काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ।
आज बजार १३.४८ अंकले करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २८७२.०५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.०८ अंकले ओरालो लागेर ५३८.४५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ५ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल हिजो बजार धेरै बढेकोले आज करेक्सन आउनु स्वाभाविकै रहेको बताउँछन्। ‘यसले बजार बलियो र परिपक्व नै भएको देखिन्छ’, उनले भने, ‘आज कारोबार ५ अर्ब रुपैयाँ माथि नै हुनुले पनि यसलाई पुष्टि गर्छ।’
पुँजीबजारमा अबको एक वर्ष ढुक्क भएर लगानी गर्ने वातावरण बनेको ढकाल बताउँछन्। ‘किनकि दूरदराज र विदेशमा रहेका पैसा पनि सेयर बजारमा आउने देखिन्छ’, उनले भने।
ढकालले नयाँ लगानीकर्तालाई सुझाव दिँदै भने, ‘सेयर बजारमा राम्रा कम्पनीमा लगानी गरेर धैर्यता गर्न सके प्रतिफल राम्रै प्राप्त हुन्छ।’
सक्रिय लगानीकर्ता महेश रिजाल बजार घट्यो भनेर डराउनुपर्ने अवस्था नरहेको बताउँछन्। ‘हिजो स्थानीय तहको चुनाव हुने समाचारले बजार ठूलो अंकले बढेको थियो, आज त्यसैको परिणामस्वरुप सामान्य करेक्सन आएको हो’, उनले भने, ‘बुधबार सेयर किनेकाहरुले आज नाफा बुक गरेका पनि हुन सक्छन्।’
अब बजार ३२०० नपुगेसम्म ठूलो करेक्सन नआउने रिजालको भनाइ छ। ‘बजारमा सकारात्मक महौल बनेकै छ, बजार माथि नै जाने सम्भावना छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।
यो दिन लगानी समूह सर्वाधिक २.१८ प्रतिशतले उकालो लागेको छ। अन्य समूह १.२८ प्रतिशतले बढेको आज लघुवित्त समूहमा ०.५५ प्रतिशतको बढोत्तरी भएको छ।
आज विकास बैंक समूह सर्वाधिक २.१३ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.६९ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.०५ प्रतिशत, व्यापार समूहमा ०.३८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७२ प्रतिशत, जलविद्युत समूहमा ०.६७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९६ प्रतिशत, जीवन बीमा समूहमा १.३३ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.७२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन एचआईडीसीएलको सर्वाधिक ५७ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अप्पर तामाकोशीको ३१ करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको ३१ करोड १८ लाख रुपैयाँ, अरुण भ्योली हाइड्रोपावरको १८ करोड २६ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १७ करोड ७५ लाख रुपैयाँ, निफ्राको १६ करोड ४० लाख रुपैयाँ, अपी पावरको ११ करोड ७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ९ करोड ६० लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावरको ९ करोड ८ लाख रुपैयाँ र अरुण काबेली पावरको ९ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। फरवार्ड माइक्रोफाइनान्स र विन नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन छ्याङ्दी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
आज माउन्टेन हाइड्रो, सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र श्री इन्भेस्टमेन्ट फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यी सबै कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago