– अर्जुन तिमिल्सिना
काठमाण्डौ । प्राविधिक रुपमा सेयर बजारलाई विश्लेषण गर्नुपर्दा यो साताको आइतबारको कारोबारमा मैनबत्ती विश्लेषणअन्तर्गत ह्याम्मर प्याट्रन बनाएको थियो। यो भनेको खरिदकर्ता हावी भएको भन्ने हो। यही कारण आज सोमबारको कारोबारमा हरियो मारुबुजु बनेको देखिन्छ। आज कारोबार तथा भोलुमले पनि बजारलाई साथ नै दिएको छ।
प्राविधिक तथा आधारभूत सबै औजारबाट बजार बलियो नै देखिन्छ। हिजोभन्दा आज कारोबार पनि बढेकोले बजारमा केही सकारात्मक नै संकेत रहेको बुझिन्छ।
प्राविधिक पक्ष
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
इलिअट वेभमा बजार विश्लेषण गर्दा विभिन्न विकल्पलाई हेरिन्छ र सबैभन्दा बढी सम्भावना भएको एउटा विकल्पलाई मुख्य आधार बनाएर हामीले पाठकसामु ल्याएका छौँ। यही आधारमा बजारको विश्लेषण गर्नुपर्दा इन्टरमिडियट डिग्रीको वेभ ५ लगभग ३२२२ सम्म पुगेर सकिएको सम्भावना प्रबल देखिन्छ। अघिल्लोपटकको करेक्सन लगभग २५०० को विन्दुमा इन्टरमिडियट डिग्रीको वेभ (४) सकिएको हुनुपर्छ। जसअन्तर्गत अहिले सोही डिग्रीको वेभ (५) चलेको सम्भावना प्रबल देखिन्छ। यो डिग्रीको भित्र पनि माइन डिग्री तथा मिनेट डिग्रीमार्फत बजारलाई नियाल्दा वेभ (i) लगभग २८८० र वेभ (ii) करेक्सन भएर २६६० र अब त्यहाँबाट वेभ (iii) लगभग पहिलाको रेकर्ड ब्रेक गरेर ३२०० सम्म पुग्न सक्छ। त्यहाँबाट फिबोनासीको ३८.२ प्रतिशतको करेन्सनले बजार लगभग ३०८० सम्म फेरि वेभ (iv) बनाउँदै बजार तल आउन सक्छ। पुनः वेभ (v) मा बजार लगभग ३७०० सम्म पुग्न सक्ने देखिन्छ। (मुख्य तस्बिर माथि)
एमएसीडी लाइन र आरएसआईका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनअन्तर्गत एमएसीडी लाइनले सिग्नल लाइनलाई क्रस गर्न खोजेको देखिन्छ तर बियरिस नै भइनसकेको अवस्था रहेको छ। हिस्टोग्राम सकारात्मक नै रहेका छन् तर केही घट्दै गएको देखिन्छ।

बोलिंगर ब्यान्ड र आरएसआईका आधारमा समूहगत विश्लेषण
बैंकिङ
बैंकिङ समूहको कारोबारले बनाएको रेखाचित्रमा यो साता इन्भर्टेड ह्याम्मर बनेको देखिन्छ तर बोलिंगर ब्यान्डको तल्लो विन्दुमा नबनेकोले अझै केही समय लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ। आरएसआई ३८ को विन्दुमा रहेको छ। यसले अझै केही करेक्सन हुन बाँकी देखिन्छ। यदी यस्तो विन्दु ३० भन्दा तल आउँछ भने ओभर सोल्ड जोननजिक रहेको र नयाँ अल्पकालीन लगानीकर्ता बजार पस्दा फेरि बजार माथि जाने गर्छ।

विकास बैंक
यो साता विकास बैंक समूहमा भने बोलिंगर ब्यान्डअन्तर्गत २ वटा कारोबारमा हरियो मारुबुजु क्यान्डल बनेको छ। यसले यो समूहमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। आरएसआई ५८ को जोनमा रहेको छ। यदि यो विन्दु ६० भन्दा माथि गएमा यो क्षेत्र बुलिस हुन सक्ने सम्भावना देखिन्छ।

जलविद्युत्
बोलिंगर ब्यान्डअन्तर्गत यो समूहमा मूल्यरेखा मध्यरेखाभन्दा माथि गएको छ। तर हरियो क्यान्डल बनेको छ। अझै एक कारोबार हरियो क्यान्डल बन्छ भने खरिद कन्फरमेसन भएको बुझिन्छ। आरएसआई ५३ को विन्दुमा रहेको छ। यदि यो विन्दु ६० भन्दा माथि जान्छ भने बुलिस यात्रा हुन सक्ने देखिन्छ।
 
लघुवित्त
लघुवित्त समूहमा बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखा मध्यरेखाभन्दा तल छ तर हरियो मारुबुजु क्यान्डल बनेको छ। एमएसीडीअन्तर्गत भने बियरिस क्रसओभर बनेको छ। हिस्टोग्राम नेगेटिभ बनेकोले केही करेक्सनको सम्भावना देखिन्छ।

जीवन बीमा
जीवन बीमा समूहमा बोलिंगर ब्यान्डअन्तगर्त मूल्यरेखा मध्यरेखाभन्दा तल बनेको छ तर हरियो क्यान्डल बनेकोले तल्लो ब्यान्डलाई छुन खोजेको देखिन्छ। यसमा पनि केही करेक्सनको सम्भावना देखिन्छ।

निर्जीवन बीमा
यो समूहमा मूल्यरेखा मध्यरेखाभन्दा माथि नै रहेको र हरियो मारुबुजु क्यान्डल बनेकोले र सेयर भोलुम पनि बढेकोले यो क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको र थप बढ्न सक्ने देखिन्छ।

वित्त
वित्त समूहमा बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखा मध्यरेखाभन्दा माथि नै रहेको र २ वटा हरियो क्यान्डल रहेकोले अझै खरिदचाप पर्न सक्ने देखिन्छ।

अन्य
यो समूहमा बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखा मध्यरेखाभन्दा माथि नै रहेको छ र हरियो मारुबुुजु क्याण्डल बनेको छ। यसले खरिदकर्ता हावी भएको देखिन्छ। एमएसीडीअन्तर्गत बियरिस क्रसओभर हुन लागेको र हिस्टोग्राम नेगेटिभ भएका भएका छन्। आरएसआई न्युट्रल जोनमा रहेको छ। यसले लगानीकर्ता पर्ख र हेरको अवस्थामा भएको बुझिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19