काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा झिनो सुधार देखिएको छ।
बजार आज ०.०८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २७००.९८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.३६ अंकले घटेर ५११.३० को विन्दुमा झरेको छ। कारोबार रकम साढे ३ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आज बजार सम्हालिएको बताउँछन्। ‘हिजो बैंकहरुले १ प्रतिशत ब्याज बढाउँदा बजार १०० अंकले घटेको हो, अन्य कुनै कारण छैन’, उनले भने, ‘लगानीकर्ताको मनोबल घट्दा हिजो बजार घट्यो।’
तरलताको निहुँमा ब्याजदर बढाउनु आपत्तिजनक रहेको ढकालले बताए। ‘ब्याजदर बढाउने निर्णय फिर्ता हुनुपर्छ’, उनले भने, ‘किनकि ब्याजदर बढाउनुको अर्थ छैन।’
यस्तो बेला लगानीकर्ताहरु संयमित भएर कारोबार गर्नुपर्ने ढकालको सुझाव छ। ‘सधैँ ब्याजदर बढ्दैन, हत्तारिएर सेयर बेच्नुपर्ने अवस्था छैन’, उनले भने, ‘बजार आफ्नो लयमा चल्ने हो, विस्तार सम्हालिन्छ।’
चुनावी महौल सुरु भएपछि सरकारी खर्च बढ्ने हुँदा बजार सकारात्मक बन्ने ढकालको भनाइ छ।
बजार जानकार महेश रिजाल बजार केही दिन साइडवेजमा जान सक्ने बताउँछन्। ब्याजदर बढ्नु, एमसीसी पेचिलो बन्दै जानु, राजनीतिक अस्थिरता हुनु आदिका कारण बजार केही सामान्य तलमाथि हुन सक्ने उनको भनाइ छ।
बजार बुलिस नै रहेकोले आउँदा दिनमा बजार माथि नै जाने रिजाल बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। एउटा समूह चाहिँ स्थिर रहेको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ०.६१ प्रतिशतले उकालो लागेको छ। विकास बैंक तथा जीवन बीमा समूह समान ०.३५ प्रतिशतले बढेको आज वित्त समूहमा ०.२१ प्रतिशत, जलविद्युत समूहमा ०.१७ प्रतिशत र लघुवित्त समूहमा ०.२६ प्रतिशतको बढोत्तरी भएको छ।
आज व्यापार समूह सर्वाधिक १.३४ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.१९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२६ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.१२ प्रतिशतको गिरावट आएको छ।
आज लगानी समूह स्थिर रहेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक ५४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १७ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १५ करोड २३ लाख रुपैयाँ, अपी पावरको ११ करोड ५८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ४८ लाख रुपैयाँ, निफ्राको ११ करोड १० लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ५१ लाख रुपैयाँ, अप्पर तामाकोशीको ९ करोड ३३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३७ लाख रुपैयाँ र नबिल बैंकको ७ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कमपनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago