यो अठारौँ शताब्दीका एक हीरा व्यापारीको कथा हो। केही मान्छेले हीरा रहेको आशंका गरेको ठाउँ देखाइदिएपछि उनले आफ्ना सारा स्रोत र क्षमता लगाएर जमिन खन्न सुरु गरेछन्। महिनौँसम्म उनले खने। खन्दा–खन्दा एकातिर खाल्डो पर्दै गयो भने अर्काेतिर खनेर फालेको माटोले डाँडो बन्दै गयो।
लामो समय ती व्यापारीले कोसिस गरे तर हीरा भेटिने कुनै लक्षण देखिएन। उनी थकित भए। आफ्नो स्रोत र धन सबै सिकियो तर हीरा भेटिएन। त्यसपछि उनले आफ्ना सबै साधन र सामग्री लिलामीमा एकजनालाई बेचे र आफ्नो हीराखानीको सपना बीचमै छोडेर घर फर्किए।
त्यो लिलामीमा समान किनेका व्यक्तिले भने अलिक फरक तरिकाले सोचे। उनले काम सुरु गर्नुभन्दा पहिला खानीसम्बन्धी विज्ञ तथा प्राविधिकलाई ल्याएर देखाए। अर्थात काम सुरु गर्नुभन्दा पहिले विज्ञ तथा प्राविधिकसँग सल्लाह गरेर सम्भाव्यताको खोज गरे। प्राविधिकहरुले हीरा रहेको संकेत दिए। फलस्वरुप केही समयमा त्यहीँ ठाउँमा हीरा भेटियो र लिलामीमा समान किन्ने हीराका मालिक बने।
सेयर बजार पनि त्यस्तै ठाउँ हो। यहाँ धेरै मान्छेका आ–आफ्नै तर्क छन्। केहीले मात्रै राम्रो कम्पनी छानेका हुन्छन्। केहीले किनिहाले पनि राम्रो कम्पनी पाल्ने धैर्यता गर्दैनन्।
हिजोका दिनमा इन्डेक्स ११ सय हुँदा कसैले यो ठाउँमा हीरा छ भनेर पत्याउँदैनथ्यो। करिब डेढ वर्ष पहिले किनिएका केही राम्रा कम्पनीका सेयर ३ सय प्रतिशतभन्दा बढीले बढेका छन्। कतिले त त्यही पहिलो हीरा व्यापारीले जसरी इन्डेक्स ११ सय हुँदै लिलामीमा आफ्नो सेयर बेचेर सके र बजारबाट निस्के।
यो बजारमा पनि एउटा रेस्टुरेन्टमा जसरी नै आउने जाने क्रम चलिरहन्छ। कसले के खाने, कति खाने र कति समय बस्ने ? भन्ने विषय स्वयं उसको निजी क्षमता र आवश्यकताको विषय हो। मालिक त्यो हुन्छ, जसले दोस्रो हीरा व्यापारीले जसरी बुद्धिमता तरिकाले काम गर्छ।
वास्तवमा जीराको मूल्यमा किनेर हीराको मूल्य बनाउन सक्नु नै सेयर बजारमा अद्भुत कला हो। कला र कूटनीतिक व्यापार तथा राजनीति दुवैमा आवश्यक हुन्छ। जुन सेयर बजारमा पनि अपरिहार्य छ।
कसरी होला त हीराको खानी ?
एकैछिन ध्यानदृष्टिले सोचौँ अनि हेरौँ– सेयर बजारमा हीरा कता होला ? सेयर बजारका बादशाह वारेन बफेटले भनेका छन्, ‘सेयर बजार भनेको अधैर्य मान्छेबाट धैर्य गर्ने मान्छेमा सम्पत्ति हस्तान्तण हुने माध्यम हो।’
बफेटका सिद्धान्तलाई मान्ने हो भने केही राम्रा कम्पनीको सेयर दीर्घकालीन रुपले पाल्नैपर्छ, भलै त्यो १० कित्ता नै किन नहोस् ? आज बर्कशायर हाथवेको सेयरको प्रतिकित्ता मूल्य ३ लाख ५० हजार ६०२ अमेरिकी डलर छ। नेपालमै पनि युनिलिभरको मूल्य प्रतिकित्ता २० हजार ४५० रुपैयाँ रहेको छ। त्यसैगरी आरबीसीएलको १६ हजार ३२० रुपैयाँ छ।
भविष्यमा यसरी राम्रो मूल्य पछ्याउने कम्पनीको आफूले सकेजति लिएर राखे त्यो हीरा हुन्छ। हाम्रो देशमा सेतो हीरा भनेर जलविद्युतलाई चिनिन्छ। केही राम्रा कम्पनीको सेयर अहिले सस्तो मूल्य हुँदा नै किनेर पाल्न सके सेयर बजारमा एक दिन हीराको खानी अवश्य हुन सक्छ। भलै त्यसले केही समय किन नलागोस्।
राम्रा कम्पनीहरुले वार्षिक ५० देखि १०० प्रतिशत सम्म प्रतिफल दिएका हुन्छन्। बेलाबेलामा हकप्रद बाँडेका हुन्छन्। यसरी सेयरको संख्या र मूल्य दुईगुना, चौगुना हुँदै जान्छ। जुन एक दिन सेयर बजारको हीराको खानी नै बनिदिन्छ। यसका लागि मात्र तपाइँमा इच्छाशक्ति, लगनशीलता र मेहनत आवश्यक हुन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago