 
                     
                                
                             
                                    काठमाण्डौ । तपाइँ निजामती कर्मचारीमा हुनुहुन्छ ? सेयर कारोबार पनि गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने अब कार्यालय समयमा सेयर खरिदबिक्री वा आईपीओ भर्दै हुनुहुन्छ भने तपाइँ कारबाहीमा पर्नु हुनेछ।
हिजोआज सेयर कारोबारीहरु निकै सक्रिय भएका छन्। सेयर बजारमा पुरानासँगै हजारौँको संख्यामा नयाँ लगानीकर्ताहरु कारोबारमा सक्रिय भएर लागेका छन्।
कसैले सेयर बजारलाई आफ्नो मुख्य पेसा बनाएका छन् भने कसैले थप आम्दानी बाटोका रुपमा यो पेसालाई अपनाएका छन्। आमसर्वसाधारणदेखि सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु पनि यतिबेला सेयर बजारमा सक्रिय भएर कारोबार गरिरहेका छन्।
त्यसो त अहिले ८० प्रतिशतभन्दा बढी लगानीकर्ताहरु अनलाइनबाटै सेयर कारोबार गरिरहेका छन्। अनलाइनबाट सजिलै कारोबार हुन थालेपछि ब्रोकरकोमा धाइरहनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका साथै कारोबार गर्न सजिलो भएपछि पुँजी बजारमा नयाँ लगानी प्रवेश ह्वात्तै बढेको छ।
एकातिर सेयर बजारमा चमक छाइरहेको छ भने अर्कोतिर सरकारले अब सरकारी कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा लागेको पाइएमा कडाइ गर्ने भएको हो। यो विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कठोर बनेको हो।
मन्त्रालयले सरकारी कर्मचारीहरु कार्यालय कामै प्रभावित पारी सेयर कारोबार सक्रिय रहेको चाल पाएपछि त्यस्ता कर्मचारीमाथि निगरानी बढाउने भएको हो। यदि कोही कर्मचारी सेवाग्राहीको कामै प्रभावित हुने गरी सेयर कारोबारमा लागेको पाइएमा तुरुन्त कारबाही पर्ने मन्त्रालय स्रोत बताउँछ।
त्यसो मन्त्रीस्तरको सोमबार निर्णयबाट अनेक खाले धन्दामा लागेका त्यस्ता सरकारी कर्मचारीहरुबारे अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्र पत्राचारसमेत गरिसकेको छ। पत्रमा कार्यालय समयमा सेयर कारोबारका लागि ब्रोकर हाउस जाने तथा कार्यकक्षबाटै सेयर कारोबार गर्नेमाथि निगरानी बढाउन सतर्कता केन्द्रलाई निर्देशन दिइएको छ।
पत्रमा नियमित रुपमा कार्यालयमा हाजिर भए नभएको, तोकिएको पोसाक र परिचयपत्र लगाएको वा नलगाएको पनि अनुगमन गर्न पत्रमा निर्देेशन दिइएको छ।
यसैगरी कतिमय वरिष्ठ कर्मचारीहरु नै कार्यालय समयमा विभिन्न इन्स्टिच्युटमा गई लोकसेवा तयारी कक्षमा पढाउने गरेको पाइएपछि मन्त्रालयले त्यसमा पनि कडाइ गर्ने भएको छ। मन्त्रालय स्रोतका अनुसार यसमा अनुगमन बढाउन पनि सतर्कता केन्द्रलाई निर्देशन दिइएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19