►राजु पौडेल

अहिले सेयर बजारमा प्रत्येक दिनजसो गिरावट आइरहेको छ । धेरै लगानीकर्ताहरु सेयर बजार बढ्ने समयमा समेत घटेको देखेर अत्तालिएका छन् । तर, समग्र परिसूचकतर्फ आएको गिरावटलाई मात्र हेरेर अत्तालिनु मूर्खता हो, तपाईले राम्रो कम्पनी छनौट गरी लगानी गर्नुभएको छ भने परिसूचकतर्फ आएको गिरावटले खासै फरक पार्दैन । बजार घटिरहेको बेला परिसूचक हेरेर होइन, तपाईको कम्पनीले कस्तो प्रदर्शन गरिरहेको छ, त्यो हेरेर मात्र समीक्षा गर्नुपर्छ ।  

मैले केही समयअघि नेपालका डलर अर्बपति बिनोद चौधरीको आत्माकथा पढ्ने मौका पाएको थिएँ, उनले आफनो आत्माकथामा लेखेका छन्–‘म महिनाको आधा समय आकाशमा हुन्छु, आधा समय जमिनमा ।’

हो, सेयर बजार त्यस्तै ठाउँ हो, जहाँ पैसालाई काममा लगाइन्छ । हामीले पनि विभिन्न कम्पनीको सेयरमा लगानी गरेका छौ । कम्पनीबाट प्रत्येक वर्ष लाभांशको रुपमा नाफा लिइरहेका हुन्छौ, तर तो नाफा लिन हामी उक्त कम्पनीमा गएर काम भने कहिले गर्दैनौ । यसैलाई भनिन्छ पैसालाई काम लगाउनु । तर, सबै कम्पनीको सेयरमा लगानी गरेको पैसाले काम गर्नसक्दैन । जस्तो, २०६९ सालको मध्यतिर एक व्यक्तिले नबील बैंकको सेयरमा १० लाख लगानी गरेका थिए, प्रत्येक साल नबील बैंकले दिएको लाभांशको हिसाब गर्दा आज उनको १० लाखले ४३ लाख भन्दा बढी कमाइसकेको होला । तर, त्यतिबेला सिभिल बैंकमा १० लाख लगानी गर्नेको आज १२–१५ लाख पनि पुगेको छैन होला र कतिपय कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ता डूूबेका पनि होलान् ।

त्यसकारण राम्रो कम्पनीको सेयरमा लगानी गरेर पैसालाई काम लगाएर आफू बसी–बसी खाने हो भने कम्पनी छनौट गर्दा विशेष ध्यान दिनुपर्दछ । यसो हुन सक्यो भने सेयर बजार जतिसुकै घटे पनि हामीले तनाव लिनुपर्दैन, किनकि राम्रो कम्पनीमा लगाएको हाम्रो पैसाले कमाइरहने छ, हामी घुमिरहनेछौ । त्यसकारण लगानीका लागि कम्पनी छनौट गर्दा निम्नलिखित कुराहरुमा ध्यान दिनु श्रेयस्कर हुन्छ:

१. सेयरबाट आउने प्रतिफल दर उचित छ कि छैन ?
हामीले सेयरमा लगानी गर्नुको उद्देश्य उचित प्रतिफल पाउन हो । तपाईले लगानी गर्न खोजेको कम्पनीले बिगत पाँच बर्षदेखि कुन दरमा प्रतिफल दिइरहेको छ, गहिरो अध्ययन गरेर मात्र उक्त कम्पनीको सेयरमा लगानी गर्नुपर्छ ।

२. प्रत्येक बर्ष सन्तुलित दरले लाभांश दिएको छ कि छैन ?
हामीले कम्पनी छनौट गर्दा त्यो कम्पनीले प्रत्येक बर्ष उचित दरले लाभांश दिएको छ कि छैन अध्ययन गरेर मात्र लगानीको निर्णय लिनुपर्छ । जस्तै, नबिल बैंकले प्रत्येक बर्ष सन्तुलित रूपमा लाभांश दिदै आएको छ भने एनसीसी बैंकले कुनै बर्ष अधिक कुनै बर्ष अति कम र कुनै बर्ष लाभांश दिएकै छैन, अब तपाई आफै निर्णय गर्नुहोस्, कुन बैंकमा लगानी गर्ने भनेर ।

३. कम्पनीको कमाई निरन्तर बढिरहेको छ कि छैन ?
कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नु अगाडि उक्त कम्पनीको कमाई निरन्तर बढ्दो छ कि छैन भन्ने कुराको अध्ययन गर्नुहोस् । अस्थिर कमाई अर्थात कुनै बर्ष धेरै कमाई गर्ने र कुनै बर्ष कमाई नै नहुने स्थिति भएका कम्पनीमा लगानी नगरेकै राम्रो । कम्पनीको प्रतिसेयर कमाई माथितिर गइरहेको छ कि छैन ? हेर्नुहोस ।

४. कम्पनीका विभिन्न सूचकको अवस्था कस्तो छ ?
कम्पनी छनौट गर्नुअघि त्यसका प्रमुख सूचकहरुको गहिरो अध्ययन गर्नुहोस् । 

