काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारमा मंगलबार हरियाली छाएको छ।

बजार आज ५३.३० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २७५४.२८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.८३ अंकले बढेर ५२२.१३ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर सवा ३ अर्ब रुपैयाँको हाराहारीमा मात्रै भएको छ। हिजो साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो।

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला आज प्राविधिक रुपमा सपोर्ट लेभलबाट बजार फर्किएको बताउँछन्। ‘दोस्रो भनेको राजनीतिक निकासको सम्भावना देखिँदा पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ’, उनले भने। 

प्राविधिक हेर्नेहरुले खरिद बढाउँदा बजार बढेको पनि बास्तोलाको भनाइ छ। ‘आज अन्तिम समयमा बजार बढेको छ’, उनले भने, ‘भोलि पनि बढ्यो भने बजार माथि नै जान्छ।’

भोलि एमसीसी टेबल हुने भनिएकोले पनि बजारमा सकारात्मक प्रभाव परेको हुन सक्ने बास्तोला बताउँछन्। ‘यदि एमसीसी पास भयो भने बजार माथि नै जान्छ’, उनले भने, ‘चुनावी महौल पनि सुरु हुन लागेकोले बजार सकारात्मक नै हुने देखिन्छ।’

बुझेर लगानी गर्नेहरु अब विस्तार बजार पस्ने पनि बास्तोला बताउँछन्। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल धेरै दिन बजार घटेकोले आज बढेको बताउँछन्। ‘आज कारोबार घटेको छ, यसको अर्थ घटेर बेच्न नचाहँदा कारोबार घट्यो तर सूचक बढ्यो’, उनले भने। 

राजनीतिक अन्यौलता पनि हट्ने सम्भावना रहेकोले बजार अब लयमा फर्किने लम्सालको भनाइ छ। ‘बजार अहिले नै धेरै घट्ने सम्भावना छैन किनकि घाटा खाएर कसैले पनि सेयर बेच्न चाहेका छैनन्’, उनले भने।

बजारमा तरलता पनि सहज हुँदै जाने देखिएको लम्साल बताउँछन्। ‘फागुनको मध्यतिरबाट बजारले नयाँ उचाइको बाटोतिर लाग्ने देखिन्छ’, उनले भने। 
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो जलविद्युत समूह सर्वाधिक ४.३२ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ३.३८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.८४ प्रतिशत, व्यापार समूहमा १.३५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६३ प्रतिशत, विकास बैंक समूहमा २.७१ प्रतिशत, वित्त समूहमा २.८५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५४ प्रतिशत, लघुवित्त समूहमा २.८२ प्रतिशत, जीवन बीमा समूहमा १.२५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२ प्रतिशत र लगानी समूहमा २.४९ प्रतिशतको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ६३ लाख ४३ हजार २२८ कित्ता सेयर ३ ऋबर्् २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक २२ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको १८ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको १८ करोड २१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५३ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १३ करोड २८ लाख रुपैयाँ, अपी पावरको ११ करोड ७५ लाख रुपैयाँ, एचआईडीसीएलको ९ करोड ४० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ५७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ६ करोड ८ लाख रुपैयाँ र निफ्राको ६ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन न्यादी हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट लाग्यो।

आज स्वाभिमान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेको छ।