►दिलिप मुंनकर्मी
सेयर बजारमा अहिले बियरिस निकै चलेको र चलाइएको शब्द हो । करिब पाँच वर्षअगाडिदेखि सेयरमा लगानी गरेका लगानीकर्ताहरू र केही वर्ष वा महिना अगाडिदेखि सेयर बजार प्रवेश गरेका व्यक्तिहरूबीच पनि बजारको अवस्थाका बारेमा फरक बुझाइ रहेको देखिन्छ ।
 
यस्तै लगानीकर्ता र सेयर कारोबारी/व्यापारीहरूका बीच पनि अहिलेको बजारको अवस्था के हो ? मतैक्य छैन । वास्तवमा सेयर बजारको अहिलेको अवस्थासम्बन्धी आ-आफ्नै बुझाइ र परिभाषा रहेका छन्, जुन स्वाभाविक हो । 
 
विश्वव्यापी रूपमा समेत सेयरको वास्तविक बियरिस कुन अवस्थामा हो भन्ने मतैक्य पाइन्न । धेरैले स्विकारेको परिभाषा हो : 
  • २० प्रतिशत वा सोभन्दा बढीले घटेको बजार, यस्तो घट्दो दर ६० दिनसम्म कायम रहेको अवस्थालाई नै बजारको बियरिस अवस्था भनिन्छ ।
  • तर, २० प्रतिशतभन्दा बढीले घटेको अवस्था दुई महिनाभन्दा कम कायम रहेको अवस्थालाई करेक्सन भनिन्छ न कि बियरिस ।
  • बियरिस अवस्थामा समग्र लगानीकर्ताहरूले बजारप्रतिको भरोसा गुमाउन पुग्छन्, जसले सेयरको मागमा उच्च कमी आउँछ । अर्थतन्त्रमा मन्दी, उच्च बेरोजगारी र उच्च मुद्रास्फीतिको अवस्थामा यस्तो स्थिति देखा पर्छ ।

बजारमा मानिसले किन्न नचाहेको होइन, सस्तोमा किन्न खोजेको अवस्था छ । बजारबाट लगानीकर्ताहरूको भरोसा गुमाएको होइन कि भन्ने पनि देखिन्छ । 

यस्तो अवस्थामा के गर्ने त ?
अहिलेको नेपाली सेयरबजारको अवस्था यही हो भन्ने सुनिश्चित गर्न नसकेको अवस्था र लगानीकर्ता तथा कारोबारीहरूबीच पनि मतैक्य हुन नसकेको अवस्थामा हरेक लगानीकर्ता र कारोबारीको आफ्नो विश्लेषण र सेयर बजारप्रतिको व्यक्तिगत धारणा, उद्देश्यअनुरूप अगाडि बढ्नु उचित हुन्छ । यस्तो अवस्थामा निम्न अनुसार गर्दा उपयुक्त हुन्छ :
  1. सेयर बजारमा तत्कालको मुनाफा वा सम्पत्तिमा आर्जन (वेल्थ माक्सिमाइजेसन) के हो ? लगानी गर्न खोजेको हो कि व्यापार/कारोबार, आफ्नो उद्देश्यबारे स्पष्ट हुनुपर्छ ।
  2. लगानी र व्यापारका फरक विधि, मान्यता र मुनाफाका आधार पनि फरक हुन्छन्, त्यसलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्छ ।
  3. विशेषतः दीर्घकालीन लगानीकर्ताका लागि अहिलेको बजार थप लगानी गर्ने मौका हुन सक्छ । मूल्यको सम्भावित उतारचढावलाई आकलन गर्दै आफ्नो जोखिम वहन क्षमताभन्दा बढी मूल्य उतारचढाव हुने र तुलनात्मक रूपमा कम प्रतिफल दिने सेयरलाई कम लागतमा लगानी स्थानान्तरण गर्न सकिन्छ ।
  4. लगानीकर्ताले लगानी गर्दा मूलतः आजको बजारमूल्यभन्दा आफ्नो औसत लागतभन्दा मूल्य कम वा बढी हेर्नुपर्छ । बजारमूल्य आफ्नो औसत लागतभन्दा २०–३० प्रतिशतले कम छ, आधारभूत रूपमा कम्पनी बलियो छ, व्यावसायिक विस्तार राम्रो छ र भविष्यमा मुनाफाको संभावना छ भने यही मौकामा थप सेयर किनेर लागत कम गर्नु बुद्धिमानी हुन्छ ।
  5. नेप्सेको समग्र बिन्दु छाडेर आफूले लगानी गरेका कम्पनीहरूको आर्थिक, व्यावसायिक र व्यवस्थापिकीय अवस्था हेरौं । नेप्से तलमाथि हुनु भनेको समग्र बजार तलमाथि हुनु हो । त्यहाँ तपाईंले लगानी गर्नुभएका कम्पनीको मात्र औसत मूल्य प्रतिविम्बित हुने होइन । यतिचाहिँ ध्यान दिनुपर्छ । समग्र बजारभन्दा आफूले लगानी गरेको कम्पनीको मूल्यको उतारचढाव कस्तो छ, आज कतिको कारोबार भयो, लगानीकर्ताहरूको मनस्थिति कस्तो छ, आदिमा ध्यान दिनुपर्छ ।
  6. विशेष गरी बैंकिङ क्षेत्रको सेयरमा लगानीकर्ताहरूका लागि अहिलेको अवस्था निकै राम्रो अवसर हुन सक्छ । अब यो दरमा सेयरको आपूर्ति बढ्न समय लाग्छ तर समयक्रममा व्यापारी/कारोबारीको प्रवेश बढ्दो छ । यो सँगै कम्पनीहरूको आर्थिक र व्यवस्थापकीय अवस्था विगतको न्यूनतम बिन्दुभन्दा तुलनात्मक रूपमा राम्रो छ, यो क्षेत्र कठोर परिस्थितिहरूको सामना गर्न सक्षम भएको प्रमाणित भइसकेको छ ।
  7. कारोबारी/व्यापारीहरूका लागि केही अप्ठेरो परिस्थिति आउन सक्छ, उनीहरूको ब्याज र जोखिमको लागत बढ्न सक्छ तर सेयर सस्तोमा पाउनुभएको छ । सस्तो सेयर किनेर आफ्नो भण्डार बलियो बनाउने मौका हुन सक्छ ।
  8. बजारमा सेयरसम्बन्धी सचेतना, चासो, नियमन, कानुनी, प्राविधिक वातावरण सबै सेयर बजारमैत्री बनिरहेको छ । ब्याज बढेर सेयरबाट लगानी अन्यत्र केही हदसम्म जान सक्छ, तर सबै जाँदैन ।
  9. लगानीकर्ता वा व्यापारी/कारोबारीले विशेष ध्यान दिनुपर्ने कुरा के हो भने, सेयर किन्न र बेच्न खोज्नेहरूबीचको सहमतिको बिन्दु नै नेप्से हो । यहाँ किन्ने र बेच्नेले अनेक उपाय अपनाएर सेयरको मूल्य प्रभावित गर्नु स्वाभाविक हो, चाहे त्यो बुल वा बियरिस अवस्था । ‘बियरिस’ अवस्थामा किन्नेहरू हावी भएजस्तै ‘बुल’मा बेच्नेहरू हाबी हुन्छन् ।

(लेखक सेयर बजारका जानकार हुन् । यो सामाग्री उनको ब्लगबाट लिइएको हो।)