प्रतिसेयर आम्दानी: कर पछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । कम्पनी छनौट गर्दा प्रतिसेयर आम्दानी बढी भएका कम्पनी छान्नुहोला । प्रतिसेयर आम्दानी २० भन्दा माथि भएको राम्रो हुन्छ ।

मूल्य–आम्दानी अनुपात
कम्पनीको तत्कालको सेयर मूूल्यलाई पछिल्लो प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपातलाई नै मूूल्यआम्दानी अनुपात भनिन्छ । सेयरमा लगानी गर्दा तुलनात्मक रूपमा कम मूूल्य आम्दानी अनुपात भएको कम्पनीको छनौट गर्नु पर्दछ । मूूल्य आम्दानी अनुपात २० भन्दा तल भएको राम्रो मानिन्छ ।

सम्पत्तिमा प्रतिफल: कुल नाफालाई कुल सम्पत्तिले भाग गर्दा आउने अनुपातलाई कुल सम्पत्तिमा प्रतिफल भनिन्छ । यो अनुपात बढी भएको कम्पनी छनौट गर्दा राम्रो हुन्छ ।

कर्जा निक्षेप अनुपात: बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेपले कुल कर्जालाई भाग गरेपछि आउने अनुपातलाई कर्जा निक्षेप अनुपात भनिन्छ । कर्जा निक्षेप अनुपात ८० प्रतिशत भन्दा कम भएको कम्पनी राम्रो हुन्छ ।

निष्क्रिय कर्जा अनुपात: कुल निष्क्रिय कर्जा (तीन महिना भन्दा बढी भाका नाघेको कुल ऋण)लाई कुल कर्जाले भाग गरेपछि आउने अनुपातलाई खराब कर्जा अनुपात वा निष्क्रिय कर्जा अनुपात भनिन्छ । खराब कर्जा अनुपात ५ प्रतिशत भन्दा कम भएको कम्पनी छनौट गर्नु उचित हुन्छ ।

प्रतिसेयर नेटवर्थ: कम्पनीको सम्पूूर्ण सम्पत्तिबाट तिर्नुपर्ने दायित्व घटाएपछि बाँकी रहने रकमलाई किताबी मूूल्य अर्थात नेटवर्थ भनिन्छ ।  कुल नेटवर्थलाई सेयर संख्याले भाग गरेर प्रतिसेयर नेटवर्थ निकालिन्छ । प्रतिसेयर नेटवर्थ उच्च भएको कम्पनीको सेयर खरिद गर्दा राम्रो हुन्छ । आदि सूूचकहरुलाई केलाएर मात्र कम्पनी छनौट गर्नुहोला ।

५. कम्पनीको ऋणको अबस्था कस्तो छ ?
कुनै पनि कम्पनीको सबैभन्दा ठूूलो कमजोरी भनेको त्यसको ऋण हो । कुनै कम्पनीले लामो समयका लागि धैर ऋण लिएर चलाइरहेको छ भने कम्पनीले कमाएर लगानीकर्तालाई प्रतिफल दिन सक्दैन । जुन कम्पनीसँग प्रशस्त कमाइ छ र त्यसलाई ऋणको आवश्यकता छैन भने त्यो कम्पनीले लगानीकर्तालाइ प्रत्येक बर्ष उचित प्रतिफल दिनसक्छ । त्यस कारण कम्पनी छनौट गर्दा ऋण कम र सम्पत्ति बढी भएको कम्पनी छनौट गर्नुपर्छ ।

६. संस्थागत सुशासन छ कि छैन ?
संस्थगत सुशासन भन्नाले कम्पनीको बित्तीय अनुशासनलाई जनाउँछ । कम्पनीको सुशासनभित्र नैतिक आचरण, ईमानदारिता, जवाफदेहिता, पारदर्शिता, तथा कानुनको पालना जस्ता बिषय पर्दछ्न । जस्तै कानुनले आर्थिक बर्ष समाप्त भएको पुस मसान्तसम्म बार्षिक साधारणसभा गर्नुपर्दछ भनेको छ, तर धेरै कम्पनीहरुले पुस मसान्तसम्म बार्षिक साधारणासभा गरेको पाइन्न । कतिपय संस्थाले राम्रो नाफा गरेर पनि नाफा नबाँडी आफै राख्ने संचालक र गलत नेत्तृत्व भएका कम्पनी छन् । त्यसैले कम्पनीको ब्यवस्थापक र संचालक सक्षम र योग्य भएको कम्पनी छनौट गर्नु पर्दछ । संस्थागत सुशासन कायम राख्न नसकेर कतिपय कम्पनीले लगानीकर्तालाई डुबाएका छन् । कम्पनी बित्तीय रूपमा सक्षम देखिए पनि सुशासन कमजोर भएकाले सेयरको मूूल्य बढ्दैन, जस्तै: नेपाल दूरसंचार कम्पनी लिमीटेड ।

