काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज १२.५३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५२०.२३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर ४७७.३६ को विन्दुमा पुगेको छ। झन्डै साढे ४ रुपैयाँको कारोबार भएको छ।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला आज इन्ट्राडे करेक्सनले बजारलाई थप मजबुत बनाएको बताउँछन्। ‘यसले लगानीकर्ताको मनोबल बढाउन काम भएको छ’, उनले भने।
बजारलाई भोलुमले पनि साथ दिइरहेको उल्लेख गर्दै बास्तोलाले आगामी साता पनि बजार सकारात्मक नै रहने बताए। ‘ब्याजदर बढ्ने सम्भावना छैन’, उनले भने, ‘पुनर्कर्जाको पैसा पनि बजारमा आउँछ, यसले तरलता व्यवस्थापनमा सहयोग गर्नेछ।’
नेपाल धितोपत्र बोर्डमा छिटै अध्यक्ष नियुक्ति हुने चर्चाले पनि लगानीकर्ताको मनोबल बढेको बास्तोलाको भनाइ छ। ‘समग्रमा बजारमा चारैतिरबाट सकारात्मक महौल बनेको छ’, उनले भने।
स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की आजको बढाइले बजार मजबुत बन्दै गएको प्रस्ट हुने बताउँछन्। ‘आज नाफा बुक गर्नेहरु हावी भए पनि बजार भोलुममा माथि नै हुनु भनेको लगानीकर्ताको मनोबाल बलियो भएको बुझिन्छ’, उनले भने।
प्राविधिक रुपमा पनि बजार मजबुत नै देखिएको कार्की बताउँछन्। ‘लगानीकर्तामा बजार अब बढ्छ भन्ने मानसिकता बढेको देखिन्छ’, उनले भने, ‘राष्ट्र बैंक र सरकारका पछिल्ला कदमले पनि लगानीकर्ताहरु उत्साहित बनेका छन्।’
आगामी दिनमा बजार करेक्सन हुँदै माथि नै लाग्ने सम्भावना रहेको कार्कीको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३.५६ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह १.५४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.२३ प्रतिशत, व्यापार समूहमा ०.२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०२ प्रतिशत, अन्य समूहमा ०.८९ प्रतिशत, लघुवित्त समूहमा ०.९८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशत र लगानी समूहमा ०.०८ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त समूह सर्वाधिक १.९५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.११ प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.६७ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ८३ लाख २३ हजार ९२३ कित्ता सेयर ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ३६ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। गोर्खाज फाइनान्सको २० करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १४ करोड १० लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १३ करोड ५५ लाख रुपैयाँ, अपी पावरको १२ करोड ८५ लाख रुपैयाँ, नेसनल हाइड्रोको ११ करोड १० लाख रुपैयाँ, ज्योति विकास बैंकको १० करोड १९ लाख रुपैयाँ, अप्पर तामाकोशीको ९ करोड ८२ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ७९ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज शिखर इन्स्योरेन्सका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लाग्यो।
यो दिन बरुण हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन गोर्खाज फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19