काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ।

मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले एक बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँबराबरको मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्थाकै कारण आज बजार ओरालो लागेको जानकारहरु बताउँछन्। आज बजार २४.८८ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक ३१५४.०३ विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९ अंकले घटेर ५८९.२८ को विन्दुमा ओर्लेको छ। 

आज बजारमा भने उच्च कारोबारको कीर्तिमान बनेको छ। यो दिन साढे २१ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। योसँगै यसअघि गत जुन १३ मा बनेको हालसम्म उच्च कारोबार १९.५५ अर्ब रुपैयाँको रेकर्ड पनि ब्रेक भएको छ। 

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला बजार आज घट्नुको मुख्य कारण मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा तोकिनु नै रहेको बताउँछन्। ‘आज समाचारको प्रभाव पनि परेको देखिन्छ, त्यसैले सुरुआती चरणमा ह्वात्तै घटेको बजार पुनः अन्तिम समयमा थोरै अंकले घट्यो’, उनले भने।

अब बजारको केही दिनको अवस्था हेरेर अर्थ मन्त्रालयले राम्रो निर्णय लिन सक्ने भएकोले बजार पुनः लयमा फर्किने बास्तोलाको भनाइ छ। ‘त्यसैले अब केही दिनको कारोबार हेर्न आवश्यक हुन्छ, त्यसपछि मात्र बजार कता जान्छ भने भन्न सकिन्छ’, उनले भने।

बजार जानकार गोविन्दप्रसाद घिमिरे आजको बजार घटाइलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘मौद्रिक नीतिमा आएको सेयर धितो कर्जाको सीमाले लगानीकर्ता दोधारमा परेको देखिन्छ’, उनले भने, ‘तर बजार २०–२५ अंकले घट्नुलाई सामान्य रुपमा लिनुपर्छ।’

सेयर धितो कर्जाको सीमाले संस्थागत लगानीकर्तालाई असर परेको घिमिरेको भनाइ छ। ‘साना लगानीकर्तालाई यसले प्रभाव पार्दैन’, उनले भने, ‘तर घट्दो बजारमा उच्च कारोबार हुनु डरलाग्दो हो।’

लाभांश खाने बेला भएकोले राम्रो र बलिया कम्पनीमा लगानीकर्ता झुम्मिन सक्ने घिमिरेको भनाइ छ। ‘मौद्रिक नीतिमा सुधार नगरिए बजार प्रभावित हुन सक्छ’, उनले भने, ‘यसलाई सम्बन्धित निकायले सच्चाउनै पर्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.३५ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह २ प्रतिशतले बढेको आज लगानी समूहमा ०.५६ प्रतिशतको बढोत्तरी भएको छ।

आज जलविद्युत समूह सर्वाधिक ४.१३ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.८९ प्रतिशतले घटेको यो दिन विकास बैंक समूहमा २.७९ प्रतिशत, बैंकिङ समूहमा ०.३४ प्रतिशत, व्यापार समूहमा ०.९५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.७५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.५३ प्रतिशत, अन्य समूहमा १.९ प्रतिशत, जीवन बीमा समूहमा १.०५ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.७५ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५४.५० रुपैयाँमा किनबेच भएको छ। 

यो दिन नेपाल बैंकको सर्वाधिक १ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ७९ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको ७० करोड २७ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ५९ करोड ४७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५७ करोड ६० लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ५३ करोड ३२ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ४९ करोड ६५ लाख रुपैयाँ, अरुण काबेली पावरको ४७ करोड २७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ४३ करोड १ लाख रुपैयाँ र माथिल्लो तामाकोशी जलविद्युतको ४२ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। खानीखोला जलविद्युत, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा आईसीएफसी फाइनान्सको सेयरभाउमा १० प्रतिशत १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। मिर्मिरे लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यो दिन रिडी हाइड्रोपावर र श्री इन्भेस्टमेन्ट फाइनान्सका सेयरधनीले सर्वाधिक गुमाए। रिडी हाइड्रोपावरको सेयरभाउमा ९ प्रतिशतको हाराहारीमा र श्री इन्भेस्टमेन्टको सेयरमूल्यमा ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।