– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपालको सेयर बजारमा अहिले झन्डै ४५ लाख लगानीकर्ताहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आबद्ध छन्। विद्यार्थी, शिक्षक, व्यवसायी, किसानलगायत विविध क्षेत्रका मानिस सेयर बजारमा लागेका छन्।
नियामक निकायका साथै सरकारले अझै पनि पुँजीबजारलाई जुवा घरकै रुपमा हेर्दै आएका छन्। अर्थमन्त्रीका साथै राजनीतिक दलका नेतृत्व गरिरहेका नेताहरुको अभिव्यक्तिले बेलाबखतमा बजार प्रभावित भएको देखिन्छ। उनीहरूको अभिव्यक्ति सुन्दा अधिकांश लगानीकर्ताहरु नेता गणहरुले नै पुँजी बजार र यसको महत्वबारे नबुझेको भन्ने बुझाइ पनि रहेको देखिन्छ।
नियमनभन्दा नियन्त्रणमुखी नियामक निकाय, राष्ट्र बैंकको हस्तक्षेप, पुँजीबजारबारे अर्थमन्त्री साथै दलका नेतृत्वग गणको बुझाइजस्ता कारणहरुले गर्दा बजार विस्तार, विकास साथै सुधार नभएको लगानीकर्ताहरुका अगुवाहरु बताउँदै आएका छन्।
‘अहिले डिम्याट लिनेहरुको संख्या ४५ लाख नागेको छ। दैनिक टीएमएस लिनेको संख्या पनि बढ्दो छ’, नाम नखुलाउने सर्तमा लगानीकर्ता संघका अगुवा भन्छन्, ‘बाबुराम हुन् वा जनार्दन पुँजीबजारलाई विकास हुन नदिने भए।’
पुँजीबजारलाई संवेदनशील क्षेत्र मानिन्छ। नियामक निकाय, राष्ट्र बैंक, अर्थ मन्त्रालयको सानो विज्ञप्ति तथा सर्कुलरले पनि बजारमा उतारचढाव हुन्छ।
लगानीकर्ताका अगुवाहरु अहिलेका अर्थमन्त्री अर्थात् जनार्दन शर्माले पुँजीबजार र यसको महत्व नबुझेको बताउँदै आएका छन्। पुँजीबजार प्रभावित हुने अभिव्यक्ति दिँदै आएका अर्थमन्त्री शर्मालाई बजारबारे बुझाउनका साथै बजारका समस्या समाधान गर्न बजारका भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गठन भएको लगानीकर्ताको कार्यदलले अर्थमन्त्रीलाई केही दिनअघि भेटेको थियो।
‘अर्थमन्त्रीले १०–१५ दिनमा केही निर्णय गर्छु भन्नु भएको छ’, लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला भन्छन्, ‘तर, हामीले अहिले सामाजिक सञ्जालमा अर्थमन्त्रीलाई झक्झकाउने काम भने गरिरहेका छौँ।’
‘सरकारलाई अहिले मोतियाविन्दु लागेको छ। त्यसैले आँखा देखाउन हरेक दिन सामाजिक सञ्जालमा सरकारलाई प्रश्न गर्ने अभियान आजबाट सुरु गरेका छौँ’, बास्तोलाले भने, ‘अर्थमन्त्रीले भनेको समयसम्म ठोस निर्णय नगरेमा सडकमा आउन बाध्य हुन्छौँ।’
विगतमा सेयर बजारबारे लगानीकर्ताले अर्थमन्त्रीलाई एउटा कोठामा गएर बुझाउन खोज्दा बुझ्न चाहेको बास्तोला बताउँछन्। ‘त्यसैले पुँजी बजार भनेको के हो? अहिले बजारमा के भइरहेको छ? भनेर सिकाउन साथै बुझाउनका लागि सामाजिक सञ्जालबाट अभियान थालेका छौँ’, उनले भने।
स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्कीले सरकारलाई झक्झकाउन साथै जबाफदेही बनाउन दैनिक सामाजिक सञ्जालबाट प्रश्न गर्ने अभियानको सुरुआत गरेको बताए। ‘सरकारले लगानीकर्ताहरुसँग गरेको ५८ बुँदे सम्झौताका साथै बजारमा भएको समस्याहरूको समाधान नभएसम्म हाम्रो अभियान निरन्तर चलिरहने छ’, उनले भने।
‘अहिले नियामक निकायहरु नेतृत्वविहीन छन्। सरकारले बारम्बार पुँजीबजारलाई हस्तक्षेप गर्ने गरेको छ। त्यसैले सबै ४५ लाख लगानीकर्ता एक हुन् आवश्यक छ’, कार्की भन्छन्, ‘हामीले सामाजिक सञ्जालमा विभिन्न माध्यमबाट अर्थमन्त्रीका साथै सरकारसम्म हाम्रो कुरा उठाउँदै आएका छौँ। अर्थमन्त्रीले केही दिनमा निर्णय गर्ने आश्वासनसमेत दिएका छन्। तर हामी चुप बस्नु हुँदैन।’
यो अभियानलाई निरन्तरता दिन र सरकारलाई जबाफदेही बनाउन आमलगानीकर्ता एकढिक्का भएर आवाज उठाउन आवश्यक रहेको कार्की बताउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19