काठमाण्डौ । लगातार ओरालो लागेको सेयर बजारको आज आइतबार आकर्षक बाउन्सब्याक भएको छ।
स्थानीय तहको निर्वाचन हुने सुनिश्चित बनेसँगै लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो। अर्कोतर्फ ब्रोकरहरुले पनि मार्जिन लोन दिने तयारी गरेकोले पनि बजारमा उछाल आएको जानकारहरु बताउँछन्।
आज बजार ९५.५२ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २४२०.९६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १७.७४ अंकले बढेर ४६०.८८ को उचाइमा पुगेको छ। कारोबार रकम पनि साढे २ अर्ब रुपैयाँ बढीको भएको छ।
स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की आज बढ्नुमा मुख्य गरी ३–४ वटा कारण रहेको बताउँछन्। ‘चुनाव हुने सुनिश्चित भएसँगै लगानीकर्ताको मनोबल बढ्नु, लगानीकर्ताहरुलाई ब्रोकरहरुले मार्जिन लोन उपलब्ध गराउने र विश्व बैंकले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नभएको बताउनुले पनि सेयर बजारमा सकारात्मक प्रभाव परेको हो’, उनले भने।
बजार धेरै घटिसकेकोले आज ‘भी’ आकारमा बढेको कार्की बताउँछन्। ‘अब बजार इन्ट्राडेमै करेक्सन हुँदै माथि नै लाग्छ’, उनले भने।
सक्रिय लगानीकर्ता महेश रिजाल आज बजार बढ्नुमा प्राविधिक कारण पनि रहेको बताउँछन्। बजार धेरै घटेकोले पनि आज फर्किएको उनले बताए। ‘अब केही दिनको कारोबार हेरेपछि बजारको दिशा प्रस्ट हुनेछ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन वित्त समूह सर्वाधिक ८.६ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ७.३२ प्रतिशतले बढ्दा बैंकिङ समूहमा २.६८ प्रतिशत, व्यापार समूहमा १.०५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.८३ प्रतिशत, विकास बैंक समूहमा ६.५७ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८६ प्रतिशत, अन्य समूहमा ४.९७ प्रतिशत, लघुवित्त समूहमा ३.८ प्रतिशत, जीवन बीमा समूहमा ३.३६ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.०६ प्रतिशत र लगानी समूहमा ५.६६ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३८ कम्पनीका ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन सानिमा बैंकको संस्थापक सेयरको सर्वाधिक २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ११ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ९ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ४१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३४ लाख रुपैयाँ, अपी पावरको ५ करोड २४ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ५ करोड ८ लाख रुपैयाँ, नेष्डो समृद्धि लघुवित्तको ५ करोड ५ लाख रुपैयाँ, एचआईडीसीएलको ४ करोड ९६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २७ वटा कम्पनीका सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। तीमध्ये १० वटा कम्पनीको सेयरभाउमा १० प्रतिशत तथा १७ वटा कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ।
यी हुन् १० प्रतिशतले सेयरभाउ बढेका कम्पनीहरु
यी हुन् १० प्रतिशतको हाराहारीमा सेयरभाउ बढेका कम्पनीहरु
यो दिन माउन्ट हाइड्रो, जनरल इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, सीईडीबी हाइड्रोपावर, जोशी हाइड्रोपावर, सिनर्जी पावर, एचआईडीसीएल, कालिका पावर र प्रोग्रेसिभ फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज नेष्डो समृद्ध लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19