वार्थका लागि कसैको अधिकार पनि हनन त हुन भएन। 

सीआईटीलाई बजारमा स्वागत छ। यसलाई लगानीकर्ताले फूलमालाले स्वागत गर्दैगर्दा हामीलाई एसिड हानेर बजारको रुप–रङ बिगार्ने   काम पनि हुनु भएन।  

लगानीकर्ताका हकअधिकार सुनिश्चित होस् बजार थप मज्बुत व्यवस्थित बनोस्, यही छ लगानीकर्ताको चासो र माग !