७. पुँजी वृद्धिका लागि बोनसलाई जोड दिएको छ कि हकप्रदलाई ?
कुनै पनि कम्पनीले समय–समयमा चुक्तापुँजी वृद्धि गर्नुपर्ने हुन्छ ।
पुँजी वृद्धिका लागि कुनै पनि कम्पनीले हकप्रदको बाटो रोजेको छ कि बोनस सेयरमा जोड दिएको छ ? यो कुरालाई पनि कम्पनी छनौट गर्दा ध्यान दिनु पर्दछ । कुनै पनि कम्पनीले नगद लाभांश नबाँडी लाभांशको रुपमा सेयर नै वितरण गर्दछ भने त्यसलाई बोनस सेयर भनिन्छ भने सेयरधनीले मात्र किन्न पाउने गरी जारी गरिएको नयाँ सेयरलाई हकप्रद सेयर भनिन्छ । लगानीकर्ताले हकप्रद सेयर खरिद गर्न तोकिएको अंकित मूूल्य तिर्नुपर्ने हुन्छ । जुन कम्पनी नाफामा हुन्छ, आर्थिक प्रगति राम्रो छ, उसले पुँजी वृद्धि गर्दा हकप्रदको बाटो नरोजेर बोनस सेयरको बाटो रोजेको हुन्छ भने जुन कम्पनीको बित्तीय अवस्था राम्रो छैन, उसले पुँजि वृद्धि गर्दा हकप्रदको सहारा लिनुपर्ने बाध्यता हुन्छ । बोनस सेयरमा लगानीकर्ताले थप पँुजी लगाउनु पर्दैन भने हकप्रद सेयरमा लगानीकर्ताले थप पुँजी लगाउनुपर्छ । गत साल हकप्रद सेयरको पछाडि लागी उचालिएर महङ्गोमा सेयर किन्नेहरु अहिले धेरै घाटामा छ्न । त्यसैले कम्पनी छनौट गर्दा बोनस सेयर बढी दिएर चुक्तापुँजी पुर्याउनसक्ने कम्पनी छनौट गर्नुपर्छ ।

८. म्युचुअल फन्डहरुले लगानी गरेका छन् कि छैनन् ?
म्युचुअल फन्डले लगानीका लागि कम्पनी छनौट गर्दा निकै अध्यन अनुसन्धान गरेका हुन्छन् । म्युचुअल फण्डले आफ्नो छुट्टै एउटा समूूह बनाई यस्ता कम्पनीहरुको बित्तीय अवस्थाको बारेमा अध्ययन अनुसन्धान गर्न राखेका हुन्छन्, जसमा वित्तीय विज्ञहरुको सहभागिता हुन्छ । यसकारण म्युचुअल फन्डले राम्रो वित्तीय अवस्था भएका कम्पनीहरुमा लगानी गर्दछन, सोही आधारमा हामीले पनि कम्पनी छनौट गर्न सकिन्छ । म्युचुअल फन्डहरुले लगानी गरेका कम्पनीहरुको सूूचि आफनो वेबसाईटमा राखेका हुन्छन् ।

९. नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा परेको छ कि छैन ?
नेप्सेले सूूचिकृत्त भएका कम्पनीहरुमध्येबाट कम्तीमा २ अर्ब चुक्तापँुजी भएका, कम्तीमा ३ बर्षदेखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मूूल्य चुक्ता मूूल्य भन्दा कम नभएको, साधारण सेयरधनीहरुको संख्या कम्तीमा १००० जना भएको, आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र उक्त  आर्थिक बर्षको कारोवार तथा आय व्यय विवरण पेश गरेका कम्पनीहरुलाई नेपाल स्टक एक्सचेञ्जले ‘क’ वर्गमा वर्गीकृत गर्ने गर्दछ । तपाईहरुले कम्पनी छनौट गर्दा यो कुरामा पनि  विचार पुर्याउनुपर्छ ।

१०. बैंकहरुले सेयर धितो राखेर सेयरकर्जा दिने कम्पनी हो कि होईन ?
कम्पनीको छनौट गर्दा बाणिज्य बैंकहरुले सेयर धितो राखेर ऋण दिनका लागि छनौट गरेको कम्पनीलाई पनि आधार बनाउन सकिन्छ । सामान्यतया बाणिज्य बैंकहरुले सेयर धितो राख्दा वित्तीय रूपमा मजबुत र बजारमा उच्च तरलता भएका कम्पनीको सेयर धितो राखेर ऋण दिने भएकाले त्यस्ता कम्पनीमा गरिएको लगानीमा केही हदसम्म जोखिम कम हुन्छ । बैंकहरुले सेयर धितो कर्जा दिएका कम्पनीहरुको लिस्ट आफनो वेबसाईटमा राखेका हुन्छन्, त्यहाँबाट हेरेर लगानीको निर्णय लिन सकिन्छ । 

यसरी कुनै पनि कम्पनीको सेयर खरिद गर्दा माथी उल्लेखित कुराहरूमा ध्यान दिएर लगानीको निर्णय लिनुुभयो भने नेप्से जति घटोस्, तपाई डूब्नुुहुन्न ।
(लेखक सेयर बजारका अध्ययनकर्ता 
हुन् ।)