काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा तेहेरो अंकको बढोत्तरीका साथ हरियाली छाएको छ।

बजार आज १०१.०७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६६७.९७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.३७ अंकको बढोत्तरीका साथ ५०९.९० को विन्दुमा पुगेको छ। आज पौने ५ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ। 

स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की ब्याजदर नबढ्ने निश्चित भएपछि लगानीकर्ता बजारमा सक्रिय भएको बताउँछन्। आधारभूत रुपमा ब्याजदर नबढ्ने र प्राविधिक रुपमा बजार न्यून भोलुम बनाएकोले बजारमा आज गतिलो बाउन्स आएको कार्कीको भनाइ छ। ‘अब विस्तारै विकास खर्च तथा चुनावी खर्च बढ्ने र तरलता सहज हुने हुँदा बजार सामान्य करेक्सन हुँदै माथि नै जाने देखिन्छ’, उनले भने। 

अहिले बजारमा ऋण लिएर लगानी गर्नेहरुको संख्या कम रहेकोले चैतको ब्याजको प्रभाव कमै पर्ने कार्कीको बुझाइ छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालका अनुसार आज बजार बढ्नुको मुख्य कारण ब्याजदर नबढ्ने निश्चित हुनु नै हो। ‘आजको बढाइले बजार घट्न रोकिएको भन्ने बुझिन्छ’, उनले भने, ‘किनकि विगतमा घाटा खाएर सेयर बेच्न नचाहँदा भोलुम घटेको छ। आज सूचकसँगै भोलुम पनि बढेकोले लगानीकर्ताको मनोबल बलियो बनेको प्रस्ट हुन्छ।’

लम्सालले भने, ‘सरकारले विकास खर्च बढाउँदै जाँदा र चुनावी महौल तात्तिँदा तरलता सहज हुने हुँदा बजार माथि नै जाने देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन जीवन बीमा समूह सर्वाधिक ६.९४ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ५.३७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ३.२९ प्रतिशत, व्यापार समूहमा ४.२८ प्रतिशत, विकास बैंक समूहमा ४.७४ प्रतिशत, जलविद्युत समूहमा २.४२ प्रतिशत, वित्त समूहमा ५.०१ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ५.०२ प्रतिशत, अन्य समूहमा ३.८४ प्रतिशत, लघुवित्त समूहमा ३.३२ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०७ प्रतिशत र लगानी समूहमा ४.४९ प्रतिशतको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ९० हजार २२ हजार ८९० कित्ता सेयर ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक ३४ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ३० करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको आज आईसीएफसी फाइनान्सको २१ करोड ३१ लाख रुपैयाँ, नेपाल टेलिकमको १९ करोड ६१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ४६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ९३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ९१ लाख रुपैयाँ, एचआईडीसीएलको ८ करोड १३ लाख रुपैयाँ, निफ्राको ७ करोड ९४ लाख रुपैयाँ र पाँचथर पावर कम्पनीको ७ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। एसिया लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन मञ्जुश्री फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशतले बढेको छ।

आज अपी पावर कम्पनीका सेयरधनीहरु धेरै गुमाए। यो कम्पनीको सेयरभाउ १ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।