काठमाण्डौ । सेयर बजारमा लगातारको गिरावटमा ब्रेक लागेको छ। धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारको गिरावटमा ब्रेक लाग्दै झिनो अंकले उकालो लागेको हो।

आज बजार ३.३३ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २७७९.९८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले बढेर ५१८.७२ को विन्दुमा पुगेको छ। कारोबार रकम भने घटेर सवा ३ अर्ब रुपैयाँ बढीको भएको छ।

बजार जानकार सरोज भट्टराई लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा बजारमा कारोबार घटेको बताउँछन्। ‘आजको बजारलाई हेर्दा बेच्नेले पनि कम मूल्यमा सेयर बेच्न नचाहेको देखिन्छ’, उनले भने, ‘खरिद गर्ने पनि आक्रामक नहुँदा कारोबार घटेको हो।’

यो साताको बजारलाई विश्लेषण गर्दै भन्ने हो आगामी साता पनि सेयर बजार ठूलो उतारचढाव नहुने अनुमान गर्न सकिने भट्टराई बताउँछन्। ‘प्राविधिक रुपमा अहिले बजारमा तत्काल खरिदको सिग्नल देखिँदैन’, उनले भने।

यदि आगामी साता चुनावीको मिति घोषणा भएमा बजारले पनि गति लिन सक्ने भट्टराईको भनाइ छ। ‘नत्र सेयर बजार सामान्य नै रहन्छ’, उनले भने।

सक्रिय लगानीकर्ता विष्णु भुसाल भन्छन्, ‘छोटो समयमै धेरै बढेको बजारमा करेक्सन आवश्यक थियो, जुन यो साताभरि देखियो।’

भुसाल पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा कारोबार घटेको बताउँछन्। ‘आगामी साता राजनीतिक महौल प्रस्ट भएमा बजारले गति लिन सक्छ’, उनले भने, ‘अन्यथा बजारमा सामान्य घटबढ नै हुन सक्छ।’

आज होल्ड गर्नेको जमात बढ्दा बजारमा सामान्य बढोत्तरी आएको भुसालको तर्क छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.०४ प्रतिशत उकालो लागेको छ। अन्य समूह ०.८ प्रतिशतले बढेको आज जलविद्युत समूहमा ०.१६ प्रतिशत, वित्त समूहमा ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३५ प्रतिशत र लगानी समूहमा ०.५४ प्रतिशतको बढोत्तरी आएको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.६९ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड ०.५८ घटेको यो दिन बैंकिङ समूहमा ०.२४ प्रतिशत, व्यापार समूहमा ०.२४ प्रतिशत, विकास बैंक समूहमा ०.४५ प्रतिशत र जीवन बीमा समूहमा ०.०१ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन २२४ कम्पनीका ६६ लाख ७५ हजार २३१ कित्ता सेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँमा किनबेच भएका छन्।

आज नेसनल लाइफ इन्स्योरेन्सको सर्वाधिक २० करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको ११ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अपी पावरको ११ करोड १७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १० करोड ९९ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको ९ करोड २५ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ६३ लाख रुपैयाँ, एचआईडीसीएलको ८ करोड ४४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ३७ लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावरको ८ करोड ३२ लाख रुपैयाँ र नेपाल लाइफको ६ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने धेरै गुमाउने

यो दिन बुद्धभूमि नेपाल हाइड्रोपावर र विन नेपाल लघुवित्तको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको हो। 

आज सीईडीबी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।