– अर्जुन तिमिल्सिना
काठमाण्डौ। लामो समयपछि आज सेयर बजारले फेरि एकपटक ऐतिहासिक उचाइ कायम गरेको छ।
आज बजार यसअघिको अलटाइम हाई रेकर्ड ब्रेक गर्दै २७३८.२९ को विन्दु चुमेको हो। यसअघि गत अप्रिल १५ मा नेप्सेले २७३५.४ विन्दु चुमेको थियो। जुन हालसम्मकै उच्च थियो। आज कारोबार रकम पनि लामो समयपछि १० अर्ब रुपैयाँभन्दा बढी भएको छ।
बजारले नयाँ उचाइ चुम्दा र कारोबार रकमसमेत बढेर १० अर्ब नाघ्दा लागानीकर्ता उत्साह देखिएको छ। निषेधाज्ञाका कारण घरबाटै कारोबार गरिरहेका लगानीकर्ताहरुले आजको ऐतिहासिक दिनमा सामाजिक सञ्जालमै खुसी साटासाट र बधाइ आदानप्रदान गरेका छन्।
सक्रिय लगानीकर्ता राजु पौडेलले आफ्नो फेसबुक स्ट्याटसमा लगानीकर्तालाई बधाइ दिँदै लेखेका छन्, ‘अब आगामी दिनमा बजारले नयाँ उचाइ बनाउँदै जानेछ। यसरी बजार बढ्नुको मुख्य कारण रजनीतिक स्थिरता कायम हुनु नै हो।’
पौडेलको स्ट्याटसमा जबाफ दिँदै मनीष गौतमले लेखेका छन्, ‘अब बजार बढ्या–बढ्यै हो, केही दिनमै ३००० को विन्दुमा पुग्नेछ। अब बजार घट्ने कुनै आधार छैन।’
सामाजिक सञ्जालमै लगानीकर्ता महेश कुँवर लेख्छन्, ‘राजनीतिक स्थिरता, कोभिडले अन्य क्षेत्रमा लगानी संकुचन र अनलाइनको पहँुचले बजारमा उछाल आएको हो।’
त्यसैगरी सरोजकुमार ढकाल लेख्छन्, ‘बजार बढ्ने मुख्य आधार सम्हालिँदो राजनीतिक अवस्था, बैंकहरुको घट्दो बेस रेट, लगानीमैत्री बजेट आउन सक्ने आशा, कोभिड–१९ को घट्दो संक्रमण र लगानीकर्ताको उच्च मनोबल नै प्रमुख हो।’
लगानीकर्ता पुरुषोत्तम घोरासैनीले भने अर्थमन्त्री पौडेलकै निरन्तरताले बजार बढेको दाबी गर्छन्। लगानीकर्ता रामचन्द्र भट्टको विचारमा ‘लगानीकर्ताको उच्च मनोबल, अनलाइन प्रविधि तथा राजनीतिक स्थिरताका कारण बजार बढेको हो।
सामाजिक सञ्जालमा राजेन्द्र महर्जन र चन्द्र पाण्डेको विचार पनि समान देखियो। उनीहरुले लेखेका छन्, ‘राजनीकि स्थिरतासँगै लगानीकर्ताको मनबोल बढेकोमा बजार बढेको हो।’
सुशील पराजुली र वासुदेव पराजुलीको विचारमा ‘घट्दो ब्याजदर, लगानीका अन्य क्षेत्र संकुचन, राजनीतिक माहोल, बैंक मर्जरले सेयर आपूर्ति घट्न जाँदा बजार बढ्न पुगेको हो। सन्तोष केसी र सञ्जीवमान सिंह लेख्नछन्, ‘बजार घटबढ सामान्य नै हो, अब छिटै ३००० पुग्छ।’
त्यसैगरी शारदा पराजुली र लक्ष्मण बिष्टको विचारमा बजार बढ्नुमा राजनीतिक स्थिरता र लगानीकर्ताको मनोबल नै प्रमुख कारण हुन्। लगानीकर्ता दीपक आर्चाय लेख्छन्, ‘बजारमा लगानीकर्ता लामो समय पर्ख र हेरको अवस्थामा छन्। अन्य लगानीका क्षेत्र नहुँदा बजार केही समय बढ्छ भन्ने मनोविज्ञानका कारणले बजार बढ्न पुगेको हो।’
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago