– अर्जुन तिमिल्सिना

काठमाण्डौ । निरन्तर बढेको बजारमा यो साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य करेक्सन आयो। अन्तिम दिन करेक्सन आए पनि समग्रमा यो साताभरि बजार ३१ अंकबराबरले बढ्यो भने ६३ अर्ब ६१ करोड रुपैयाँबराबर कारोबार भएको छ। यो हिसाबले दैनिक औसत १३ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। 

योे साता पनि कोरोबार तथा भोलुम दुवैले बजारलाई साथ दिएको देखिन्छ। खासगरी लगानीकर्ताहरु अहिले मौद्रिक नीति तथा विद्युत प्राधिकरणमा हुन लागेको नियुक्तिलाई निकै चासोका साथ हेरिरहेका छन्। 

बजारमा लघुवित्तको स्प्रिेड दर ६.५ प्रतिशतमा ल्याउने चर्चा पनि उत्तिकै छ। केही दिनअगाडि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ समितिमा लघुवित्तमा नाफा बढी भएको बताएका थिए। यसले लघुवित्तमा केही समय दबाब पर्न सक्ने बजार जानकारीहरु बताउँछन्। 

विगतमा पनि राष्ट्र बैंकले लघुवित्तलाई नियन्त्रण गर्न कसिलो नीति नै लिएको थियो। पूर्वगभर्नर चिरञ्जीवी नेपालले पनि लघुवित्तको सेयरमूल्य र नाफामाथि प्रश्न उठाएका थिए। पटक–पटक राष्ट्र बैंकले लघुवित्तलाई च्याप्न थालेपछि लगानीकर्ता केही दिनयता जलविद्युततिर आकर्षित भएका छन्। फलस्वरुप हिजो जलविद्युतमा नाफा बुक गर्दा करेक्सन आयो। 

लाभांशको सिजन सुरु भएकोले बजारमा ठूलो गिरावट नआउने बजार जानकारहरु तर्क छ। यद्यपि अब बजार पस्दा आधारभूत रुपमा निकै राम्रा र बलिया कम्पनीमा लाभांश खाने गरीमात्रै पस्नुपर्छ। किनकि सेयर बजार १ वर्षमै १५० प्रतिशतसम्म बढेको हामीले भुल्न हुन्न। हरेक सेक्टरमा बलिया कम्पनी हुन्छन्। त्यस्ता कम्पनीका सेयर लगानीकर्ताले छानेर किन्नु सक्नुपर्छ।

सेयर खरिद गर्दा यी विषयमा अवश्य ध्यान दिनुहोस्– 

सानो पुँजीबाट लगानी सुरु गर्नुहोस् 

सेयर बजारमा कहिलै पनि सबै पैसा एकैपल्ट लगाउनु हुन्न। बजारको गति तथा चाल हेरेरमात्र थोरै–थोरै लगानी गर्दै जानु नै उपयुक्त हुन्छ। जसरी किराना पसलमा दैनिक खरिददारी गर्दा उपयुक्त हुन्छ, त्यसरी नै सेयर बजारमा लगानी गर्दा उपयुक्त हुन्छ। यसरी लगानी गर्दा बजार घटे पनि घाटा कम हुन्छ।

स्टप लस र नाफा बुकको लक्ष्य 

कुनै पनि कम्पनीको सेयरमा आफूले गर्ने लगानी अल्पकालीन हो वा दीर्घकालीन हो ? छुट्याउनुहोस्। अनि सेयर खरिदभन्दा पहिले नै कति घटेमा स्टप लस र कति बढेमा नाफा बुक गर्ने भनेर निक्र्यौल गर्नुहोस्। 

आधारभूत तथा प्राविधिक ज्ञान

सेयेर बजारमा आधारभूत तथा प्राविधिक ज्ञान दुवै आवश्यक हुन्छ। आधारभूत ज्ञानले कम्पनीको वित्तीय अवस्था जानकारी गराउँछ भने प्राविधिक ज्ञानले सेयरको मूल्य कुन समयमा खरिद तथा बिक्री गर्ने अनुमान लगाउन सकिन्छ। त्यसैले लगानीकर्ताले आधारभूत र प्राविधिक ज्ञानमा जोड दिनुपर्छ।

लगानी विविधीकरण 

आफूसँग भएको पैसा एउटै स्क्रिप्टमा भन्दा पनि विभिन्न स्क्रिप्टमा लगानी गर्दा कुनैबाट घाटा भए पनि कुनैबाट फाइदा हुन्छ। बढ्दो बजारमा यस विषयमा लगानीकर्ता विशेष सचेत हुन जरुरी छ।