काठमाण्डौ । सेयर बजार बुधबार पनि ओरालो लागेको छ।

बजार आज ५३.१० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २४५५.८० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.३४ अंकले घटेर ४६४.७९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँमा खुम्चिन पुगेको छ। 

बजार लगातार घटिरहँदा पनि सरकार मुकदर्शक बनेको लगानीकर्ताहरुको आरोप छ। पुँजीबजारलाई नकारात्मक असर पार्ने नीतिगत व्यवस्थामा परिमार्जन नगरी नियामक निकाय चुपचाप भन्दै विरोधस्वरुप लगानीकर्ताहरुले सामाजिक सञ्जालमार्फत ‘नो भोट’ अभियान थालेका छन्। विशेषगरी फेसबुकको प्रोफाइल पिक्चर परिवर्तन गर्दै लगानीकर्ताहरुले यो अभियान थालेका हुन्। ‘पुँजीबजारविरोधीहरुलाई आगामी चुनावमा नो भोट ! ४५ लाख लगानीकर्ताको आवाज’ भन्दै यो अभियान तीव्र पारेका छन्।

सेयर बजार दबाब समूहका महासचिव नयन बास्तोला लगानीकर्ताको मनोबल गिर्नुले नै बजार लगातार घटिरहेको बताउँछन्। ‘सरकारबाट अपेक्षा गरेजस्तो भएन’, उनले भने, ‘बजारलाई घटाउन सरकार, नियामक निकाय र ठूला खेलाडीहरु लागेजस्तो देखिन्छ।’

पुँजीबजारको पछिल्लो अवस्थाबारे जानकारी गराउन अर्थमन्त्रीलाई भेट्न कोसिस गर्दा पनि समय नदिइएको बास्तोला बताउँछन्। ‘लगानीकर्ता अत्तालिएको अवस्था छ तर सरकार र नियामक निकाय ढुक्क भएर मुकदर्शक बनेका छन्’, उनले भने।

बजारमा सुधार ल्याउन अविलम्बन रुपमा सेबोन र नेप्सेमा प्रमुख नियुक्ति गरिनुपर्ने बास्तोलाको भनाइ छ। ‘बजार सुधारका लागि केही न केही सम्भावना हुन आवश्यक छ’, उनले भने। 

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने पुँजीबजारप्रति सरकारको बुझाइ गलत हुनुले नै बजार प्रभावित भइरहेको बताउँछन्। ‘बजारमा देखिएको नकारात्मक प्रभावलाई समाधान गर्ने निकाय भनेको सेबोन र नेप्से नै हो, तर ती दुवै निकाय नेतृत्वविहीन छन्’, उनले भने, ‘यिनै कारणले बजार दैनिक नकारात्मक बनेको छ, सरकार र नियामकले आमजनताको लगानी सुरक्षित गर्ने हो भने तुरुन्त बजारलाई प्रभाव पारेका नीतिगत व्यवस्थामा परिमार्जन गर्न जरुरी छ।’

अहिलेको अवस्थामा ऋण लिएर बजार प्रवेश नगर्न न्यौपानेले सुझाव दिए। ‘आफूसँग पैसा छ भने मात्र राम्रा कम्पनीहरुमा लगानी गर्नुहोस्, लगानी गर्ने अवस्था छ तर जोखिम पनि बढ्दै गइरहेको छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समयमा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ३.७३ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ३.३१ प्रतिशतले घटेको आज वित्त समूहमा ३.३ प्रतिशत, बैंकिङ समूहमा १.५३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.५ प्रतिशत, जलविद्युत समूहमा ३.१२ प्रतिशत, निर्जीवन बीमा समूहमा २.१२ प्रतिशत, उत्पादन तथा प्रशोधनमा २.९१ प्रतिशत, अन्य समूहमा १.१५ प्रतिशत, लघुवित्त समूहमा २.५९ प्रतिशत, जीवन बीमा समूहमा २.१९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७५ प्रतिशत र लगानी समूहमा २.४८ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ६५ लाख ६० हजार ९४७ कित्ता सेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँमा किनबेच भएका छन्।

आज नेसनल हाइड्रोपावरको सर्वाधिक ११ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १० करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको ९ करोड ४५ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ९ करोड १९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ७९ लाख रुपैयाँ, अरुण काबेली पावरको ७ करोड २ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ९२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ५८ लाख रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्सको ६ करोड ५३ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सको ५ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज स्ट्यान्डर्ड चार्टर्ड बैंक र मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यी दुवैको सेयरभाउ २ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यो दिन सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।