काठमाण्डौ । धितोपत्र कारोबार हुने सातोको दोस्रो दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ।
आज बजार ३२.०३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६१६.९४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.८६ अंकले बढेर ४८७.८७ को विन्दुमा पुगेको छ। आज साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजारमा अब दुःखका दिन सकिएको बताउँछन्। ‘४–१२ बाट लगानीकर्तामा उत्पन्न समस्या पनि सेटलमेन्ट भइसक्यो’, उनले भने।
अहिले पनि बैंक तथा वित्तीय संस्थाहरुको ४८ खर्ब रुपैयाँ निक्षेप रहेको उल्लेख गर्दै ढकालले भने, ‘सेयर बजार लोनले मात्र नभएर स्वपुँजी पनि चल्छ भन्ने कुरा पछिल्ला दिनका कारोबारहरुले प्रस्ट पारिसकेको छ।’
सबैतिर सकारात्मक महौल बन्दै गएको ढकालको बताउँछन्। ‘अर्थ मन्त्रालय र राष्ट्र बैंकले तरलता सहज बनाउन ल्याएका पछिल्ला नीतिहरुले पनि लगानीकर्ताको मनोबल बढेको छ’, उनले भने, ‘लगानीकर्ताको सहभागिता पनि बढ्दै गएकोले अब बजार सकारात्मक नै हुने देखिन्छ।’
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि हाल पुस मसान्तको प्रभाव सकिएको बताउँछिन्। गत वर्ष पनि यही समयमा सेयर बजार बढेको उल्लेख गर्दै उनले भनिन्, ‘सरकारले पुँजीगत बढाउँदै जाँदा तरलता पनि सहज बन्दै गएकोले लगानीकर्तामा आत्मविश्वास बढेको हुनुपर्छ।’
अब नकारात्मक समाचारहरु नआउने हुँदा सबैतिरको महौल सकारात्मक बनेका कारण सेयर बजारमा अहिले चमक आइरहेको पोखरेलको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूहमा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक ७.०४ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह २.८८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.४६ प्रतिशत, विकास बैंक समूहमा १.६८ प्रतिशत, वित्त समूहमा २.०५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७६ प्रतिशत, जलविद्युत समूहमा ०.३६ प्रतिशत, लगानी समूहमा १.८६ प्रतिशत, जीवन बीमा समूहमा ०.६४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२ प्रतिशत, निर्जीव बीमा समूहमा ०.५१ प्रतिशत र अन्य समूहमा ०.१७ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन उत्पादन तथा प्रशोधन समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनी ८२ लाख ५ हजार ५२ कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक २८ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १८ करोड २९ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको १६ करोड २६ लाख रुपैयाँ, नबिल बैंकको १४ करोड ९३ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको १२ करोड ४८ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ९ करोड ५४ लाख रुपैयाँ, नागरिक लगानी कोषको ८ करोड ९९ लाख रुपैयाँ, मेगा बैंकको ८ करोड १४ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको ७ करोड ९३ लाख रुपैयाँ र अप्पर तामाकोशीको ७ करोड ५५ लाख रुपैयाँ बढकिो कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन मध्य भोटेकोशीको सेयरभाउमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। आज गुराँस लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज रुरु जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा झन्डै ३ प्रतिशतको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19