– अर्जुन तिमिल्सिना
काठमाण्डौ । गत साता सेयर बजारमा ५ दिन कारोबार भयो। जसमा ३ दिन बजार घट्यो भने २ दिन बढ्यो। समग्रमा गत साता बजारमा झन्डै ७५ अंकको गिरावट आयो।
गत साता सेयर कारोबार १६ अर्ब रुपैयाँमा खुम्चियो। जुन अघिल्लो साताको तुलनामा १ अर्ब रुपैयाँले कम हो। यो हिसाबले हेर्दा सेयर बजारमा विस्तारै कारोबार र भोलुम दुवै हराउँदै गएको देखिन्छ।
यो साता हामीले सेयर बजारलाई केही साना तथा ठूला औजारमार्फत सूक्ष्म अध्ययन गर्ने कोसिस गरेका छौँ। बजारमा लामो बढोत्तरीपछि केही करेक्सन आएकोले आमलगानीकर्तामा अब बजारको अवस्था के होला भन्ने जिज्ञासालाई मध्यनजर गर्दै बजारको विश्लेषण गर्ने कोसिस गरेका छौँ।
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
आज हामीले इलिअट वेभअन्तर्गत केही ठूला डिग्रीहरु जस्तै– प्राइमरी तथा इन्टरमिडियट डिग्रीमार्फत बजारको दीर्घकालीन यात्रालाई विश्लेषण तथा व्याख्याय गर्ने कोसिस गरेका छौँ। नेपालको सेयर बजारलाई २९३ को विन्दुदेखि अहिलेको उचाइसम्मलाई एउटा चार्टमा हेर्दा प्राइमरी डिग्रीको वेभ १ लगभग १८८१ सम्म आएको र २ मा करेक्सन भएर ११०० सम्मको विन्दुमा र ३ हालको उचाइ लगभग ३२०० को विन्दुसम्म पुगेको हुनुपर्छ। अहिलेको करेक्सन सोही डिग्रीको ४ र इन्टरमिडियट डिग्रीको वेभ ए, बी र सी हुनुपर्छ। हालको करेक्सन कतिसम्म आउला भन्ने आमजिज्ञाशा बजारमा सर्वत्र रहेको बेला इलिअट वेभको सिद्धान्तलाई चार्टमार्फत नियाल्दा इन्टरमिडियट डिग्रीको वेभ (४) के तहमा प्राइमरी डिग्रीको ४ पनि आउन सक्ने हुनाले अहिलेको करेक्सन लगभग २३०० कै विन्दु आसपासबाट सकिनुपर्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिर)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २७३८ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवा २४२५ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवा २१९२ को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवा १९३८ को विन्दुसम्म बजार अउन सक्छ।

एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियरिस सिग्नल भ्यालिड नै रहेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। हालको बजारको अवस्थालाई नियाल्दा हिस्टोग्राम नकारात्मक भए पनि क्रमशः छोटा–छोटा बन्दै गएका छन् (हेर्नुहोस् कालो एरो)। यो आधारमा बजारमा बिक्रीचाप विस्तारै कम हुँदै गएको भन्न सकिन्छ।

बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले केही समय पहिला तल्लो ब्यान्डलाई छोएर माथि जान खेजेको तर मध्य ब्यान्डभन्दा तलबाटै झरेको छ । दुई ब्यान्डको दूरी पनि बढ्दै–बढ्दै गएकोले अझै केही करेक्सनको सम्भावना देखिन्छ।

आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ३३ को जोनमा रहेको छ। जसको अर्थ हुन्छ ओभर सोल्ड जोनमा छ। अघिल्लोपटक यो विन्दु ६० को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई हालको २० को तहमा रहेको छ। आरएसआईको विगतको चार्टलाई हेर्दा बजार केही समय स्थिर भएर बुलिस डाइभर्जेन्स भएपछि मात्रै बजार बढेको पाइएको छ (हेर्नुहोस् हरियो एरो)। यदि आगामी दिनमा यस्तै आकृति नबनेसम्म केही समय पर्ख र हेरको अवस्थामा रहन सकिन्छ।

पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २३७६
घटेमा सपोर्ट

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचनालाई स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19