– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ३–३ महिनामा गर्ने मौद्रिक समीक्षा नजिकिँदै गर्दा सेयर धितो कर्जामा लगाएको ४–१२ को क्याप के गर्ला ? भन्ने आमलगानीकर्ताहरुको चासोको विषय बनेको छ। अहिले लगानीकर्ताबीच सेयर धितो कर्जामा कडाइ वा खुकुलो गर्दा बजारलाई कस्तो असर गर्ला भन्नेबारे चर्चा परिचर्चा पनि सुरु भएको छ।
लगानीकर्ता संघका अगुवाहरु सेयर धितो कर्जामा कडाइ गर्दा झन्डै ३२०० पुगेको नेपाली सेयर बजारमा ५०० अंकको पहिरो आएको आरोप लगाउँदै आएका छन्।
सेयर बजारका काका अर्थात् केशव कोइरालाका अनुसार सेयर धितो कर्जा खेलाडीलाई बजार घटाउने र बढाउने हतियार बनेको बताउँछन्। काका भन्छन्, ‘खेलाडीहरुलाई अहिले सेयर धितो कर्जा, तरलता र ब्याजदर बजार बढाउने घटाउने माध्यम बनेको छ। सेयर धितो राखेर ऋण लिएर सेयरमा लगानी गर्ने २–२.५ प्रतिशत मात्र छन्। त्यसैले सेयर धितो कर्जाको सीमा बढे, घटे वा यथास्थितिमा रहे पनि बजारलाई दीर्घकालीन रुपमा केही असर गर्दैन।’
‘सेयर धितो कर्जाले बजारमा हतियारका रुपमा सहयोगी छ। तर यसको प्रभाव बजारमा न्यून छ’, काका भन्छन्, ‘नेपाली सेयर बजारमा यसको हल्ला बढी हुने गरेको छ। बजार पुँजीकरण ठूलो भएको बजारमा ऋणको हिस्सा सानो छ। त्यसैले कर्जा सीमा घटे दुई चार दिन बजार घट्छ। ऋण सीमा अनन्त भए पनि दुई चार दिन मात्र बजार बढ्छ। यसले दीर्घकालीन रुपमा बजारलाई केही असर गर्दैन।’
अहिले खेलाडीहरुलाई सेयर धितो कर्जा लगानीकर्ताहरुलाई अत्त्याएर बजार माथि लाने र तर्साएर बजार तल ल्याउने माध्यम बनेको छ। काका भन्छन्, ‘सेयर धितो कर्जा बढ्ने घट्ने वा यथास्थितिमा रहने कुरा राष्ट्र बैंकका कर्मचारी मात्र नभएर अर्थमन्त्रीलाई पनि थाहा छैन। मौद्रिक नीतिको समीक्षा हुँदा सबैलाई थाहा भई हाल्छ। अहिले बजारमा अड्कलको खेलमात्र भई रहेको छ।’
‘सेयर धितो कर्जाको सीमा बढ्यो भने केही ५०–६० जना धनाढ्यहरुलाई मात्र फाइदा हुने हो। घट्यो भने पनि उनीहरुलाई मात्र घाटा हुने हो। बजारलाई दीर्घकालीन रुपमा कुनै असर गर्दैन’, लगानीकर्ताहरुलाई सुझाव दिँदै काका भन्छन्, ‘ऋणको सीमा बढे पनि मात्तिएर महँगोमा सेयर किन्ने वा घट्यो भने आत्तिएर सेयर बेच्न जरुरी छैन।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19