काठमाण्डौ । सेयर लगानीकर्ता संघले धितोपत्र बोर्डले आगामी आर्थिक वर्षदेखि सेयर कारोबार गर्दा स्थायी लेखा नम्बर(प्यान) लिनुपर्ने भन्ने छलफलको बिषयलाई गलत ढंगले विश्लेषण गरी बजार प्रभावित पार्ने काम भइरहेको दाबी गरेको छ । 

संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै छलफलमा रहेको बिषयलाई निर्णय नै भएजस्तो गरी प्रचार भएको र लगानीकर्तालाई द्विविधामा राखेर बजार प्रभावित पार्ने काम भएको भन्दै हल्लाको पछि नलाग्न लगानीकर्तालाई आग्रह गरेको हो । 

संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलले जारी गरेको विज्ञप्तिमा स्थायी लेखा नम्बरको बिषयमा धितोपत्र बोर्डमा गएर छलफल गर्दा बोर्डको वार्षिक कार्यक्रममा पूँजी बजारमा कारोबार गरिरहेका लगानीकर्ताहरुलाई परिचयपत्र नम्बर दिंदा सही हुने र त्यस्तो परिचयपत्र नम्बरको रुपमा स्थायी लेखानम्बरलाई नै मान्दा पो हुन्छ कि भन्ने विकल्पहरुको बिषयमा छलफल मात्र भएको प्रष्ट्याइएको छ । ‘प्यान लगाउने बारेमा आवश्यक छलफल चलाउने प्रक्रिया मात्र सुरु गर्न लागेको र सो बिषयको गाम्भीर्यता र यसबाट सेयरबजारमा पर्न सक्ने सकारात्मक पक्ष भएमा मात्र प्यान लगाउन सम्बन्धित निकायमा बोर्डले सिफारिस गर्न सक्ने कुरा छलफलकै रुपमा आएको हो ।’ विज्ञप्तिमा भनिएको छ–‘नेपाल सरकारले पनि प्यान लगाउन आवश्यक पूर्वाधार तयार गर्नुपर्ने लगायतका बिषयहरु विचाराधीन भएको, साथै छलफलमा नै रहेको यस्ता गम्भीर  बिषयहरु बिना छलफल कार्यान्वयनमा नल्याइने प्रतिबद्धता बोर्डबाट हामीलाई प्राप्त भएको छ ।’ 

संघले स्थायी लेखानम्बर अनिवार्य रुपमा लिनुपर्ने लगायत छलफलको क्रममै रहेका बिषयहरुमा यथार्थ बुुझेर मात्र लगानीको निर्णय लिनुपर्ने, धितोपत्रको कारोबार गर्दा अत्यन्तै सोचविचार, बिना देखासिकी, कम्पनीको आर्थिक विवरण, भावी योजना, कम्पनीका प्रोमोटर, व्यवस्थापक आदिको सही मूल्यांकन गरेर मात्र कारोबार गर्न समेत आह्वान गरेको छ । 

संघले ब्रोकरलाई मार्जिन लेण्डिङ कारोबार गर्न दिने, बैंकलाई ब्रोकर लाइसेन्स दिने, मार्केट मेकर(बजार निर्माता), बोनस सेयर एडजष्टमेन्ट, मर्जर तथा लिष्टिङ र गैरआवासीय नेपालीहरुलाई पूँजीबजारमा भित्र्याउने  लगायतका मागहरु पूरा नभएका भन्दै सो बिषयमा संघले निरन्तर आवाज उठाइरहेको र सम्बद्ध पक्षहरुले गम्भीर रुपमा लिनुपर्नेमा जोड दिएको छ । 

संघले पूँजी बजार विकासका लागि उठाइएका मुद्धामध्ये हकप्रद र बोनस सेयर, एफपीओ सेयर, अडलट कारोबार, ब्रोकरहरुको कार्यक्षेत्र विस्तार गर्ने, क्लियरिङ बैंक थप्ने र लगानीकर्ता सचेतना कार्यक्रम हालसम्म कार्यान्वयन भइसकेको प्रष्ट्याएको छ । ‘अनलाइन ट्रेडिङ सिस्टम र म्युुचुुअल फण्डहरुको कार्यक्षेत्र र निजको पूँजी बजारमा दायीत्व बिषयमा व्यापक छलफल भइरहेको छ ।’–विज्ञप्तिमा भनिएको छ । 

संघले बजारको प्रमुख संचालक नेपाल स्टक एक्सचेञ्जको प्रमुखको नियुक्तिमा बिलम्ब भएको भन्दै यथाशीघ्र सही व्यक्तिलाई सो जिम्मेवारी दिने व्यवस्था मिलाइदिन सरकारसँग माग गरेको छ । नेप्सेको प्रमुख असार २२ गतेदेखि रिक्त छ । अर्थमन्त्रालय नेप्सेको प्रमुखका लागि खुलाएको खुल्ला आवेदनमा १३ जनाले दरखास्त दिएकोमा ५ जना सर्ट लिस्टेड भइसकेका छन् ।