काठमाण्डौ । सेयर बजारमा यो साता ४ दिन कारोबार भयो। बजार २ दिन बढ्यो भने २ दिन घट्यो।

साताको पहिलो दिन नै बजार १०५ अंकले बढेको थियो। दोस्रो दिन भने बजार १३.४८ अंकले घट्यो। तेस्रो दिन १९.२८ अंकले बढेको बजार आज बिहीबार १४.६ अंकले घटेर २८७६.७४ को विन्दुमा बन्द भएको छ। सोनाम ल्होछारका अवसरमा बुधबार सार्वजनिक बिदा दिइएकोले सेयर बजार पनि बन्द रह्यो। 

यो सातामा बजार समग्रमा ९६.७४ अंकले उकालो लागेको छ। यो साता कुल २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। साप्ताहिक रुपमा बजारमा दैनिक औसत ६.६ अर्ब रुपैयाँको कारोबार भएको देखिन्छ। कारोबारको हिसाबले बजार मजबुत नै रहेको मान्न सकिन्छ। 

सेयर बजार सधैँ बढेको बढ्यै गर्दैन र घटेको घट्यै पनि गर्दैन। आज साताको अन्तिम दिनको कारोबारमा बजारमा करेक्सन आएको छ। करेक्सन सेयर बजारको एउटा सुन्दर पक्ष रहेको विश्लेषकहरु बताउँछन्। 

आगामी साता सेयर बजारमा के होला भन्ने लगानीकर्ताको मनमा रहेको हुन सक्छ। सेयर बजारलाई आन्तरिक तथा बाह्य दुवै कारणले असर गर्ने भएकोले सानाठूला उतारचढाव आउने गर्छन्। बजारमा अहिले आन्तरिक कारण भने खासै केही छैन।

बाह्य कारणमा आर्थिक र राजनीतिक गतिविधिले पनि सेयर बजारलाई प्रभाव पार्छ। धेरै लगानीकर्ताले आज मन्त्रिपरिषदको बैठक बस्ने र चुनावको घोषणा हुन सक्ने अपेक्षा गरेका थिए। नियमित हुनुपर्ने मन्त्रिपरिषद् बैठक बस्न नसकेको र लगानीकर्ताले अपेक्षा गरेजस्तो समाचार नआएपछि बजारमा केही नाफाबुक भएको देखिन्छ। 

आज बजारमा सामान्य करेक्सन आए पनि कारोबार बढेकोले खासै डराउनु पर्ने अवस्था नरहेको विश्लेषकहरु बताउँछन्। आगामी साता सेयर बजारको यात्रा राजनीतिक माहौलले निर्धारण गर्ने उनीहरुको भनाइ छ। 

यदि लगानीकर्ताले अपेक्षा गरेजस्तो समयमै चुनावको मिति घोषणा भएमा बजारमा सकारात्मक माहोल बन्ने देखिन्छ। अन्यथा बजार केही समय साइडवेजमा चल्ने पनि विश्लेषकहरुको तर्क छ।