काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।

आज बजार २६.४४ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २७१५.३५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनी ४.१० अंकले उकालो लागेर ५०६.५४ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले आजको बढाइलाई अब बजारको करेक्सन सकिएको संकेत गरेको बताए। ‘बजार हिजोबाटै सम्हालिएको थियो’, उनले भने।

राष्ट्र बैंकले ब्याजदरमा लगाएको क्यापले गर्दा लगानीकर्तामा बजारप्रति आत्मविश्वास बढेको पनि ढकाल बताउँछन्। बैंकहरुको सेयरभाउ अझै बढ्न बाँकी रहेकोले बजार अझै बढ्ने सम्भावना रहेको उनको भनाइ छ। 

कांग्रेस महाधिवेशनपछि तत्कालै स्थानीय चुनाव पनि हुने भएकोले यसले पनि बजारलाई सकारात्मक प्रभाव पार्ने ढकालको बुझाइ छ। ‘बजार तरलताको अभाव पक्कै देखिएको छ तर अब सरकारी खर्च बढ्ने र विदेशबाट आउने रेमिट्यान्स पनि बढ्ने भएकोले तरलतामा सहज हुँदै जाने देखिन्छ’, उनले भने। 

सबैतिर सकारात्मक महौल बन्दै गएकोले ‘रातपछिको उज्यालो’ भनेजस्तै सेयर बजारको भविष्य उज्ज्वल नै रहेको ढकाल बताउँछन्।

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने बजार धेरै घटेकोले बजार आज बढेको तर्क गर्छन्। केही सकारात्मक सूचनाले पनि लगानीकर्तामा विश्वासको वातावरण बढेको पनि न्यौपानेको भनाइ छ। 

अझै राष्ट्र बैंकको ४–१२ को क्याप र सीडी रेसियोमा परिमार्जन हुने आशा लगानीकर्तामा रहेको न्यौपाने बताउँछन्। यसो भएमा पनि बजारले नयाँ उचाइ लिने सम्भावना रहेको न्यौपानेले बताए। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक २.६३ प्रतिशतले उकालो लागेको छ। वित्त समूह २.३ प्रतशतले बढेको आज बैंकिङ समूहमा ०.०५ प्रतिशत, व्यापार समूहमा १.८३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.८१ प्रतिशत, जलविद्युत समूहमा १.६७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७१ प्रतिशत, अन्य समूहमा ०.९८ प्रतिशत, लघुवित्त समूहमा १.२१ प्रतिशत, जीवन बीमा समूहमा ०.७५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशत र लगानी समूहमा १.९६ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक ३५ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एचआईडीसीएलको २८ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको आज लुम्बिनी विकास बैंकको २३ करोड ७९ लाख रुपैयाँ, नबिल बैंकको १६ करोड १५ लाख रुपैयाँ, ज्योति विकास बैंकको १३ करोड ९२ लाख रुपैयाँ, अपी पावरको १३ करोड २९ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको १३ करोड २ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १२ करोड ६८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ५९ लाख रुपैयाँ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ११ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा तेह्रथुम पावर र मैलुंगखोला जलविद्युतको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। शिवश्री हाइड्रोपावरको सेयरभाउ पनि ८.७ प्रतिशतले उकालो लागेको छ।

यो दिन महालक्ष्मी विकास बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउमा ४ प्रतिशत बढीको गिरावट आएको छ।