– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सबै मान्छेलाई धेरैभन्दा धेरै पैसा कमाउन इच्छा हुन्छ। तर, इच्छा सबैको पूरा हुँदैन। 

विकसित देशमा जनसंख्याको करिब ९० प्रतिशतले सेयर, बोन्ड, डिबेन्चर र म्युचुअल फन्डमा लगानी गरेका हुन्छन्। हाम्रो देशमा पनि अहिले ५० लाखभन्दा बढी डिम्याट खाता खोलिएका छन्। सेयर बजारमा आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। 

सेयर बजारबाट करोडौँ पैसा कमाउने इच्छा भए पनि त्यो बिना मेहनत र अध्ययन सम्भव हुँदैन। नेपालको सेयर बजारमा लागेका लगानीकर्ताको अध्ययन गर्दा १० प्रतिशतभन्दा कममात्रै सफल बनेको देखिन्छ। 

वास्तवमा कस्ता लगानीकर्ताले सेयरबाट मनग्य आम्दानी गरेका छन् त ? यसको जिज्ञासा हामीले धेरै लगानीकर्तासँग हेलमेल गर्ने केही ब्रोकरहरुलाई सोधेका छौँ। 

एसियन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २६) का सञ्चालक राजकुमार क्षेत्री ३–४ थरिका लगानीकर्ता अलि बढी सफल भएको देखिने बताउँछन्। उनको विचारमा सेयर बजारमा कमाउने भनेको धर्य गर्न सक्ने र अनुशासि लगानीकर्ताले नै हो। ‘जतिसुकै स्मार्ट र सूचना लिएर चल्ने भए पनि उसमा धैर्यता हुनुपर्छ र उसले गरेको लगानीको पैसा यदि लोनमार्फत हो भने कम्तीमा ३ महिना ब्याज तिर्न सक्ने क्षमता हुन आवश्यक छ’, उनले भने, ‘त्यो भयो भने ब्रोकरसँग डिल गर्न सकिन्छ र आफूमा आत्मविश्वास हुन्छ। कसैले पनि किन्नेबित्तिकै सेयर बजार बढ्दैन। किनिसकेपछि पनि घटेको खण्डमा उसले थप लगानी गरेर एभरेजिङ गर्न सक्नुपर्छ।’

धैर्य गर्नेले सेयर बजारबाट पक्कै कमाउने क्षेत्री बताउँछन्। 

सूचना लिने सक्ने र टाठाबाठाले सेयर बजारबाट अलि बढी नै कमाउने गरेको क्षेत्रीको अनुभव छ। ‘जोसँग पैसा छ र समयअनुसार लगानी गर्न र झिक्न पनि जाँन्दछ, उसले पनि सेयर बजारबाट पैसा कमाउँछ’, उनले भने। 

क्षेत्री जो अन्य पेसमा छन् र आफूले बचत गरेको पैसा कम्पनी छनौट गरेर दीर्घकालका लागि लगानी गर्न जान्दछ, उसले पनि सबैभन्दा धेरै कमाउने बताउँछन्। ‘किनकि यस्तो लगानीमा २–४ वर्षमा कस्ट जिरो हुन्छ, नम्बर अफ सेयर थपेको थप्यै हुन्छ’, उनले भने, ‘४ वर्षमा सेयर पनि डबल हुन्छ र मार्केट पनि बढेर २–३ गुणा हुने गर्छ। यस्ता खालका लगानीकर्ताले बजारमा सबैभन्दा धेरै कमाउँछ।’ 

‘सीआईटी,  एसटीसी, एचडीएलजस्ता कम्पनी पत्ता लगाउन जान्नुपर्दछ’, उदाहरण दिँदै क्षेत्रीले भने, ‘अझै पनि बजारमा यस्ता कम्पनी छन्। लगानीकर्ताले यस्ता कम्पनी खोज्न सक्नुपर्छ त्यसपछि मात्रै सेयर बजारमा पैसा कमाइ हुन्छ।’

ब्रोकर हाउस र क्लबहाउसमा भनिएकै आधारमा लगानी गर्न नहुने क्षेत्रीको सुझाव छ। 

नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४) का सञ्चालक ईश्वरीप्रसाद रिमालले पनि चल्न जाने सेयर बजारमा बुलमा पनि र बियरमा पनि कमाउन सक्ने बताउँछन्। ‘धैर्यता भने आवश्यक हुन्छ, सेयर बाजारमा’, उनले भने।