काठमाण्डौ । सेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ।
बजार आज ५.२८ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २६३३.६५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ अंकले बढेर ४९६.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर पौने ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्। ‘पुस–माघसम्म बजार सामान्य घटबढ हुन सक्छ’, उनले भने।
अहिले सेयर बजारमा कारोबार घट्नु स्वाभाविक नै रहेको बिष्ट बताउँछन्। ‘किनकि बजार साइडवेजमा चलिरहेको छ’, उनले भने।
बजार जानकार निमानन्द कँडेल पनि अहिले बजार साइडवेजमै चलिरहेको बताउँछन्। ‘अझै पनि राम्रा कम्पनीहरुमा खरिदचाप देखिन्छ’, उनले भने, ‘कोरोनाको नयाँ भेरिएन्ट कस्तो असर गर्ला भनेर लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्।’
त्यही भएर अहिले लगानीकर्ता आक्रामक ढंगले कारोबारमा नउत्रिएको कँडेलको भनाइ छ। ‘घट्दो बजारमा लगानीकर्ता आफूसँग भएको सेयर सस्तो बेच्न नचाहिरहेको पनि देखिन्छ, सोही कारण बजारमा कारोबार घटेको हो’, उनले भने।
आज नेप्से उपसमूहमा १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।
यो दिन अन्य समूह सर्वाधिक ०.९५ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.८९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.०९ प्रतिशत, व्यापार समूहमा ०.४३ प्रतिशत, विकास बैंक समूहमा ०.१६ प्रतिशत, जलविद्युत समूहमा ०.२३ प्रतिशत, वित्त समूहमा ०.२८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०३ प्रतिशत र लगानी समूहमा ०.१९ प्रतिशतको बढोत्तरी भएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.५५ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले घटेको आज लघुवित्त समूहमा ०.१२ प्रतिशत र जीवन बीमा समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ५३ लाख १० हजार २१५ कित्ता सेयर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४.३४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक १४ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १० करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको आज महिला लघुवित्तको ९ करोड ५ लाख रुपैयाँ, नेसनल हाइड्रोको ८ करोड ५१ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ७ करोड ४३ लाख रुपैयाँ, अपी पावरको ७ करोड २ लाख रुपैयाँ, एचआईडीसीएलको ६ करोड ३३ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ६ करोड ३० लाख रुपैयाँ, समृद्धि फाइनान्सको ६ करोड १० लाख रुपैयाँ र नबिल बैंकको ५ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन आईसीएफसी फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago