काठमाण्डौ । सेयर बजारमा लगातार आइरहेको गिरावटमा आज मंगलबार ब्रेक लागेको छ।
निकै उतारचढावबीच आज नेप्से परिसूचक १३.८३ अंकले उकालो लागेसँगै बजारमा लगातारको गिरावटमा ब्रेक लागेको हो। योसँगै नेप्से परिसूचक २७१२.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि २.३६ अंकले उकालो लागेर ५०८.६२ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि सवा ७ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आज बजार घट्न रोकिएकोले सकारात्मक रुपमै लिनुपर्ने बताउँछन्। ‘बजार विस्तारै परिपक्व हुँदै जाने देखिन्छ’, उनले भने, ‘त्यसैले लगानीकर्ताले अहिले नै धैर्यता गुमाउनुपर्ने खास कारण छैन। आत्तिएर खरिदबिक्री नगरौँ।’
ढकालले बजार हल्ला फैलिएजस्तो तरलतामा संकुचन नरहेको बताए। ‘बैंकको ब्याजदर पनि ह्वात्तै बढेको छैन, आधारदर पनि बढेको छैन’, उनले भने, ‘रेमिट्यान्स भित्रिने बेला छ, तरलता सहजै हुन्छ।’
लाभांश घोषणाको बेला भएकोले बजार अब अगाडि नै बढ्ने उनको भनाइ छ।
सक्रिय लगानीकर्ता पर्वत बिष्ट आजबाट बजार बाउन्सब्याक हुने देखिएको बताए। ‘अब बजार साइडवेज लिँदै माथि नै जाने सम्भावना पनि छ’, उनले भने, ‘बजार घट्न रोकिएको छ, यसको मुख्य कारण सेयर बेच्नेहरु पछि हटेकोजस्तो देखिन्छ।’
बजार सबै नकारात्मक पक्षलाई बेवास्ता गर्दै अगाडि बढ्ने सम्भावना छ। ‘आज कारोबार घट्नुको कारण बजार फर्किने संकेत पनि हो’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.३८ प्रतिशतले उकालो लागेको छ। लगानी समूह १.३७ प्रतिशतले बढेको आज जीवन बीमा समूहमा १.३३ प्रतिशत, बैंकिङ समूहमा ०.२ प्रतिशत, विकास बैंक समूहमा ०.५६ प्रतिशत, जलविद्युत समूहमा ०.७६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६ प्रतिशत, अन्य समूहमा ०.७९ प्रतिशत र लघुवित्त समूहमा ०.२८ प्रतिशतको बढोत्तरी भएको छ।
आज व्यापार समूह सर्वाधिक १.६१ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.७५ प्रतिशतले घटेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा ०.२९ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.०१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका १ करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अरुण भ्याली हाइड्रोपावरको सार्वधिक २५ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २० करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको आज निफ्राको २० करोड ४६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड १९ लाख रुपैयाँ, अपी पावरको १८ करोड ८ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ४० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ८७ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १५ करोड १७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड १० लाख रुपैयाँ र अरुण काबेली पावरको १५ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
आज एक्सेल डेभलपमेन्ट बैंक र जानकी फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19