– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साताको अन्तिम कारोबार दिन बिहीबार बजार झन्डै २४ अंकले बढेको छ। लगातार घटेको बजारमा बिहीबारको बढाइले अब असार मसान्तको प्रभाव करिब–करिब सकिएको विश्लेषकहरुले बताइरहेको बेला आगामी साता झनै महत्वपूर्ण हुन सक्छ। 

यो आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरुआत भएकोले बैंक तथा वित्तीय क्षेत्रको ढुकुटीमा के–कति तरलता छ र ब्याजदर के होला ? भन्नेजस्ता विषय महत्वपूर्ण हुन सक्छन्। हामीले यहाँ लगानीकर्ताले ध्यान दिनुपर्ने विषय समेट्ने कोसिस गरेका छौँ। 

सर्वोच्च अदालतबाट आउन सक्ने आदेश र प्रभाव 

अघिल्लो साता र यो साता घनिभूत रुपमा भएको बहसपछि अब आउँदो साताभित्र सर्वोच्च अदालतबाट केही आदेश आउन सक्छ। तर, यसले सेयर बजारलाई ठूलो प्रभाव नपार्ने बजार जानकारहरु बताउँछन्। त्यसैले लगानीकर्ताले खासै चिन्ता लिनु नपर्ने उनीहरुको तर्क छ। यदि अप्रत्याशित परिणाम आए बजारमा केही दिन सामान्य प्रभाव पर्न सक्छ। किनकि सेयर बजारमा राजनीतिले सामान्यमात्रै प्रभाव पार्न सक्छ।

मौद्रिक नीति 

आगामी साता साउन १ गते शुक्रबार परेकोले सम्भवतः नेपाल राष्ट्र बैंकले यही दिन पनि मौद्रिक नीति ल्याउन सक्छ। यसले बजारलाई कस्तो असर पर्ला भनेर अहिले सबैले गर्ने भनेको अनुमानमात्रै हो। तर, राष्ट्र बैंकले बजारमा अस्थिरता पैदा हुने गरी कुनै पनि नीति तथा नियम ल्याउन सक्दैन। किनकि बाहिरी जनजीवन अझै सामान्य भइसकेको छैन। बजारबाट पैसा अन्य क्षेत्रमा नगइसकेकोले पनि सेयर बजार चलयमान नै हुन्छ। सरकारलाई अहिले सबैभन्दा धेरै राजस्व सेयर बजारबाटै प्राप्त भइरहेकोले यो क्षेत्र चलायमान नै बनाउन सक्छ।

नयाँ पुँजीगत लाभकरको व्यवस्था 

साउन १ बाट अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशतले पुँजीगत लाभकर तिर्नुपर्ने हुनाले केही अल्पकालीन लगानीकर्ताले आउने साता नाफा बुक गर्न पनि सक्छन्। किनकि यो महिनासम्म ५ प्रतिशत पुँजीगत लाभकर तिरे पुग्छ। यसको प्रभाव के–कस्तो पर्छ, त्यो हेर्न आवश्यक छ। पुँजीगत लाभकरकै कारण ठूलो सेलिङ प्रेसर नआउन पनि सक्छ।

तरलताको अवस्था र ब्याजदर 

असार वर्षको अन्तिम महिना भएकोले बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अवस्था कस्तो रहन्छ र ब्याजदर तथा आधार दरमा केही परिवर्तन हुन सक्ला वा नहोला, त्यो लगानीकर्ताले चनाखो भएर बुझ्न र अध्ययन गर्न आवश्यक छ। 

नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम 

आगामी साता नेपाल धितोपत्र बोर्डले आफ्नो नीति तथा कार्यक्रम पनि ल्याउन लागेको छ। बोर्डले पहिल्यै ल्याएको ४ वर्षे रणनीतिक योजनाअन्तर्गतकै कार्यक्रम नै आउने भनेको छ। तर, अहिले धितोपत्र बोर्डलाई चौतर्फी दबाब भएकोले कुनै बोल्ड डिसिजन पनि नीति तथा कार्यक्रमबाटै हुन सक्छ। त्यसैले लगानीकर्ता चनाखो हुन आवश्यक छ।

सेयर खरिदको रणनीति 

लगातार बजार घटेकोले कुन सेक्टर र कम्पनीको सेयरभाउ बढी घट्यो तथा अब कुन सेक्टरमा लगानीकर्ताको आकर्षण होला ? र कुन सेक्टरबाट निस्कने ? बिदाको समयमा पर्याप्त अध्ययन गर्नुहोस्। अनिमात्रै बजार पस्ने वा निस्कने योजना तथा रणनीति तय गर्नुहोस्।