काठमाण्डौ । सेयर बजारको आकार २३ खर्ब रुपैयाँ नाघेको छ।

तिहार बिदाअघि खुलेको धितोपत्र बजारमा नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण २३ खर्ब २ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी पुगेको हो। गत कात्तिक २६ गते बुधबार नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण २२ खर्ब ८८ अर्ब २६ करोड ९५ लाख रुपैयाँभन्दा बढी पुगेको थियो। गत बिहीबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि हुँदै १७१८.४९ अंक कायम भई कारोबार रकमसमेत करिब ५ अर्ब रुपैयाँ भएको थियो।

पछिल्लो समयमा दिनानुदिन बजार पुँजीकरणले नयाँ–नयाँ रेकर्ड बनाउँदै आइरहेको छ। बजार पुँजीकरणको शीर्ष १० स्थानमा पर्ने नयाँ कम्पनीहरुको प्रवेश र नेप्सेमा नयाँ कम्पनीहरुको सूचीकरणले समेत कुल बजार पुँजीकरणको आकार बढाउँदै लगेको हो।

बैंकहरुले पछिल्लो समय बचतमा औसतमा १.५ प्रतिशत ब्याजदरमात्रै दिएकाले समेत सेयर बजारमा राम्रो कमाइ हुने आशामा नयाँ तथा पुराना लगानीकर्ताहरु सक्रिय सेयर कारोबार गरिरहेका छन् भने सेयर धितोकर्जा समेत सिंगल डिजिटमा उपलब्ध भएकाले कर्जा लिई सेयर कारोबार गर्नेको जमात बढिरहेकाले समेत अब दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार रकमले निकट समयमा नै नयाँ ऐतिहासिक रेकर्ड कायम गर्ने जानकार तथा विश्लेषकहरु दाबी गर्छन्।

हाल धितोपत्र दोस्रो बजारको पहुँच देश तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन नेप्सेको अनलाइन कारोबार प्रणालीले समेत अहम् भूमिका निर्वाह गरेकाले दोस्रो बजारमा कुल कारोबारी करिब ४ लाख पुगेका र हाल पौने २ लाखले अनलाइनमार्फत स्वयं सेयर कारोबार गर्न सहज भएकाले समेत परिसूचक र कारोबार रकममा बढोत्तरी आउने विश्लेषकहरुको भनाइ छ।

यसैगरी नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षबाट धमाधम सेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने र साधारण सभा सम्पन्न गर्ने हुनाले समेत बजारमा उच्च खरिदचाप हुने विश्लेषकहरु जिकिर गर्छन्। वर्षभरिको कमाइ अब फल पाकेर खाने बेला भएकाले पनि सेयर खरिद चापमा उच्च दबाब पर्ने र सूचक र कारोबार रकममा छलाङ आउने जानकारहरु बताउँछन्।

यसरी कारोबार रकम र सूचकमा आएको बढोत्तरीले नेप्सेमा कुल बजार पुँजीकरणमा समेत छलाङ आउने बताइन्छ।