काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार झिनो अंकले ओरालो लागेको छ।

बजार आज ३.२२ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २७३१.७८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.४५ अंकले बढेर ५१५.६४ को विन्दुमा उक्लिएको छ। कारोबार रकम पौने ४ अर्ब रुपैयाँ बढीको भएको छ। 

स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्की बजार अहिले साइडवेजमा चलेको बताउँछन्। ‘आज अन्तिमतिर नाफाबुक गर्नेहरु हावी भएको देखियो’, उनले भने, ‘बजार अहिले सामान्य अवस्थामै छ, बजारले सकारात्मक समाचार खोजेको छ।’

बजारमा अझै पनि आशावादी हुने ठाउँ रहेको कार्की बताउँछन्। ‘बजार अहिले स्वपुँजीले चलेका कारण पनि मजबुत नै छ।’

बजार जानकार प्रकाश रजौरे अहिले तरलताको अभाव देखिएको बताउँछन्। ‘बजारमा थप लगानी गर्ने पैसा छैन, बजारलाई ४–१२ को क्यापले थिचेको छ, त्यही कारण स्थिर छ’, उनले भने, ‘बजार माथि नै जाने हो तर चैतसम्म समय लिन सक्छ।’

अहिले बजार धेरै तल र धेरै माथि हुने सम्भावना नदेखिएको रजौरेले बताए। पुँजीबजारको भविष्य राष्ट्र बैंकको हातमा रहेको उल्लेख गर्दै उनले भने, ‘लगानीकर्ताहरु पनि पर्ख र हेरको रणनीतिमा छन्।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक ०.९१ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.७६ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.५४ प्रतिशतको बढोत्तरी भएको छ। 

आज व्यापार समूह सर्वाधिक १.४४ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.३४ प्रतिशतले घटेको आज जलविद्युत समूहमा ०.८७ प्रतिशत, वित्त समूहमा ०.०८ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५ प्रतिशत, लघुवित्त समूहमा ०.९७ प्रतिशत, जीवन बीमा समूहमा ०.१६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०२ प्रतिशत र लगानी समूहमा ०.५६ प्रतिशतले गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ७४ लाख ८६ हजार ५७५ कित्ता सेयर ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँमा किनबेच भएका छन्।

आज नेपाल टेलिकमको सर्वाधिक २६ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। महालक्ष्मी विकास बैंकको १६ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन सिभिल बैंकको १४ करोड ७९ लाख रुपैयाँ, साना किसान विकास लघुवित्तको १० करोड ४ लाख रुपैयाँ, नबिल बैंकको १० करोड १ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सको ८ करोड ९१ लाख रुपैयाँ, ज्योति विकास बैंकको ८ करोड ८३ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ७ करोड २१ लाख रुपैयाँ, अपी पावरको ७ करोड ८ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको ६ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज समृद्धि फाइनान्सका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन मानुषी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।