काठमाण्डौ । सेयर बजारमा भित्रिरहेको कालोधनको खोजीका लागि सरकारी निकाय सक्रिय भएपछिको असर बजारमा पर्दा साताको पहिलो दिन आइतबार नेप्सेका अधिकांश समूहको परिसूचकमा रातो पोतियो । 

जलविद्युत र अन्य समूहमा मात्र बढोत्तरी हुँदा समग्र नेप्से परिसूचक १५.१७ अंकले करेक्सन हुँदै १८६२.७६ अंकमा झरेको छ । 

गत साताको अन्तिम कारोबारको दिन समेत बजार करेक्सन भएको थियो । यो साताको पहिलो कारोबार दिन समेत गत साताको अन्तिम दिनको ट्रेण्डलाई नै बजारले पछ्याएको हो । 

अरुबेला बजारलाई लगातार उचालिरहेका बैंक तथा बित्तीय संस्थाको सूचकमा समेत आइतबार रातो पोतिएको छ । वाणिज्य बैंक समूह२०.९३ अंकले तल झरेको छ भने विकास बैंक र बित्त समूहमा क्रमशः ०.३९ र ११.९२ अंकको गिरावट देखिएको छ। 

बिमा समूह पनि ४५.३७ अंकले ओरालो लागेको छ । सबैभन्दा बढी होटल समूह ९५.९६ अंकले घटेको छ भने ओरालो यात्रामा यो समूहलाई उत्पादनमूलक समूहले पछ्याएको छ। उत्पादनमूलक ३६.८९ अंकले तल झर्यो ।

आइतबार जलविद्युत समूहमा २३.५८ र अन्य समूहमा १.१५ अंकको बढोत्तरी देखियो । सेन्सेटिभ इण्डेक्स ३.४९ र फ्लोट इण्डेक्स १.२९ अंकले ओर्लिएको छ । 

आइतबार गत कारोबार रकम पनि २ अर्ब तल झरेको छ । १ सय ४१ कम्पनीको कुल ३५ लाख ९४ हजार ६ सय १९ कित्ता सेयर १ अर्ब ७५ करोड ५० लाख रुपैयाँमा किनबेच भयो । 

धेरै कारोबार गर्नेहरु
नाफा र समग्र कम्पनीको बित्तीय अवस्थामा राम्रो सुधार गरेको नेपाल बैंक लिमीटेडमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो कम्पनीको मात्रै १४ करोड ८४ लाखको सेयर कारोबार भयो । यसैगरी, देशकै सबैभन्दा ठूलो विकास बैंक कैलाश विकास बैंकको सेयरमा समेत आकर्षण देखिएको छ । यो बैंकले आइतबार ८ करोड ५ लाख रुपैयाँको कारोबार गर्यो । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले ६ करोड ६६ लाख, सिद्धार्थ बैंकले ६ करोड ५७ लाख, प्राइम कमर्सियल बैंकले ६ करोड १९ लाखको कारोबार गरे । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६ करोड ७ लाख कारोबार गरी आइतबारको धेरै कारोबार गर्ने उत्कृष्ट १० कम्पनीको सूचिमा पर्न सफल भएको छ भने नेपाल बंगलादेश बैंकले पनि ५ करोड ९३ लाख बढीको कारोबार गरेको छ । 

सनराइज बैंकको ५ करोड १ लाख, सेञ्चुरी कमर्सियल बैंकको ४ करोड ९५ लाख र बुटवल पावर कम्पनी लिमीटेडको ४ करोड ८१ लाखको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

धेरै कमाउनेहरु
आइतबार सबैभन्दा धेरै माउण्ट मकालु डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेको छ । यो कम्पनीको सेयर मूल्यमा ९.९६ प्रतिशतको बढोत्तरी देखियो । यसैगरी, आइतबार धेरै कमाउने कम्पनीहरुमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ललितपुर फाइनान्स, किसान माइक्रो फाइनान्स बित्तीय संस्था, काबेली विकास बैंक, एनआइडीसी क्यापिटल मार्केट्स, बुटवल पावर कम्पनी लिमीटेड, राप्तिभेरी विकास बैंक, जानकी फाइनान्स र कैलाश विकास बैंक रहेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा ४.३१ देखि ९.९६ प्रतिशतसम्मको बढोत्तरी भयो । 

धेरै गुमाउनेहरु
आइतबार सबैभन्दा बढी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतले घट्यो । यसैगरी, आइतबार धेरै गुमाउने कम्पनीहरुको सूचिमा सिनर्जी फाइनान्स, तारागाउँ रिजेन्सी होटेल, सोल्टी होटल, रिलायन्स लोटस फाइनान्स, काष्ठमण्डप डेभलपमेन्ट बैंक, देव विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक र सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम रहेका छन् । यी कम्पनीको सेयर मूल्यमा ४.२४ देखि ७ प्रतिशतसम्म गिरावट देखिएको नेप्सेले जनाएको छ ।