काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकले उकालो लागेको छ।

आज बजार १५.६९ अंकले बढेर २८५१.८६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.०५ अंकले बढेर ५३५.३२ को विन्दुमा पुगेको छ। कारोबार रकम ५ अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार सकारात्मक नै रहेको बताउँछन्। ‘हिजोआज कारोबार घट्नुमा चुनावलाई लिएर देखिएको अन्यौलताका कारण लगानीकर्ताहरु त्यति सक्रिय नहुनु हो’, उनले भने, ‘यद्यपि ५ अर्बभन्दा माथिको कारोबारलाई नराम्रो भन्न मिल्दैन।’

तरलताको अवस्था सहज नै रहेको उल्लेख गर्दै ढकालले स्थानीय निकायले द्रुतगतिमा खर्च बढाउँदै जाँदा अझै सहज हुने बताए। ‘कोभिड संक्रमण घट्दै गएकोले अन्य खुल्दैछन्, यसले अर्थतन्त्र चलायनमानको दिशातर्फ उन्मुख हुने देखिन्छ’, उनले भने। 

सक्रिय लगानीकर्ता निमानन्द कँडेल चुनावको मिति घोषणा नहुँदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा कारोबार रकम घटेको बताउँछन्। ‘समग्रमा बजार सकारात्मक नै छ’, उनले भने। 

नयाँ वर्षका लागि अहिले सेयर खरिद गर्ने सिजन पनि रहेको कँडेल बताउँछन्। ‘अहिलेको घटबढ सामान्य नै हो, अब बजार करेक्सनहुँदै माथि नै जानेछ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। 

यो दिन लगानी समूह सर्वाधिक ३.०६ प्रतिशतले उकालो लागेको छ। अन्य समूह २.४१ प्रतिशतले बढेको आज व्यापार समूहमा ०.२५ प्रतिशत, विकास बैंक समूहमा ०.५२ प्रतिशत, जलविद्युत समूहमा ०.२ प्रतिशत, वित्त समूहमा ०.३६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४८ प्रतिशत, जीवन बीमा समूहमा ०.८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२९ प्रतिशतको बढोत्तरी भएको छ।

यो दिन बैंकि समूह सर्वाधिक ०.२१ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.१४ प्रतिशतले घटेको आज लघुवित्त समूहमा ०.०८ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ९५ लाख १२ हजार ५८० कित्ता सेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन निफ्राको सर्वाधिक ४९ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको २७ करोड ६६ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको २५ करोड १६ लाख रुपैयाँ, नेपाल टेलिकमको २४ करोड ४८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३० लाख रुपैयाँ, एचआईडीसीएलको २१ करोड ४४ लाख रुपैयाँ, अपी पावरको १७ करोड ६० लाख रुपैयाँ, अप्पर तामाकोशीको १३ करोड ४५ लाख रुपैयाँ, नेपाल हाइड्रोको ११ करोड ३५ लाख रुपैयाँ र अरुण काबेली पावरको १० करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र गुमाउने

आज निफ्राका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।