– अर्जुन तिमिल्सिना

काठमाण्डौ । संसारमा सबै मान्छे शारीरिक तथा बौद्धिक रुपले फरक–फरक क्षमता लिएर आएका हुन्छन्। 

शारीरिक रुपमा फरक क्षमता भएकाहरु पनि अहिले विभिन्न पेसामा उत्कृष्टताका साथ अगाडि बढिरहेका छन्। साहित्य, कला, शिक्षा अनि व्यापार नै किन होस् फरक क्षमता भएकाहरु लगनशीलताकै कारण आफूलाई संसारमा चिनाउन सफल भएका छन्।

सेयर बजारमा पनि एउटा यस्तो क्षेत्र हो, जहाँ सबै अटेका छन्। हामी आज सेयर बजारमा फरक क्षमता भएका (दृष्टिविहीन) लगानीकर्ताहरुको अनुभव र भोगाइ यहाँ प्रस्तुत गर्न गइरहेका छौँ। 

मुकुन्द चालिसे पूर्ण रुपमा दृष्टिविहीन छन्। उनी नेपाल पुँजी बजार संघ रुपन्देहीका जिल्ला संयोजक पनि हुन्। उनी ११÷१२ वर्षदेखि सेयर बजारमा सक्रिय छन्। 

पोखराको पृथ्वी नारायण क्याम्पस पढ्दै गर्दा चालिसे सेयर बजारमा प्रवेश गरेका रहेछन्। ‘एकजना बैंकमा जागिर खाने साथीले मलाई सेयर बजारमा लाग्न सुझाए, अनि २०६७/६८ तिर सेयर बजारमा होमिएँ’, उनी भन्छन्।

सुरुमा आफूले कन्ट्री डेभलपमेन्ट बैंकको आईपीओ भरेर प्राथमिक बजार पसेको चालिसे सुनाउँछन्। ‘विस्तारै दोस्रो बजारमा पनि लगानी गर्न थालेँ’, उनले भने, ‘अहिले १ करोड रुपैयाँभन्दा बढी लगानी छ।’ 

अहिलेको प्राविधिको विकास भएको बेलामा त झन घरमै बसेर सानो रकम लगाएर पनि  केही कमाउन सकिने चालिसेको अनुभव छ। दोस्रो बजारमा भने चालिसले सबैभन्दा पहिले एनटीसीको सेयर ४१८ रुपैयाँमा किनेका थिए। तर त्यतिबेलाको बजार बियरिस भएकाले केही घाटा खाएर बेचेको उनले जानकारी दिए। ‘२०७३ सालतिर नेपाल बंगलादेश बैंकको सेयर ६५० र स्ट्यान्डर्ड चार्टर्ड बैंकको २२०० मा किनेँ तर अहिले पनि घाटै छ’, उनले भने। 

सबैभन्दा बढी नाफा भने नागरिक लगानी कोषको सेयरमा भएको. चालिसे सुनाउँछन्। ‘मैले नागरिक लगानी कोषको सेयर २२०० तिरेर किनेको थिएँ, अहिले मनग्य नाफा छ’, उनले भने, ‘हिमालयन डिस्टिलरीको सेयरमा पनि राम्रै नाफा भएको छ।’

सेयर बजारको अनुभव सुनाउँदै गर्दा चालिसेले कारोबारमा भने निकै समस्या भोग्नुपरेको तीतो अनुभव पनि सुनाए। टीएमएस चलाउन कोल्याट्रलका लागि चेक डिपोजिट गर्नैपर्ने र चेकमा औँठाछाप बैंकले सहज रुपमा नमान्ने तथा चिनेका मान्छे लिएर जानुपर्नेजस्ता झन्झट रहेको उनले गुनासो गरे। ‘मोबाइल बैकिङ र एटीएम कार्ड लिन पनि समस्या छ’, उनले भने। 

चालिसेले सेयरबाट कमाएको केही पैसाले घर खर्च चलाउने गरेको र बाँकी पैसा सेयरमै लगाउने गरेको बताए। 

न्यून दृष्टिविहीन अर्का लगानीकर्ता पर्वतराज बिष्टको कथा पनि कम रोचक छैन। उनी सेयर बजारमा लागेको ३ वर्षजति भयो। उनले भने, ‘सेयर बजार उतारचढावका समाचार हेर्दा र पढ्दा म पनि आकर्षित भएँ।’

‘सेयर कारोबार कसरी गर्ने होला भनेर सोच्थेँ’, बिष्टले भने, ‘सुरुमा साथीभाइले आईपीओ भर्न लगाए। त्यतिखेर शिवम् सिमेन्टमको आईपीओ प्रिमियममा खुलेको थियो। त्यसमा भरेपछि फाइदै भयो, ४८० रुपैयाँमा बेचेँ।’

त्यसपछि बिष्ट थप उत्सुक हुँदै दोस्रो बजारमा पसेका रहेछन्। ‘एक दिन जमलको सनी सेक्युरिटिजमा गएँ र खाता खेलेपछि फोनबाटै कारोबार सुरु गरेँ’, उनले भने, ‘सुरुमा ग्लोबल आईएमई बैंकको सेयर किने पनि फाइदा भएन।’

त्यसपछि सेयर बजारबारे अध्ययन सुरु गरेको बिष्ट बताउँछन्। ‘युट्युब हेरेर सिक्न थालेँ, त्यसपछि थाहा भयो कम्पनीको ब्यालेन्स सिट हेर्नुपर्ने रहेछ भनेर’, उनले भने, ‘केही सिकेपछि नबिल र एनआईसी एसियाको सेयर किनेँ।’

सेयर किन्दा बजारको टे«न्ड र लगानीकर्ताको मेन्टालिटी बुझ्नुपर्ने बिष्टको अनुभव छ। ‘सेयर बजारको ट्रेन्ड बुझ्न थालेपछि अहिले त म आफूलाई बजारको राम्रै खेलाडी नै हो भन्नेजस्तो लाग्न थालेको छ’, उनले भने। 

बिष्टले माइक्रोफाइनान्स, लाइफ र ननलाइफ इन्स्योरेन्सका सेयर किनबेच गर्न थालेपछि निकै फाइदा भइरहेको बताए। ‘अहिले म सेयर बाजारबाट निकै सन्तुष्ट छु’, उनले भने। 

बिष्टले अहिले संस्थागत रुपमा कम्पनी नै खोलेर पनि लगानी गरिरहेका रहेछन्। 

 

पूर्णदृष्टिविहीन सुजाता लिम्बू पनि सेयर बजारमा सक्रिय छिन्। अघिल्लो लकडाउनबाट सेयर बजार प्रवेश गरेकी सुजाताले हाल प्रथामिक बजारमा मात्रै लगानी गरेको बताइन्। उनले डिम्यट खाता खेलेर बाजारमा आउन साथीभाइले नै सहयोग गरेका रहेछन्। निफ्रा र ग्रीनलाइफ हाइड्रोको सेयर परेपछि उनी निकै उत्साहित छन्। ‘आगामी दिनमा बुझेर दोस्रो बजारमा प्रवेश गर्ने सोचमा छु’, उनले भनिन्। 

सुजाताले पनि मोबाइल बैंकिङ, एटीएम कार्ड र कनेक्ट आईपीएस पाउन निकै समस्या रहेको गुनासो गरिन्। पैसा निकाल्न बैंकमै लाइन बस्नुपर्ने भएकोले परिवारका एकजना सदस्य लिएर जानुपर्ने बाध्यता रहेको उनले बताइन्।