काठमाण्डौ । दोहोरो अंकको बढोत्तरीका साथ सेयर बजारले २०७७ साललाई सुखद् बिदाइ गरेको छ।
आज मंगलबार नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो।
राम्रा र बलिया कम्पनीको सुचक सेन्सेटिभ इन्डेक्स पनि ५.९९ अंकले बढेर ४८६.२८ को उचाइमा पुगेको छ। कारोबार रकम पनि ७ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल आजको बढाइले अब बजारको बाटो प्रस्ट भएको बताउँछन्। ‘ऐतिहासिक उचाइ चुम्दै बजारले यो वर्षको सुखद् बिदाइ गरेको छ’, उनी भन्छन्, ‘आगामी वर्ष बजारले थप उचाइ चुम्ने निश्चित भएको छ।’
आजबाट बैंकिङ समूहमा पनि चमक देखिन थालेको भन्दै ढकालले भने, ‘बैंकहरुको मूल्य अझै पनि १२००–१३०० कै इन्डेक्सको बेलाकै तुलनामा रहेकोले अझै खरिदको अवसर छ।’
अब २०७८ सालमा बजारमा राजनीतिको खासै प्रभाव नपर्ने पनि ढकालको बुझाइ छ। ‘ब्याजदर पनि तत्काल बढ्न सम्भावना छैन’, उनले भने, ‘त्यसैले ढुक्क भएर बजारमा लगानी गर्दा हुन्छ।’
बजार जानकार प्रेम ओली बजार सकारात्मक नै रहेको बताउँछन्। ‘बजार बुलिस नै हो’, उनले भने, ‘अहिले चैत मसान्तले गर्दा धेरै लगानीकर्ताहरु लोनको साँवाब्याज भुक्तानीमै अल्मलिएको देखिएका छन्, अब वैशाखबाट बजारले थप गति लिने देखिन्छ।’
आजबाट बैंकिङ सेक्टर लयमा फर्किएको देखिएकोले आगामी दिनमा बजारमा अझै ठूलो बुल आउने निश्चितप्रायः भएको ओलीको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ९५.४२ अंकले उकालो लागेको छ। व्यापार समूह ६९.२९ अंकले बढेको आज बैंकिङ समूहमा ४२.३६ अंक, जलविद्युत् समूहमा ३१.६९ अंक, वित्त समूहमा ३.६४ अंक र म्युचुअल फन्ड समूहमा ०.०६ अंकको बढोत्तरी भएको छ।
यो दिन निर्जीवन बीमा समूह सबैभन्दा धेरै ८८.९२ अंकले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ६५.२४ अंकले घटेको आज उत्पादन तथा प्रशोधन समूहमा २१.५१ अंक, अन्य समूहमा ७.५ अंक, लघुवित्त समूहमा १४.४ अंक, जीवन बीमा समूहमा ५१.२८ अंक र लगानी समूहमा ०.४६ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०९ कम्पनीका १ करोड ४६ लाख ९१ ६४३ कित्ता सेयर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा कारोबार भएका छन्।
यो दिन नबिल बैंकको सर्वाधिक २८ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको २८ करोड १६ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको २४ करोड ३५ लाख रुपैयाँ, निफ्राको २१ करोड १० लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको १८ करोड ३८ लाख रुपैयाँ, अपी पावरको १७ करोड ३३ लाख रुपैयाँ, कुमारी बैंकको १४ करोड ६० लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १३ करोड ६७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १३ करोड ६७ लाख रुपैयाँ र मेगा बैंकको १२ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
वर्षको अन्तिम दिन ५ कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। एनआईसी एसिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र छ्याङ्दी हाइड्रोपावरका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेसँगै सेयरधनीहरु मालामाल भएका हुन्। यो दिन महिला लघुवित्तको सेयरभाउ पनि ८ प्रतिशत बढीले उकालो लागेको छ।
आज २ लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। लक्ष्मी लघुवित्त र ग्लोबल आईएमई लघुवित्तको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago