काठमाण्डौ । सेयर बजार एउटा यस्तो क्षेत्र हो, जहाँ लगानीकर्तालाई लाग्छ कि रातारात कमाइ हुन्छ। कयौँपटक यस्तो पनि हुन्छ कि केही घन्टामै सेयरबाट मनग्य नाफा हुन्छ। यसका बाबजुद लगानीकर्ताले सेयर बजारमा कारोबार गर्न त्यति सहज छैन भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ। 

सेयर बजारमा अनुशासन र धैर्यता आवश्यक हुन्छ । बजारमा लगानी गर्नुअघि राम्ररी कम्पनीहरुका आधारभूत पक्ष अध्ययन गर्नुपर्छ।यहाँ हामीले ७ वटा गोल्डेन टिप्स उल्लेख गरेका छन्। जसलाई ध्यानमा राख्न सकिए सेयर बजारबाट राम्रै कमाइ गर्न सकिन्छ।

आधारभूत पक्षको अध्ययन

सेयर बजारमा विशेषगरी २ किसिमका लगानीकर्ता हुन्छन्। एक किसिमका लगानीकर्ता लगानी गर्नुअघि आधारभूत पक्षलाई अध्ययन गर्छन्। अर्का किसिमका लगानीकर्ता हचुवाका भरमा लगानी गर्छन्। दुवैमा लगानी गर्नुअघि कम्पनीका सेयरमा फरक नजर रहेको हुन्छ। आधारभूत पक्षको अध्ययन गरेर लगानी गर्ने लगानीकर्ता विशेषगरी कम्पनीको अवस्थामा ध्यान दिन्छन्। उनीहरु सेयरमूल्यलाई महत्व दिँदैनन्। 

बजारमा जहिले पनि आधारभूत पक्ष अध्ययन गरेरमात्र लगानी गर्नु उचित हुन्छ। बजारबाट राम्रो कमाइ गर्ने यो एउटा महत्वपूर्ण पाटो हो। 

अरुको पछि नलाग्नुहोस्

सेयर खरिदबिक्रीका क्रममा कतिपय लगानीकर्ता अरुलाई पछ्याउने गरेका छन्। आफ्ना साथीभाइ, र इष्टमित्रको प्रभावमा परेर कतिपय लगानीकर्ताले सेयर खरिदबिक्री गर्छन्। यस्तो प्रभावबाट बच्न आवश्यक छ। यदि तपाइँ दीर्घकालीन लगानी गर्ने सोचमा हुनुहुन्छ भने अरुको भनेको आधारमा भन्दा पनि आफूले नै सोचविचार गरेर राम्रा कम्पनी छनोट गरी लगानी गर्नुपर्छ। 

हतारमा निर्णय नलिनुहोस्

सेयर बजारमा कहिले पनि हतारमा निर्णय लिनु हुन्न। सेयरको भाउ बढ्नुअघि नै किन्नु र घट्नुअघि नै तुरुन्त बेच्ने निर्णय लिँदा नोक्सानी हुन सक्छ । किनकि बजारमा सेयरभाउ घट्छ वा बढ्छ भनेर पहिल्यै अनुमान लगाउन मुस्किल हुन्छ। 

लगानीमा अनुशासन अतिआवश्यक

बजारमा अनुशासन अतिआवश्यक हुन्छ। बजारको इतिहास हेर्ने हो भने बुल मार्केटमा पनि अधिकांश लगानीकर्ता डराउँछन्। सेयर बजारमा भारी उतारचढावबीच कतिपय लगानी डुब्छन्। त्यसैले लगानीकर्ता अनुशासित भएर अगाडि बढ्न आवश्यक हुन्छ । यदि दीर्घकालीन कमाइको सोच राख्नुभएको छ भने सिस्टमेटिक अप्रोच हुन अतिआवश्यक छ। 

भावनामा काबु राख्नुहोस्

सेयर बजारमा भावनामा बगेर फैसला लिनु उचित हुँदैन । यदि सेयर खरिदबिक्री गर्दा भावनामा काबु राख्नुभएन भने ठूलो नोक्सानी हु्न सक्छ। जब बजार उकालो यात्रामा हुन्छ तब कतिपय लगानीकर्ता मनग्य कमाइ हुन्छ भन्दै अन्दाजमा जथाभावी लगानी गर्न थाल्छन्। यसले लगानी जोखिममा पर्न सक्छ। त्यसैले अन्दाजको भरमा लगानी गर्नुभन्दा पनि बजारको परिस्थिति र कम्पनीको अवस्था बुझेरमात्र लगानी गरे उचित प्रतिफल प्राप्त हुन सक्छ।

लक्ष्य निर्धारण गर्नुहोस्

सेयर बजारमा लगानी गर्नुअघि एउटा लक्ष्य निर्धारण गर्नुहोस्। कतिपय लगानीकर्तालाई आफूले गरेको लगानीबाट अवश्यक उचित प्रतिफल पाइने भन्ने लागेको हुन्छ । तर यदि तपाइँले अन्दाजको भरमा लक्ष्य निर्धारण गर्नु भएको छ भने लगानी डुब्न पनि सक्छ। किनकि सेयर बजारमा कहिल्यै पनि समान प्रतिफलको आशा गर्न सकिन्न।

बचतको पैसा लगाउनु उचित

प्रायः बजारमा कतिपय लगानीकर्ताले भारी कर्जा लिएर लगानी गरेको सुनिन्छ। तर नवप्रवेशी लगानीकर्ताले यसरी कर्जा लिएर सेयर लगानी गर्नुभन्दा पनि आफ्नो बचतको पैसा लगाउनु उचित हुन्छ। नयाँ लगानीकर्ताले आफ्नो खर्च र अन्य आवश्यक पूरा गरेपछि बच्ने पैसा सेयर लगाउन उचित हुन्छ। फेरि त्यस्तो लगानीबाट भएको नाफा पुनः बजारमा लगाउँदा आम्दानी बढ्दै जान सक्छ ।