– अर्जुन तिमिल्सिना

काठमाण्डौ । धितोपत्र बजारका नियामक निकायहरु नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) अहिले निष्क्रियजस्तै देखिएका छन्। 

सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा दुवै निकायका नेतृत्वहरु मुछिएपछि केही समययता सेबोन र नेप्से निष्क्रियजस्तै देखिएको छ। यही प्रकरणका कारण अनुसन्धानलाई सहज बनाउन भन्दै चन्द्रसिंह साउदले नेप्सेको सीईओ पदबाट हालै राजीनामा दिएका छन्। हाल नेप्से नेतृत्वविहीन बन्न पुगेको छ। 

यसैगरी जोखिमपूर्ण भन्दै ५१ वटा कम्पनीको नामावली सार्वजनिक गरेपछि तीव्र आलोचना खेपेको सेबोनका अध्यक्ष भीष्मराज ढुंगाना नै सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबार मुछिएपछि सेबोन पनि निष्क्रिय अवस्थामा पुगेको देखिन्छ। यही कारण सेबोनले अहिलेसम्म नीति तथा कार्यक्रम पनि ल्याउन नसकेको कर्मचारी स्रोत बताउँछन्। 

नियामक निकाय निष्क्रियप्रायः बन्दा हाल बजारमा विकृति बढ्दै गएको बजारमा फ्रन्टलाइनका रुपमा रहेका ब्रोकरहरु नै बताउँछन्। उनीहरुको भनाइलाई अहिले सामाजिक सञ्जाल र क्लब हाउसहरुको परिदृश्यले पुष्टि पनि गर्दै गइरहेको छ। 

सामाजिक सञ्जालमा केही लगानीकर्ताले बजार खुलिरहेकै अवस्थामा कम्पनीको नामै तोकेर ‘यो किन, यति मूल्यसम्म पुग्छ वा यो बेच’ भनेर सर्वसाधरणलाई दिग्भ्रमित पार्दै आएका धेरै उदाहरणहरु छन्। ‘केही ठूला लगानीकर्ताले टेलिभिजनमार्फत नामै तोकेर यो किन्नुहोस्, यति मूल्य पुग्छ भन्नु र कहिले क्लब हाउसलगायत अन्य सामाजिक सञ्जालको प्रयोग गरेर लगानीकर्ता उक्साउनुले नियामक निकायलाई ठाडै चुनौती दिइरहेका छन्’, बजार जानकार मेघनाथ निरौला भन्छन्, ‘यो सरासर गैरकानुनी हो।’ 

यसरी खुलेआम सार्वजनिक रुपमै केही लगानीकर्ताहरुले नामै तोकेर कुनै पनि कम्पनीको सेयर खरिदबिक्रीका लागि उस्काउनु समग्र पुँजी बजारका लागि जोखिमपूर्ण हुन सक्ने निरौलाको भनाइ छ। निरौलाले भने, ‘यो भनेको नियामक निकायलाई तह लगाइयो, अब सेयर बजार हामीले नै चलाउने हो भन्ने उनीहरुको सोच हावी हुँदै गएकोजस्तै हो ।’

एक ब्रोकर सञ्चालकले पनि हाल बजारमा विकृति बढ्दै गएको बताए। ‘आधारभूत रुपमा कमजोर केही कम्पनीका सेयरभाउ माथि उचालिनुले बजारमा विकृति बढ्दै गएको प्रस्ट हुन्छ’, ती सञ्चालकले भने, ‘बजारका केही खेलाडीले नियामक निकायलाई कुनै–कुनै हिसाबले हातमा लिन खोजेको देखिन्छ।’

क्लब हाउसमा रेसनल इन्भेस्टर नामक एक लगानीकर्ताले बजारलाई प्रभावित पार्ने गतिविधिहरु खुलेआम भइरहेकोमा आक्रोश पोखे। ‘साना र नयाँ लगानीकर्तालाई केही टाठाबाठा लगानीकर्ताले कम्पनीको नामै तोकेर किन्न उक्साउने अनि आफूले बेच्ने प्रवृत्ति हावी हुँदै गएको छ’, उनले भने, ‘यसले साना लगानीकर्ताको पैसा डुब्ने सम्भावना बढ्दै गइरहेको छ।’

क्लब हाउसमै एक साना लगानीकर्ताले केही विश्वास गरिएका ठूला लगानीकर्ताको पछि लागेर आफू संकटमा परेको गुनासो पोखे। 

क्लब हाउसमै सेयर बजारका काका भनेर परिचित केशव कोइरालाले यस किसिमका गतिविधि बढ्दै गए र नियामक चुप लागेर बसे भोलिका दिनमा सेयर बजारमा नसोचेको परिणाम आउन सक्ने चेतावनी दिए। 

विदेशमा रहेका एक नेपाली युवकले आफूहरुले विदेशमा दुःख गरेर कमाएको पैसा नेपालको सेयर बजारमा लगाएको तर अहिलेका अवस्थाले डुब्ने अवस्था सिर्जना भएको बताए। ती युवकले भने, ‘बजारमा विस्तारै विश्वासको वातावरण धमिलिँदै गएको छ। नियामकहरुले बेलैमा उचित कदम चाल्न आवश्यक छ।’