– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा नयाँ–नयाँ कीर्तिमान कायम भइरहेकै बेला नियामक निकायहरुबाट आउने वक्तव्यबाजीले लगानीकर्ताहरु अन्यौलमा पर्दै आएका छन्। 

केही दिनअघि नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन र नेपाल धितोपत्र बोर्डले निष्कासन गरेको विज्ञप्तिले लगानीकर्ताहरु द्विविधिमा परेका छन्। दुवै निकायले बढ्दो बजारलाई सन्तुलित पार्न र लगानीकर्ताको लगानी सुरक्षित गर्न यस्तो कदम चालिएको हुन सक्ने भनिए पनि आमलगानीकर्ता भने सशंकित हुँदै आएका छन्। 

बुलिस बजारमा सन्तुलन कायम राख्न र विकृति रोक्न नियामक निकायबाट उचित कदम चाल्नु आवश्यक हुन्छ। तर त्यसका लागि सरोकारवालासँग छलफल गरी निचोडमा पुग्नुपर्नेमा एकाएक यस्ता कदम चालिँदा बजारमा ठूलै हलचल नै हुने गरेको छ। 

त्यसो त सेयर बजारमा सधैँ जोखिम हुन्छ। लगानी जहिले पनि ‘रिस्क रिवार्ड’ सिद्धान्तमा गरिनुपर्छ। आफूले कति जोखिम लिएर कति नाफा कमाउने भन्ने विषय स्वयं लगानीकर्तामै भर पर्ने विषय हो। आज हामीले प्राविधिक तथा अधारभूत रुपमा कामना सेवा विकास बैंकको वित्तीय तथा रेखाचित्रका माध्यमबाट अध्ययन गर्ने कोसिस गरेका छौँ। 

आधारभूत पक्ष

नेपालका १२ वटा विकास बैंकमध्ये कामना सेवा पनि एउटा हो। यो बैंकको राजधानीमा २० वटा र राजधानीबाहिर १०४ वटा शाखा छन्। बैंकिङ सेवा लकर र रेमिटेन्सलाई पनि आम्दानीको स्रोत बनाएको यो बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५८ करोड ६१ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। सेयरपुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७७ करोड ६८ लाख रुपैयाँ रहेको छ। 

रिर्टन अन अर्निङमा ३९ करोड ९२ लाख रहेको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २९.४७ रुपैयाँ र नेटवर्थ १४४.३५ रुपैयाँ रहेको छ। निष्क्रिय कर्जा अघिल्लो वर्षको तुलनामा १.३७ बाट घटाएर १ प्रतिशत झार्न सफल बैंकको सेयरपँुजी अनुपात सर्वसाधरणको ४९ प्रतिशत र संस्थापकको ५१ प्रतिशत रहेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा दोब्बरले वृद्धि भएको छ। 

प्राविधिक पक्ष 

इलिअट वेभ सिद्धान्तका आधारमा

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजारमा सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्।  

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ। यो कम्पनीले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर अघिल्लो असार १५ देखि हालसम्मको रेखाचित्रलाई हेर्दा हाल इन्टरमिडियट डिग्रीको वेभ (५) तथा माइनर डिग्रीको पनि वेभ ५ सकिएर केही समय ए, बी र सी चल्दै गरेको अनुमान लगाउन सकिन्छ। 

इलिअट वेभअन्तर्गत विश्लेषण गर्दा हाल ५८० रुपैयाँमा चलेको यो बैंकको सेयरमूल्य ५५० रुपैयाँमा वेभ ए पूरा गरी ६०० रुपैयाँमा वेभ बी बनाउन तथा पुनः करेक्सन भएर वेभ सीका लागि लगभग ५०० रुपैयाँसम्म आउन सक्छ। यसरी इलिअट वेभको एउटा इन्टरमिडियट डिग्रीको एउटा चक्र पूरा गरी पुनः नयाँ चक्रको सुरुआत हुन सक्ने अनुमान गर्न सकिन्छ। (तस्बिर माथि) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो औजारअन्तर्गत आगामी दिनमा यदि यो बैंकको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवा ५९० रुपैयाँमा, ०.३८ प्रतिशतको टेवा ५४४ रुपैयाँमा, ०.५ प्रतिशतको टेवा ५०८ रुपैयाँमा र ०.६१ प्रतिशतको  टेवा ४७५ रुपैयाँसम्ममा आउन सक्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुईवटा लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने एमएसीडी लाइन र सिग्नल लाइन नजिक–नजिक भएका छन् (हेर्नुहोस् रातो एरो)। यसले निकट भविष्यमा बियरिस क्रसओभर हुन सक्ने अनुमान लगाउन सकिन्छ। हिस्टोग्रामहरु पोजेटिभ छन् तर छोटा–छोटा भएकोले एमएसीडी लाइन र सिग्नल लाइन नजिक–नजिक हुँदै गएको बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो बैंकको मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छोएको तथा सेयरको अन्तिम कारोबारको मैनबत्ती लामो र रातो क्यान्डल बन्दै बिक्री चाप भएको देखिन्छ। मूल्यरेखा अप्पर ब्यान्डमै चलेकोले केही समय ‘पर्ख र हेर’को रणनीति उत्तम हुन सक्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन छुट्याइन्छ। यो बैंकको हालको आरएसआई ६८.४६ विन्दुमा रहेको छ। जसको अर्थ हुन्छ, ओभर बट जोनमा छ। अघिल्लोपटक यो विन्दु ८६.०७ को तहमा पुगेपछि करेक्सन आएको थियो।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– ६०४

प्रतिराध २– ६२८

प्रतिराध ३– ६७९

पिभट पोइन्ट :  ५७७

घटेमा सर्पोट 

सपोर्ट १ – ५५३

सर्पोट २– ५२६

सर्पोट ३– ४७५

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।