काठमाण्डौ । चालु आर्थिक वर्षसँगै धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। 

आज बजार ११.३३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८८३.३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.०२ अंकले बढेर ५४१.४० को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर सवा ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेपाल स्टक हाउसका अधिकारी ईश्वरी रिमाल आज बढाइले बजार सकारात्मक नै रहेको भन्ने पुष्टि गरेको बताउँछन्। यद्यपि मौद्रिक नीति आएपछि मात्रै बजार कुन बाटो लिन्छ भन्ने यकिन गर्न सकिने उनको भनाइ छ। 

मौद्रिक नीति राम्रो आयो भने बजारले पनि गति लिने रिमाल बताउँछन्। ‘तर मौद्रिक नीति बजारअनुकूल नै आउने सम्भावना छ’, उनले भने।

सक्रिय लगानीकर्ता रोहन कार्की आजको बढाइले अब बजारमा करेक्सन र साइडवेज सकिएको संकेत गरेको बताउँछन्। ‘नयाँ अर्थमन्त्रीको सेयर बजारप्रतिको सकारात्मक विचार आएकाले पनि बजार बढेको हो’, उनले भने। 

पर्ख र हेरको रणनीतिमा बसेका ठूला र संस्थागत लगानी पनि प्रवेश गर्न थालेको बजार सकारात्मक बनेको कार्की बताउँछन्। ‘मौद्रिक नीति सेयर बजारमैत्री नै आउने संकेत लगानीकर्ताले पाएका छन्’, उनले भने, ‘त्यही भएर चालु आर्थिक वर्षको अन्त्य सुखद् बनेको छ।’

आगामी दिनमा बजारले गति लिने सम्भावना रहेको पनि कार्की बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक २.३९ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह १.९८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.३५ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२६ प्रतिशत र व्यापार समूहमा ०.७८ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.४३ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.४५ प्रतिशतले घटेको आज विकास बैंक समूहमा ०.३३ प्रतिशत, लगानी समूहमा ०.०१ प्रतिशत, जीवन बीमा समूहमा ०.२५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ०.१० प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२.१९ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक ३६ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ३३ करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको आज मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरको २३ करोड ४६ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको २३ करोड ४३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २० करोड २ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १६ करोड १९ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १५ करोड ८४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ३५ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ५५ लाख रुपैयाँ र अरुण काबेली पावरको १३ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ङादी ग्रुप पावरका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज सिभिल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।