– अनन्त्य सुन्दर

काठमाण्डौ । विगत केही सातादेखि नेपाली सेयर बजार निरन्तर घट्दो क्रममा थियो। गत बिहीबारदेखि भने बजारले ‘यू–टर्न’ लिएको हो। बिहीबार ५२.३१ अंकले बढेको बजार आज साताको पहिलो दिन आइतबार १०१.०७ अंकले बढेको छ। आज कारोबार रकम पनि पौने ५ अर्ब रुपैयाँ बढी भएकोले लगानीकर्ता पनि थप उत्साहित भएको देखिन्छ।

गत महिना माघ १८ गते १९.२९ अंकले बढेको बजार २८९१.३३ विन्दुमा बन्द भएको थियो। उक्त दिन बजारमा साढे ६ अर्बको कारोबार भएको थियो। त्यस दिनपश्चात् बजारको घट्दो यात्रा पुनः सुरु भयो। बजार घट्दै गर्दा कारोबार रकम पनि २–३ अर्ब रुपैयाँमा खुम्चिएको थियो।

गत बुधवार (फागुन २४ गते) मा ३०.३६ अंकले घटेको बजारले २५१४.५८ विन्दुमा बन्द भएको थियो। गत बिहीबार ५२.३१ अंकले र आज १०१.०७ अंकले बजार बढेको हो। आज बजार १०० अंकले बढेसँगै लगानीकर्ताहरु बैंकबाट मार्जिन कल नआउनेमा ढुक्क देखिन्छन्।

विगत केही महिनादेखि तरलता चाप उच्च भएसँगै राष्ट्र बैंकले विभिन्न किसिमको कर्जामा कडाइ गर्दै आएको छ। त्यसका साथै घट्दो निक्षेपका कारण मागअनुरुप अधिकांश बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्न नसक्ने अवस्था छ।

राष्ट्र बैंकबाट सेयर धितो कर्जामा ४–१२ को क्याप लगाएर कडाइ गरेको अवस्था छ। त्यसका साथै अधिकांश बैंक तथा वित्तीय संस्थासँग कर्जाका लागि दिन सक्ने आवश्यक पुँजीको अभावले गर्दा अधिकांश लगानीकर्ताले सेयर धितो कर्जा नपाएको अवस्था छ। तर, कर्जा पाएका लगानीकर्तालाई पनि बैंकबाट मार्जिन कल आउला भन्ने चिन्ताले सताएको थियो।

बजार केही सातादेखि निरन्तर घट्दो क्रममा भएकाले अधिकांश कम्पनीको मूल्य घटेर झन्डै आधामा आइसकेको अवस्था छ। लगानीकर्ताले सेयर धितो राखेर लिएको कम्पनीहरुको मूल्यमा पनि भारी अंकको गिरावट आएसँगै जोखिम उच्च भएकाले बैंकहरुबाट मार्जिन कल आउने सम्भावना उच्च थियो।

बजार निरन्तर घटेकाले सेयर धितो कर्जा लिएका लगानीकर्तालाई बैंकबाट मार्जिन कल त आउँदैन ? भनेर चिन्तित थिए। तर, गत बिहीबार र आज बजार डेढ सय अंक बढीले बढेसँगै लगानीकर्तामा बैंकबाट मार्जिन कल आउला भन्ने चिन्ता कम भएको छ।

बैंकबाट मार्जिन कल आएमा लगानीकर्तासँग तीनवटा विकल्प हुन्छ– सेयर बेच्ने, पैसा डिपोजिट गर्ने र थप सेयर धितो राख्ने। तर, बजार निरन्तर घट्दो क्रममा भएकाले उल्लेखित कुनै पनि विकल्प प्रयोग गर्दा लगानीकर्ता नै मर्कामा पर्ने अवस्था थियो।

अहिले कतिपय कम्पनीको सेयर मूल्य झन्डै आधामा आइसकेको अवस्था छ। त्यसैले पहिलो विकल्प प्रयोग गर्दा लगानीकर्ताले घाटामा सेयर बेच्नुपर्छ। त्यस्तै तरलता संकटका कारण लगानीकर्ताले दोस्रो र तेस्रो विकल्प प्रयोग गर्ने अवस्था छैन। अहिले लगानीकर्तासँग न त पैसा डिपोजिट गर्ने अवस्था छ न थप सेयर किनेर धितो राख्ने अवस्था नै। त्यसैले उल्लेखित तिनै विकल्प प्रयोग गर्न सम्भव नभएको बेला बजार डेढ सय अंक बढीले बढेकाले लगानीकर्तालाई केही राहत भने अवश्य मिलेको हो।  

‘राताम्मे बजारले बिहीबार र आज यू–टर्न लियो’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘बजार विगतको दिनहरुको जस्तै गतिमा घटेको भए लगानीकर्तालाई बैंकहरुबाट मार्जिन कल आउने पक्का थियो।’ 

‘अहिले अधिकांश कम्पनीहरुको सेयरमूल्य झन्डै आधामा आइसकेको अवस्था छ। त्यसैले त्यही गतिमा बजार घटेको भए आज नभए भोलि मार्जिन कल आउने निश्चित थियो’, ती ब्रोकर सञ्चालकले भने, ‘तर, दुई दिनको बजारको बढाइले सेयर धितो कर्जा लिएका लगानीकर्तालाई केही राहात भएको देखिन्छ।’