काठमाण्डौ । सेयर बजार सोमबार पनि भारी अंकले ओरालो लागेको छ। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिले सम्हालिन लागेको बजारमा लगातार दोस्रो दिन भारी अंकको गिरावट आएको हो। आज बजार ७९.५७ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २२८१.६७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.४७ अंकले घटेर ४३७.५९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका वीरेन्द्र बिष्ट पछिल्लो परिस्थितिले लगानीकर्ताको मनोबल गिर्दा बजार उभो लाग्न नसकेको बताउँछन्। ‘बजार बियरिस नै त होइन तर केही करेक्सन अझै आउने देखिन्छ’, उनले भने। 

बजार अल्पकालका लागि बढ्न सक्ने पनि बिष्टको भनाइ छ। ‘धेरै घटिसकेकोले बजार फर्किने सम्भावना छ’, उनले भने। 

अहिले सिर्जित परिस्थिति विषयमा धितोपत्र बोर्डले सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता बिष्टले औँल्याए। ‘ब्याजदर सहमति नबढाउने कुरा अलग हो तर सिस्टममा बढाउन सक्छन्, राष्ट्र बैंकले पनि रोक्न सक्दैन’, उनले भने, ‘अर्कोतर्फ मार्जिन कल पनि आएको छ, त्यसैले बजारमा अझै करेक्सनको सम्भावना देखिन्छ।’

अहिले धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामै रहेको बिष्ट बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक ५.३४ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा ५.२८ प्रतिशतले घटेको आज बैंकिङ समूहमा २.०९ प्रतिशत, व्यापार समूहमा ४.२२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.९२ प्रतिशत, विकास बैंक समूहमा ५.१५ प्रतिशत, जलविद्युत समूहमा ४.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.१३ प्रतिशत, अन्य समूहमा ३.४२ प्रतिशत, लघुवित्त समूहमा ४.१४ प्रतिशत, जीवन बीमा समूहमा ३.३८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.६५ प्रतिशत र लगानी समूहमा ४.६८ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ कित्ता सेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नबिल बैंकको सर्वाधिक १८ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोको १३ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको १२ लाख ८ हजार रुपैयाँ, मञ्जुश्री फाइनान्सको १० करोड ९२ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १० करोड १३ लाख रुपैयाँ, अपी पावरको ९ करोड ९५ लाख रुपैयाँ, अरुण काबेली पावरको ९ करोड ९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ८६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ५५ लाख रुपैयाँ र नेपाल टेलिकमको ७ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज गोखार्ज फाइनान्सका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन स्वाभिमान लघुवित्त र दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लागेको छ। 

आज नेसनल हाइड्रो, गुडविल फाइनान्स, आँखुखोला जलविद्युत, तेह्रथुम पावर, मल्टीपर्पस फिनान्स र आईसीएसफसी फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले ओरालो लागेको छ।